२८ आश्विन २०८३, बुधबार

प्रचण्ड–बाबुरामलाई रगतले पोल्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Gautam

देशका लागि गरिबले बगाएको रगतको वेवास्ता गर्दै करोडौँका महलमा जो बसिरहेको छ, करोडौका गाडीमा जो हिडिरहेका छन् उसैले अरुलाई सामन्ती भन्न सुहाउँछ ? प्रचण्ड र बाबुरामको जीवनशैली देखेर मात्रै पनि हिजो लडेकाहरुको मन खिन्न हुन्छ । १० बर्षको ‘जनयुद्ध’ केस्का लागि गरिएको थियो ? संविधान निर्माणमा बाधक बनेर शहिदको रगतमाथि किन मजाक गर्दैछ माओवादी ?

मलाई मिति ठ्याक्कै याद भएन, शायद २०६३ साल बैशाख १०/११ को सेरोफेरोमा हुनुपर्छ । म महेन्द्र बहुमुखी क्याम्पस (हाल धौलागिरी बहुमुखी क्याम्पस) नजिकै सानिमा (सीता सुवेदी) को घरमा बसिरहेको थिएँ । प्रशासनले कर्फ्यु आदेश जारी गरेकाले जनआन्दोलन– २ चलिरहेको भएपनि बजार पूर्णरुपमा सुनसान थियो । हामी कर्फ्यु हटेपछि आन्दोलनमा सहभागी हुन जाने तयारीमा थियौँ । तर, यत्तिकैमा हामीलाई गल्कोट, बिहुँ, लेखानी, रेश, भीमपोखरा, पाला लगायत त्यस क्षेत्रबाट ¥यालीसहित आएका आन्दोलनकारीहरुलाई सुरक्षाकर्मीले बागलुङ नगरपालिका—४ रात्माटामा रोकिराखेको खबर मिल्यो । त्यसपछि नरेश कँडेल (प्रेस युनियनका सभापति), ऋषिराम गौतम (बागलुङ जेसिजका अध्यक्ष) र मश्रीनगर टोल हुँदै चोरबाटो प्रयोग गरेर धौलागिरी वीरेन्द्र उच्च माबि नजिकै जहाँ सुरक्षाकर्मीले आन्दोलनकारीलाई रोकिराखेको थियो त्यहाँ पुग्यौँ । हामीले आन्दोलनको अग्रपंक्तिमा रहेकाहरुलाई सुरक्षाकर्मीले अश्रुग्यास हानेको खण्डमा सुरक्षाकर्मीलाई ठेलेर अघि बढ्नु भनेका थियौँ । किनकी सुरक्षाकर्मीले प्राय आफूलाई असर नपर्ने गरी अश्रुग्यास केहीपर मात्रै हान्छ भन्ने सामान्य बुझाइ थियो, हामीलाई । त्यसैले आन्दोलनकारीलाई अश्रुग्यासको प्रवाह नगरी अघि बढ्न सुझाएका हौँ । हामी त्यहाँ पुग्दा नै सुरक्षाकर्मी र आन्दोलनकारीहरुको घचटा–घचेट सुरु भइसकेको थियो । पछि प्रहरीले चलाखीपूर्ण ढंगले चारैतिर अश्रुग्यास हानेर अघिबाट लाठीचार्ज गर्न थाल्यो । अनि त्यहाँ भयानक दृश्यहरु देखिन थाले । सुरक्षाकर्मी यति निर्मम ढंगले प्रस्तुत भयो कि मानौँ त्यहाँ आन्दोलनकारी बन्दुक बोकेर सुरक्षाकर्मीसँग भिडन्त गर्न गएका थिए । देशभर यस्ता दृश्यहरु टेलिभिजनमा हेरिरहेको थिएँ तर त्यो दिन आफै प्रत्यक्ष देख्न र भोग्न पाएँ ।

