९ कार्तिक २०८३, सोमबार

आन्दोलनमा होमियो एमाओवादी मोर्चा, देशव्यापी जनपरिचालन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

30-DALIYA-Maobadi-MORCHA

काठमाडौँ, २२ माघ । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले देशव्यापी जनपरिचालनको कार्यक्रम घोषणा गर्दै केन्द्रीय वक्ताहरुसमेत तोकेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालयमा विहीवार बसेको बैठकले आगामी फागुन २ गते मुलुकका प्रमुख ३५ स्थानमा बृहत् कार्यकर्ता भेलाको आयोजना गर्ने र त्यसमा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।

मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौँमा आयोजना गरिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ भने वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेपालगन्ज, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगर, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार राजविराज, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भैरहवामा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

खोटाङमा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनकपुरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बारमा सोही दलका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, कास्कीमा एमाओवादीका सचिव वर्षमान पुन, चितवन एमाओवादीका स्थायी समिति सदस्य अग्नि सापकोटालाई केन्द्रीय वक्ताका रुपमा तोकेको छ ।

मोर्चाले आगामी फागुन ९ गते देशव्यापीरुपमा जनपरिचालन गर्ने जनाएको छ भने यही माघ २९ गतेदेखि मुलुकभर कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम अगाडि सारेको छ ।

सहमतिका आधारमा संविधान जारी गर्न नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरु तयार नभएकाले आन्दोलनमा जानुपरेको भन्दै मोर्चा आन्दोलनमा उत्रिएको हो ।

यस्तै जनपरिचालनलगायतका कार्यक्रमका लागि मोर्चामा आबद्ध दलका सभासद्बाट रु २० हजारका दरले रकम उठाउने निर्णयसमेत बैठकले गरेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

आन्दोलन शान्तिपूर्ण हुने र सहमतिका आधारमा संविधान जारी गर्न वातावरण बनाउन केन्द्रित हुने समेत बैठकले ठहर गरेको छ । रासस