काठमाडौँ, २३ माघ । राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शीतलनिवासमा भेटवार्ता भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, सहमतिको प्रयास आन्दोलनका विषयमा राष्ट्रपति यादव र अध्यक्ष प्रचण्डबीच छलफल भएको शीतलनिवासले जनाएको छ । राष्ट्रपति यादवले वार्ता र सहमतिका आधारमा नै संविधान लेखन प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आग्रह समेत गर्नुभएको थियो ।
उहाँले जनआन्दोलनकारी शक्तिबीच एकता, सहकार्य र विश्वासको वातावरण बनाउनेतर्फ पहल गर्न ध्यानाकर्षण गराउनुभयो । संविधान निर्माण प्रक्रियालाई छाडेर आन्दोलनमा नजान एमाओवादीको ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले जनताको लामो समयदेखिको प्रतीक्षालाई व्यवहारमा नै लागू गर्ने वातावरण बनाउन अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।
शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले शान्ति र संविधानको कामलाई पूरा गर्न एमाओवादीको भूमिका महत्वपूर्ण तथा प्रभावकारी रहने भएकाले सो भूमिकालाई आत्मसात् गर्न राष्ट्रपतिले अध्यक्ष दाहाललाई सचेत गराउनुभएको थियो । लोकतन्त्रमा आफ्ना कुरा जनतालाई राख्नु, विरोध प्रदर्शन गर्नु, आन्दोलन गर्नु सामान्य विषय भए पनि मुलुकको आवश्यकता र चाहनालाई सम्मान गर्न उहाँले सुझाव दिनुभयो ।
संविधानसभाको मागकर्ता र विभिन्न सहमति तथा सम्झौताको महत्वपूर्ण पक्ष भएकाले एमाओवादीको भूमिकालाई कोही कसैले पनि उपेक्षा नसक्ने भन्दै राष्ट्रपति डा यादवले इतिहासको आवश्यकतालाई ख्याल गर्न सचेत गराउनुभयो ।
एमाओवादी अध्यक्ष दाहालले राष्ट्रपतिको आग्रहलाई आफूले आत्मसात् गरेको बताउँदै ‘नेपाली काँग्रेस र नेकपा एमालेका ‘दम्भका कारण’ बाध्य भएर आन्दोलनमा जानुपरेको बताउनुभयो । सहमतिका आधारमा संविधान जारी हुने अवस्था आएपछि सत्ताधारी दलले जबर्जस्ती प्रक्रिया अगाडि बढाउन खोजेको र विगतका सहमति तथा सम्झौताको मूल मर्म तथा मान्यतालाई लत्याएको आरोप लगाउँदै अध्यक्ष दाहालले ‘संविधानसभालाई बहुमतको खेल बनाएका कारण’ जनताका सामु जानुपर्ने आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ रहेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सत्तारुढ दलले वार्ताका लागि पहल गर्दै बहुमतीय प्रक्रियालाई रोकेमा आफूहरु वार्ताका लागि अझै तयार रहेको तथा सहमतिका आधारमा संविधान जारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको राष्ट्रपतिलाई जानकारी गराइएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
सत्ताधारी दलले परिणाममुखी वार्ताका लागि पहल गरे त्यसका लागि एमाओवादी र सम्बद्ध मोर्चा संवादका लागि तयार रहेको र आन्दोलन रहर नभई बाध्यता भएको बताएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । “समयमै संविधान बनोस्, दलबीच सहमति होस्, द्वन्द्व झैझगडा नहोस् भन्ने राष्ट्रपतिको सदीक्षा रहेको थियो, हामीले आफ्ना कुरा राख्यौं, उहाँले सहमतिका लागि पहल गर्नुस् भन्नुभएको छ, हामी त्यसका लागि प्रयत्नरत नै छौँ” – नेता श्रेष्ठले भन्नुभयो ।
















प्रतिक्रिया