सुरक्षाकर्मीले गर्भवती महिलाहरु माथि लाठी हिर्काएको र बुढाबुढीहरु अश्रुग्यासको पीडाले यत्रतत्र ढलिरहेको दृश्य अहिले पनि मेरो मानसपटलमा ताजै छन् । कोही पानी पानी भन्दै थिए त कोही टाउको छाम्दै ‘मरेँ नि बाबा’ भन्दै थिए, त्यो दिन बागलुङमा मेरै आँखाले प्रत्यक्ष देखेको दृश्य हो यो । पानीबिनाको माछा बगरमा जसरी छट्पटिन्छ त्यो दिन त्यस्तै गरी छट्पटाएका थिए गणतन्त्रका योद्धाहरु बागलुङमा । मलाई थाहा छ, देशका धेरै शहरमा त्यस्ता थुप्रै योद्धाहरु छट्पटिएका हुन । कतिले ज्यानको आहुति दिए, कति अङ्गभङ्ग भएर अहिले पनि ओछ्यानमै छन् । गणतन्त्रका लागि लडेका थीरनाथ यस्तै छट्पटाउँदा छट्पटाउँदै मर्न विवश भए, जशोदा शर्मा अहिले पनि बेपत्ता पतिको खोजीमा भौतारिरहेकी छिन् । यहि गणतन्त्रका लागि मामा डिल्ली सापकोटाले बलिदानी दिएको बर्षौ वितिसकेको छ । ति बीरहरु जस्ले मुलुकको परिवर्तनका लागि देशलाई रगत चढाएका छन्, जस्ले सिन्दुर र चुरापोतेहरु देशलाई सुम्पिएका छन्, जो देशका खाँतिर टुहुरा भएका छन्, अनि जो देशका लागि अपाङ्ग भएका छन् उनीहरुलाई आज कस्तो महसुस हुन्छ होला, यो देशको हालत देखेर । म युद्धका दृश्यहरु देखेको मात्र हुँ र त मन पोलिरहेछ देशलाई देख्दा साँच्चि देशका निम्ति प्रत्यक्ष लडेकाहरुलाई कस्तो हुन्छ होला आज ? देशका निम्ति काख रित्याएका बाबु आमाहरु, देशकै निम्ति टुहुरा बनेका छोराछोरीहरु अनि देशकै निम्ति सिन्दुर पुछेका नारीहरुको बेदना किन बुझ्दैन यो देशको राजनीतिले ? हामीलाई थाहा छ, देशका खातिर बेदना बोकेर बसेकाहरु धेरै छन् मुलुकमा । तर यो राजनीतिले ती बेदनाहरु बुझ्ने चेष्टा मात्र पनि गरिरहेको छैन अहिले ।

यति ठूलो संघर्षपछि २०६४ साल चैत्र २८ गते निकै उत्साहका साथ संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो । २०६५ जेष्ठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्रमा लग्यो । तर त्यही गणतन्त्रलाई संस्थागत गर्नका लागि अहिलेसम्म संविधान बन्न सकेको छैन । दलहरुको आ—आफ्नो अडानका कारण अघिल्लो संविधानसभा विघटन हुन पुग्यो र त्यसपछि दलहरुले विगतमा भएका कमीकजोरीहरुलाई सच्चाउँदै अघि बढ्ने भीष्म प्रतिज्ञासहित संविधानसभाको दोस्रो निर्वाचन गर्ने निर्णय गरे । पहिलो संविधानसभा निष्फल भएकोमा नागरिकहरु सन्तुष्ट थिएनन् तैपनि दोस्रो पटक सम्पन्न भएको निर्वाचनमा भाग लिए । सबै राजनीतिक दलहरुले दोस्रो संविधानसभाको पहिलो बैठक बसेको एकबर्षभित्रै नयाँ संविधान ल्याउने बाचा गरेका थिए । दलहरुका प्रतिबद्धतालाई विश्वास गर्दै जनताले माघ ८ मा नयाँ संविधान पाउने आशा गरेर बसेकोमा त्यो माघ ८ पनि यत्तिकै स्खलित भएको छ, जसले गर्दा देश फेरि एक पटक नमज्जाले दुखेको छ । सबै दलहरुले आफ्नो चुनावी घोषणापत्रमा सके सहमतिमा र नभए प्रक्रियामा गएरै भएपनि एक बर्ष भित्रै नयाँ संविधान ल्याउने भीष्म प्रतिज्ञा गरेका थिए । तर, उनीहरुले नै त्यो भीष्म प्रतिज्ञाको हत्या गरेका छन् । जस्ले सहमति नभएको खण्डमा प्रक्रियामा गएर एक बर्ष भित्रै नयाँ संविधान ल्याउँछौँ भनेका थिए । उनीहरुले नै आज संविधानसभालाई बन्धक बनाएको देख्दा कुन चाँहि नागरिकको मन दुख्दैन होला ।

आफ्ना हक अधिकारका लागि आवाज बुलन्द पार्न संविधानसभामा पठाएका सभासद्हरु तोडफोड र व्यक्ति आक्रमणमा उत्रेको देखेर नागरिकलाई लज्जाबोध भएको छ आज । संविधानसभामा माओवादीले तोडफोड गरेपछि देशका लागि बलिदानी दिनेहरु फेरि एकपटक निराश भएका छन् । संविधानसभामा माओवादीले पछिल्लोपटक देखाएको हविगतको समर्थन गर्ने आयातितहरुले मात्रै हो सच्चा माओवादीहरुले त्यो कार्यको समर्थन गर्न सक्दैनन् । हिजो काँग्रेस, एमाले वा अरु दलहरुबाट प्रवेश गरेकाहरुले माओवादीले जस्तो गरेपनि समर्थन गरिरहेका छन्, यो उनीहरुको कथित बफादारिता हो, यसलाई माओवादीले समयमै ध्यान दिएर सच्चिनुपर्छ । अहिले माओवादीले सबथोक आफूले भनेजस्तो जो खोजिरहेको छ, त्यो अब बर्षौसम्म सम्भव छैन । सबैथोक आफूले भनेजस्तो गर्न त हिजो युद्धबाटै सत्ता कब्जा गरेर सिंहदरवार छिर्नुपथ्र्यो । युद्ध उत्कर्षमा पुगेका बेला ‘सेफ ल्याण्ड’ का नाममा संसदमा छिर्ने अनि आफूले भने जस्तो भएन भनेर धम्की दिएर हुन्छ ? तोडफोड वा आगजनी गरेर हुन्छ ? हो त्यसैले भनेका हुन मोहन बैद्यले प्रचण्ड र बाबुराहरु संसदवादमा फसे भनेर । यो संसदवादमा कहिले आफूले डोहोर्‍याउने हो कहिले अरुले डोर्‍याएको बाटो हिँड्ने हो ।

