काठमाडौं, २५ माघ । पश्चिमाञ्चल विकास बैंकसंग मर्जर प्रक्रियामा रहेको मेघा बैंको नाफा ओरालो लागेको छ । बैंकको नाफा ५ प्रतिशतले घटेको हो ।
गत बर्षको पुससम्मको तुलनामा यो बर्षको पुसमा नाफा करिब ४.८२ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
बैंकको प्रोभिजनिङ बढेपछि र राइटब्याक नभएपछि नाफा उकालो लाग्न नसकेको हो । गत वर्षको पुसमा १६ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो पटक भने १५ करोड ८३ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
बैंकले यसपटक प्रोभिजनिङ १५८ प्रतिशतले बढाएर आठ करोड १० लाख रुपैयाँ बनाएको छ । बैंकको प्रोभिजन अघि भने सञ्चालन नाफा १४ प्रतिशतले बढेर ३२ करोड ९४ लाख रुपैयाँ छ । बैंकले राइटब्याक भने गरेको छैन । बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात घटेर १.७८ भएको छ । यस्तो कर्जा बापत कुल कर्जाको १४४ प्रतिशत प्रावधान राखेको छ ।
बैंकको खुद व्याज आम्दानी ६।२४ प्रतिशतले बढेर ४१ करोड रुपैयाँ पुगेको छ । बैंकले बैदेशिक मुद्राको विनिमयबाट चार करोड ५२ लाख रुपैयाँ, फि कमिसनबाट एक करोड ६९ लाख र अन्य आम्दानी ६ करोड ६३ लाख कमाइ गरेको छ ।
बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च करिब १० प्रतिशत बढेको छ । बैंकको कोषको लागत घटेर ४.१३ मा सिमित भएको छ । बैंकसंग २८ करोड ७७ लाख रुपैयाँ सञ्चिती छ । बैंकको कुल सञ्चालन नाफा भने तीन प्रतिशतले घटेर २४ करोडमा सिमित भएको छ ।
बैंकको यो अवधिमा कर्जा लगानी करिब २८ प्रतिशतले र निक्षेप ३१.५ प्रतिशतले बढेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशत छ । बैंकले रियल इस्टेट कर्जा ३१ करोड रहेको छ । यो कुल कर्जाको १.७९ प्रतिशत छ ।















प्रतिक्रिया