– विजय थापा
डिसी, अमेरिका । गैर आवासिय नेपाली संघ एनआरएनको नयाँ नेतृत्वका लागि अमेरिका राज्यमा हुन लागेको चुनावमा नगेन्द्र पौडेलले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ ।
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड क्षेत्रमा दुई दशकदेखि विभिन्न संघ तथा संस्थाको नेतृत्व गर्दै आउनुभएका पौडेलले आगामी २०१५ अप्रिल–मे मा हुने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको घोषणा गर्नु भएको हो ।
आप्रवासी नेपाली संगठन अमेरिकालाई दिनहु मजदुरी गरी गुजारा गर्दै आएका परदेशी नेपालीहरुको आत्मिय संगठन बनाउन एनआरएनको नेतृत्व लिन खोजेको अध्यक्ष पदका उम्मेद्वार पौडेलले बताउनुभयो ।
एनआरएनलाई ‘धनाड्य र पहुचवालाहरुको विशिष्ट क्रिडास्थल (Elite Club) भन्ने लान्छनाबाट मुक्त गराउन आगामी दुई बर्षमा पुरा गर्न सकिने विभिन्न कार्यक्रमहरुका साथै चाँडै औपचारिक रुपमा आम आप्रवासी अमेरिकन नेपालीहरुका माझ आउने तयारी गरेको पौडेलको भनाई छ ।
सँसारमै सबैभन्दा ठुलो सँख्यामा आप्रवाशी नेपालीहरुको आस्था विश्वास र समर्थन बोकेको अमेरिकाको यो सँस्था मार्फत बिश्वब्यापी आप्रवासी नेपाली आन्दोलनको नेतृत्व हुनुपर्ने कुरामा पौडेल गम्भिर पनि हुनुहुन्छ।
अनन्तकालिन राजनीतिक संक्रमण बाट गुज्रिरहेको मातृभूमी नेपालभित्र बन्ने नयाँ संबिधान भित्र आप्रवासीले नैसर्गिक रुपमा पाउनुपर्ने सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्रत्याभुतिका लागि यसको विश्वब्यापी मात्रीसंस्था एनआरएन आइसीसीसंग समन्वय गरी काम गर्ने कुरामा उहाँ दृढ देखिनुहुन्छ।
उहाँले झन्डै २४ बर्ष लामो अमेरिका बसार्इका क्रममा बिभिन्न समय र परिस्थितीकाबीच नेपाली समुदायका भिन्न प्रकृति भएका संघ संस्थाको नेतृत्व प्रदान गर्दै पनि आउनु भएको छ।
पेसाले पौडेल बैज्ञानिक तथा ईन्जिनियर भए पनि अमेरिकामा नेपाली भाषा तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गरी सन २००० मा केही प्रगतिशिल युवा तथा प्रौढहरुको सहयोग लिई रेडियो दोभानको स्थापना गराउनु भयो।
रेडियो दोभानको सेवा विश्व समुदायले अर्को १२ बर्ष निरन्तर प्राप्त गरेको थियो । सो रेडियोको चिरफार कार्यक्रम आजसम्म पनि विश्वभर स्रोताहरुले अत्यन्त प्रभाबकारी तथा तटस्थ कार्यक्रमको रुपमा सम्झिन्छन ।
सन २०१० मा उत्तर अमेरिकाभरिकै नेपाली समुदायका बिच पत्रकारिता पेसामा संलग्न ब्यक्तिहरुको सँस्था नेपाल–अमेरिका पत्रकार संघ नेजाको पूर्व अध्यक्ष समेत भएर उहाँले नेतृत्व प्रदान गरिसक्नु भएको छ ।
आँफ्नो कार्यकालमा पत्रकारितामा स्वतन्त्रता र स्वछन्दताको वकालत गर्नुभयो । सोही बर्ष वासिङ्टन महानगरी स्थित अमेरिकाकै सबैभन्दा पुरानो र गरिमामय सँस्था अमेरिका नेपाल सोसाईटीको अध्यक्ष पदमा निर्वाचित भई सो संस्थालाई नेतृत्व प्रदान गर्नुभएको थियो ।
अमेरिकाको राजधानी स्थित नेपालीहरुको स्वामित्व रहेको एक मात्र सँस्था नेपाल शैक्षिक तथा साँस्कृतिक केन्द्रको मुख्य चन्दा संकलन निर्देशकको पदमा रही पौडेल अहिले सामाजिक सेवामा कार्यरत हुनुहुन्छ।
उत्तर अमेरिकाकै जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीमा गत बर्ष भएको निर्वाचनमा निर्वाचन प्रमुख भै सफलता पूर्वक निर्वाचन गराउनु भएको थियो । लामो समय सम्म चरम विवाद र झगडाको कारण निर्वाचन हुन् नसकेको जनसम्पर्क समिति अमेरिकाको निर्वाचनमा पनि निर्वाचन प्रमुख भै सफलता पूर्वक विवाद रहित निर्वाचन सम्पन्न गराउनु भएको थियो ।
उमेरले जीवनको मध्यतिर आई सक्नु भएका पौडेल नेपालको त्रिभुबन विश्व–बिद्यालयबाट भौतिक शास्त्रमा स्नातक गरी केही समय चितवन जिल्लामा अध्यापन पेशामा संलग्न भई उच्च शिक्षाका लागि सन नब्बेको शुरुमा अमेरिका प्रबेश गर्नुभएको हो।
अमेरिकाको मिचिगनस्थित फेरिस स्टेट विश्व–बिद्यालयबाट ईन्जिनीयरिङ्ग बिषयमा स्नातक तथा युनिभर्सिटी अफ मेरिल्यान्ड कलेज पार्कको प्रतिष्ठित जेम्स स्कुल अफ ईन्जिनियरिङबाट ईन्जिनीयरिङ्गमै स्नातकोत्तरको उपाधी हासिल गर्नु भएको हो ।
लगत्तै सन १९९७ देखी सन २००८ सम्म अमेरिकि अन्तरिक्ष उडान सँस्थाको मेरिल्यान्डमा अवस्थित गाडर्ड स्पेस फ्लाईट सेन्टरमा एरोनटिकल ईन्जिनीयरको पदमा कार्यरत रहनु भयो।
सन २००८ देखी अमेरिकाको बणिज्य मन्त्रालय अन्तर्गतको नेसनल ओसिएन एण्ड एट मोस् फेयर एड मिनिसट्रेसन मा सरकारको उच्च पदस्थ अधिकारी (GS-14/Scientist/Geodesist) बैज्ञानिक पदमा कार्यरत हुनुहुन्छ।
नेपालको चितवन भरतपुरका पौडेल २० बर्ष देखी वासिङ्टन बाहिर मेरिल्यान्ड राज्यमा पौडेल आँफ्नी श्रीमती र दुई छोरीहरुसंग बसोबास गर्दै आएका छन् ।














प्रतिक्रिया