सत्तरीको दशकतिर हिन्दू ९० प्रतिशत, बौद्ध ९ प्रतिशत र बाँकीलाई १ प्रतिशत भनिने गरिन्थ्यो । जनजातिहरूको भनाइ छ, पृथ्वीनारायण शाहले राज्य हत्याएपछि विजित क्षेत्रमा जबर्जस्ती हिन्दूत्व लादेका थिए । त्यहीकारणले यता शाहकाल चल्दासम्म ९० प्रतिशत हिन्दू तथ्याङ्क बन्यो । अब सबै जनजातिले हिन्दुसंस्कार त्यागेर आफ्नो परम्परागत धर्म निरन्तरित गर्न लागेकाले हिन्दूहरूको संख्यामा घटोत्तरी र जनजातिय धर्महरूको संख्यामा बढोत्तरी हुनुपर्ने मान्यता राख्दछन् ।
यसै सन्दर्भमा मैले २००१ र २०११ को जनगणना हेरें । यसबाट त जनजातिहरूको त्यो अपेक्षाको ठिक उल्टो तथ्याङ्कहरू हात लाग्यो ।
अर्थात् ,
क) अहिले २०११ को जनगणना अनुसार हिन्दुको संख्या ८१ दशमलव ३४ प्रतिशत देखिन्छ । तर पहिले २००१ मा ८० दशमवल ६२ प्रतिशत थियो । जनजातिहरूको अपेक्षा अनुसार यसको संख्या नघटेर उल्टो ० दशमलव ७२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
ख) अहिले २०११ को जनगणना अनुसार बौद्ध ९ दशमवल ०४ प्रतिशत देखिन्छ । तर पहिले २००१ मा १० दशमलव ७४ थियो । यसमा जनजातिहरूको अपेक्षा अनुसार यसको संख्या नबढेर उल्टो १ दशमवल ७ प्रतिशतले कमी देखिन्छ ।
अर्थात्, घट्ने भनेको बढेको र बढ्ने भनेको घटेको छ । प्रश्न स्वाभाविक उठ्न सक्छ । कसरी ? के कारण यो उल्टो भयो होला ?

जनजातिहरू यसमा पूर्ण त राजनीतिक कारण देख्दछन् । अर्थात आफ्नो वर्चश्व कायम राख्न हिन्दुहरूले खेल खेले, भन्छन् । सत्ता आफ्नै, कर्मचारी आफ्नै, प्राविधिक आफ्नै, कम्प्युटर पनि आफ्नै । उनीहरू मनचाहे तथ्याङ्क बनाउन सक्छन्, आदि । म यहाँ तथ्याङ्कको आधारमा ती आदिबासी जनजातिहरूका मान्यता कतिसम्म तथ्यको नजिक छ हेर्न खोज्दै छु । प्राविधिक हिसाबले यो उल्टो अङ्क देखिनुमा अरू केही कारणहरू पनि हुन सक्लान, तर मेरो गणना त्यता उन्मूख छैन । सोझै सरकारले दिएको अंकहरूको सामान्य गणनाबाट जे हुन्छ, त्यो मात्र हेरेको छु ।
२०११ को जनगणनामा नेपालको कुल जनसंख्या जो छ त्यसमा हिन्दुधर्म संख्या ८१ दशमवल ३४ प्रतिशत छ र बाँकी रहेका सबै गैह्रहिन्दुको कूलसंख्या १८ दशमलव ६६ प्रतिशत देखिन्छ ।
गैह्रहिन्दु मध्येका यो १८ दशमलव ६६ प्रतिशतमा को को कति छन् भनी एकएक हेर्न उनीहरूका विशिष्टताअनुरूप निम्न चार खालेमा बिभाजन गरिएको छ । मबाट पहिचानको सामान्य गल्ती हुन पनि सक्छ तर म विश्वस्त छु ती नगन्य हुनेछन् ।
सो अनुसार :
१) पूर्ण बुद्धधर्म मान्ने भनी मानिएकाहरू( तामांग, शेर्पा, थकाली, भोटे : ६ दशमवल ४६ प्रतिशत
२) हिन्दुमिस्कट जाति नेवार र थारूबाट हिसाब लाएर हेर्दा गैह्र हिन्दु अर्थात बौद्धहरू : १ दशमवल ७९ प्रतिशत
३) स्पष्ट गैह्रहिन्दु : मुस्लिम, राई, लिम्बू, याक्खा, जैन, मारवाडी, क्रिश्चियन, बंगाली, शिख, चेपांग, दनुवार, सन्थाल, दराई, सुनुवार, थामी, बाँतर, झाँगड, बढई, छन्तेल, धिमाल, कोचे, क्रिश्चियन, बंगालीसमेत . ११ दशमवल ०५ प्रतिशत
