दार्चुला, २१ माघ । दार्चुलाको नौगाढ खोलामा निर्माणाधीन अपि जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकिएको छ ।
साढे आठ मेगावाट क्षमताको आयोजनाले आगामी चैत महिनादेखि बत्ती बाल्ने कम्पनीको लक्ष्य रहेको प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताउनुभयो ।
यसैबीच अपि हाइड्रोपावर कम्पनीले सोमबारदेखि स्थानीयवासीका लागि रु १० करोड बराबरको सेयर निष्काशन गरेको जानकारी उहाँले दिनुभयो ।
स्थानीयले फागुन ४ देखि २४ गतेसम्म आवेदन दिनसक्ने कम्पनीका अध्यक्ष गुरु न्यौपानेले बताउनुभयो । उहाँका अनुसार दार्चुलाको खलङ्गा र गोकुलेश्वरमा रहेको जनता बैंकको शाखा, परियोजनास्थल देथला, बैतडीको सदरमुकाम गोठालापानीस्थित एनसीसी बैंक र टुरिज्म डेभलपमेन्ट बैंकमार्फत स्थानीयले आवेदन दिन सक्ने छ । त्यसैगरी, सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केटका विभिन्न शाखाबाट पनि स्थानीयले आवेदन दिन सक्नेछन् ।
न्यौपानेका अनुसार यो परियोजनाले लगानीकर्तालाई वार्षिक २० प्रतिशतका दरले प्रतिफल दिनेछ । आयोजनाको कूल लागत रु एक अर्ब ३९ करोड ८० लाख छ । जसमा रु ९८ करोड नेपाल बैंकको नेतृत्वमा प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डु र नेपाल एसबिआई बैंकले सहवित्तीयकरणमा संयुक्त लगानी गरेका छन् ।
कम्पनीको चुक्ता पुँजी रु एक अर्ब रहेको छ । जसमध्ये रु ६० करोड प्रवद्र्धकहरुले चुक्ता गरिसकेका छन् भने रु १० करोड स्थानीयबाट र रु ३० करोड सर्वसाधारणबाट उठाइने भएको छ ।















प्रतिक्रिया