संविधानसभाभित्र भएको तोडफोड र प्रचण्ड–बाबुरामहरुले गरेको राजनीति देख्दा देशका डिल्ली सापकोटाहरुलाई सम्झिरहेको छु अनि सूर्य शर्मा र थीरनाथ शर्माहरुलाई सम्झिरहेको छु । के उनीहरुको बलिदानी प्रचण्ड र बाबुरामहरुलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनका लागि मात्रै थियो ? देशका निम्ति बलिदानी दिएका शहिदका सपनालाई माओवादीले बलात्कार गरेको छ । तैपनि भन्छ, अरुलाई सामान्ती । म प्रचण्ड-बाबुरामहरुलाई चुनौती दिन चाहन्छु । पहिला आफ्नो र परिवारको नाममा के कति सम्पत्ति छ ? त्यो सार्वजनिक गरुन् अनि बल्ल अरुका कुरा गरौँला । देशका लागि गरिबले बगाएको रगतको वेवास्ता गर्दै करोडौँका महलमा जो बसिरहेको छ, करोडौका गाडीमा जो हिडिरहेका छन् उसैले अरुलाई सामन्ती भन्न सुहाउँछ ? प्रचण्ड र बाबुरामको जीवनशैली देखेर मात्रै पनि हिजो लडेकाहरुको मन खिन्न हुन्छ । १० बर्षको ‘जनयुद्ध’ केस्का लागि गरिएको थियो ? संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि होइन ? हो, भने संविधान निर्माणमा बाधक बनेर शहिदको रगतमाथि किन मजाक गर्दैछ माओवादी ? आफूलाई गणतन्त्र, धर्मनिरपेक्षता, संविधानसभा र संघीयताको पक्षपाति ठान्ने माओवादीले संविधानसभा र संसद बहिस्कार गर्न मिल्छ ? के माओवादीले पाएको जनादेश नै यही थियो ? यस्ता प्रश्नहरुमा माओवादी अझ बढी जिम्मेवार हुनुपर्छ ।

देशको परिवर्तनका लागि रगतको लगानी गरेका हजारौँका सपना साकार पार्न मुख्य दलहरु परिपक्वताका साथ अघि बढ्नुपर्छ । अहिलै एकीकृत नेकपा माओवादी संविधानसभा भन्दा बाहिर जाँदा मुलुकलाई क्षति पुग्ने कुराको आंकलन सत्तापक्षीय कांग्रेस, एमाले र स्वयम् माओवादीले पनि गर्नुपर्छ । किनकी नयाँ संविधानले देशमा शान्ति कायम गरी देशलाई अग्रगमनको बाटोमा लैजानुपर्छ भन्नै २०६२-०६३ को जनआन्दोलनको माग हो । तत्कालिन नेकपा माओवादीको नेतृत्वमा भएको ‘जनयुद्ध’ ले पनि देश विकासको परिकल्पना गरेको हो । भलै, माओवादीले युद्धका बेला भौतिक संरचनाहरु ध्वस्त पारेको किन नहोस् । तसर्थ शान्तिप्रक्रियाका सहयात्री दलहरु कम्तीमा संविधान निर्माण गर्ने सबालमा एकजुट भएर अघि बढ्नुपर्छ । यदि संविधान बनेर वा नबनेरै पनि मुलुक फेरि द्वन्द्वतिर गयो भने यसको परिणाम राम्रो हुनेछैन । यसअर्थ पनि ‘जनयुद्ध’ नेतृत्वकर्ता एकीकृत नेकपा माओवादी र जनआन्दोलनको नेतृत्वकर्ता कांग्रेस एमालेहरु एकसाथ अघि बढ्नु अहिलेको आवश्यकता हो । अन्यथा ‘जनयुद्ध’ र जनआन्दोलनमा बगेको रगतको खोजी गर्दै नागरिकहरु पेरिसडाँडा, बल्खु, सानेपा हुँदै सिंहदरबार र नयाँ बानेश्वर सम्म पुग्नेछन् । बस यत्ति ।