काठमाडौं माघ १८ । राजधानीमै पहिलोपटक करोडौं लगानीमा तरकारी बजार सञ्चालनमा आएको छ । पेप्सीकोलाको पुरानो बजार सिनामंगलमा करोडौ रुपैयाँ लगानीमा तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको हो ।
खोटाङ घर भएका रुद्र गिरीले झन्डै एक रोपनी जग्गा प्रयोग गरी आधुनिक ‘हलेसी एग्रो मार्केट’को नामबाट तरकारी तथा फलफूल बजार सुरु गरेका हुन् । गिरी खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् ।
स्वदेशी उत्पादनको परिमाण, गुणस्तर बढाउन तथा उपभोक्तालाई ताजा वस्तु उपलब्ध गराउन तरकारी बजार सञ्चालनमा ल्याइएको सञ्चालक रुद्र गिरीले जानकारी दिनुभयो ।
‘विदेश जान लागेका केही युवासंग परामर्श गरेर सञ्चालन गर्यौ, जसबाट २७ जनाले रोजगारी पाएका छन्,’ उहाँले भन्नुभयो, ‘हामीले सीधै किसानसँग किनेर ल्याउने भएकाले हलेसी एग्रोमा उपभोक्ताले सस्तोमा सागसब्जी, फलफूल तथा माछामासु पाउनेछन् ।’
होलसेल तथा खुद्रा दुबै तरिकाबाट कारोबार गर्ने, आर्गानिक र आन्तरिक उत्पादन मात्रै प्रवद्र्धन गर्ने र शाखाहरु स्थापना गर्ने योजना तरकारी बजारको छ ।
व्यवस्थापिका संसद शुसासन समितिका सभापति शेरधन राई र नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले संयुक्तरुपमा तरकारी बजारको उद्घाटन गर्दै उपभोक्ताले गुणस्तरीय वस्तुहरु पाउने धारणा राखे ।
यस्ता बजारको विकास तथा विस्तारमा राज्य तथा सबै निकायले सहयोग प्रोत्साहन दिनु्पर्ने उहाँहरुको भनाई थियो । तरकारी बजार राजधानीमै नमुना भएकाले संरक्षण गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
राष्ट्र बैंकले बैंकहरुलाई कृषि लगायतका उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न दबाब दिइरहेको छ । व्यवसायीहरुले कर्जा सेवाबाट फाइदा लिन सक्ने बताए ।
















प्रतिक्रिया