४) मगरहरूको ठूलै संख्या बौद्ध र समानिज्म छोडेर र गुरुङहरूको केही सानो संख्या पनि हिन्दु बनेका छन् । मगरहरूको कुल जनसंख्या ७ दशमवल १४ प्रतिशत र गुरुङ २ दशमवल ३९ प्रतिशत गरी जम्मा ९ दशमवल ५३ प्रतिशत रहेको छ, जसमा हिन्दु र गैह्रहिन्दु कति छन् निर्क्यौल हुन सकेन र यो तथ्याङ्क यस गन्तीमा समावेश गर्न सकिएन ।
उपरोक्त नं ४ बाहेक नं १, २,३ बाट देखिने कूल गैह्रहिन्दुहरू : १९ दशमलव ५८
उल्लेख्य यो रह्यो कि जनगणनाले कूल हिन्दु संख्या ८१ दशमलव ३४ प्रतिशत भनी रहंदा देशमा बाँकी गैह्रहिन्दुहरू १८ दशमलब ६६ प्रतिशत हुनु पर्ने हो । तर मेरो गणनामा यो अङ्क १९ दशमलव ५८ प्रतिशत हुन पुग्दा यसको सख्या ० दशमलव ९२ प्रतिशतले बढी देखियो । यसलाई एकछिनको लागि मान्यता दिंदा हिन्दुहरूको संख्या घटेर ८० दशमवल ४३ प्रतिशतमा झर्दछ । यस अङ्क (० दशमलब ९२ प्रतिशत) लाई पनि नजरअन्दाज गर्दा पनि मगर (७ दशमवल ४५ प्रतिशत) गुरुङ (२ दशमलब ३९ प्रतिशत) को कूलसंख्या ९ दशमलव ५३ प्रतिशतबाट गैह्रहिन्दुहरूको तथ्याङ्क त जोड्नै छ। त्यो टुंगो लागि घटाइयो भने हिन्दुहरूको संख्या अझ उल्लेख्य रूपमा तल झर्ने छ ।
अतः यो छोटो विश्लेषणको निष्कर्ष त यो रह्यो नै कि,
क) तथ्याङ्कमा व्यापक अपचलन वा कमीकमजोरी छ । विश्वसनीय छैन ।
ख) हिन्दु जनसंख्या ८१ दशमलव ३४ प्रतिशत यथार्थ भन्दा बढी देखाइएको छ । मगर र गुरुङ्गको तथ्याङ्क पनि यसमा समावेश छ ।
ग) मगर र गुरुङहरूबाट आफूलाई हिन्दुधर्ममा गोलमाटोल गरी गनिने गरिन्छ भन्ने जो गुनासो हुन्थ्यो त्यो निराधार छैन ।
घ) बुद्धधर्मको जनसंख्या पहिलेको तुलनामा हाल घटेको अङ्क ९ दशमलव ०४ प्रतिशत देखाए पनि मैले सोझो हिसाबबाट जम्मा ८ दशमलव २५ प्रतिशतको मात्र मेसो निकाल्न सकें । यसमा मगर र गुरुङ्गबाट जोड्नपर्ने तथ्याङ्क उपलव्ध नहुँदा त्यसको सही गणना गर्न पाइएन । यो उपलव्ध भएपछि बुद्ध धर्मको तथ्याङ्कमा निक्कै बढोत्तरी हुने छ ।
उपरोक्त निर्क्यौलहरू सामान्य गणना र अड्कलहरूबाट भएको छ । पूर्ण निष्कर्ष यो होइन र हुन पनि हुन सक्दैन । तर यिनलाई अगाडि गहन अध्यनको प्राक्कल्पनाको रूपमा भने प्रयोग गर्न सकिन्छ ।
टिप्पणीः यो सरकारी तथ्याङ्कको आधारमा सामान्य गणनाबाट निस्केको निष्कर्ष हो । एकआध अति सानो प्रतिशतका अंकलाई नजरअन्दाज पनि भएको हुन सक्छ । अन्त्यमा यही भन्न चाहन्छु कि सबै प्राक्कल्पना पूर्ण रूपले सही हुन्छ भन्ने हुन्न । यो त गहन अध्ययनको लागि अध्ययनयोग्य विषय हो कि होइन निर्क्यौल गर्ने प्राम्भिक विश्लेषण मात्र हो । तपाईं आफूले पनि सरसर्ती यी निम्न सरकारी स्रोतहरूबाट विश्लेषण गर्न सक्नुहुन्छ । धन्यबाद ।
श्रोतहरू: (http://www.dataforall.org/dashboard/nepalcensus/#Population) (http://cbs.gov.np/…/NPHC2011%20(Tables%20from%20Form-II).pdf http://cbs.gov.np/…/Pop…/Caste%20Ethinicity%20Population.pdf)
















प्रतिक्रिया