९ कार्तिक २०८३, सोमबार

सीमास्तम्भको मर्मत कार्य फागुनबाट सुरु हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dasgaja.jpgविराटनगर, २३ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ ।

नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११/१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो ।

उक्त बैठकले झापाका ११८ किलोमिटर, मोरङको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ किलोमिटर क्षेत्रका सीमास्तम्भमध्ये हराएका सीमास्तम्भको ठाउँमा नयाँ सीमास्तम्भको स्थापना, क्षतिग्रस्त सीमास्तम्भको मर्मतका साथै दसगज्जा क्षेत्रमा निर्माण गरिएका घरटहरा र खनजोत गरिएका जग्गाको तथ्याङ्क सङ्कलनसमेत गर्ने नेपाली प्रशासनिक टोली प्रमुख तथा मोरङका प्रजिअ गणेशराज कार्कीले जानकारी गराउनुभयो ।

उक्त टोलीमा नेपालतर्फबाट नापी अधिकृत सुशील डङ्गोलसहित नौ सदस्यीय टोली र सोही सङ्ख्याको भारतीय टोलीले संयुक्तरुपमा काम गर्नेछ । सो कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नापी अधिकृत डङ्गोलले जानकारी गराउनुभयो ।

नेपालका तर्फबाट मोरङको प्रजिअ गणेशराज कार्कीको नेतृत्वमा बसेको बैठकमा झापा र सुनसरीका प्रजिअसहित नापी, वन, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका पदाधिकारीको सहभागिता थियो भने भारत अररियाका जिल्ला पदाधिकारी नरेन्द्रकुमार सिंह, सुपौंलका सहायक जिल्ला अधिकारी कुमारअरुण प्रकाश र किसनगन्जका पदाधिकारीसहित ती जिल्लाका वन, नापीका साथै सीमासुरक्षा बल र प्रहरी प्रमुखको सहभागिता थियो ।