काठमाडौँ, १७ माघ । केन्द्रीय पशुपालन सहकारी सङ्घ, नेपालले केन्द्रीयस्तरमा मिट मार्ट (मासु बजार) सञ्चालनमा ल्याउने भएको छ ।
सङ्घले शनिवार यहाँ एक पत्रकार सम्मेलन गरी मुलुकले पशुजन्य उत्पादन मासु, दूध तथा छालाजन्य वस्तु अत्यधिक आयात गरिरहनुपरेको र देशका युवाशक्ति भने वैदेशिक रोजगारका लागि विदेश पलायन हुनुपर्ने अवस्थालाई ध्यानमा राख्दै तरकारी बजार जस्तै मासु बजार सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष बाबुराम अधिकारीले सहकारीको माध्यमबाट पशुपालन गरी पशुजन्य उत्पादनलाई आत्मनिर्भर बनाउन र युवा पलायन रोक्न पशु प्रजनन केन्द्रसमेत स्थापना गर्न लागिएको बताउनुभयो ।
सङ्घले हिउँदे बर्खे तथा बहुबर्खे (डाले तथा भुइँ) घाँसको बीउ, बिरुवा विभिन्न निकायसँग समन्वय गरी किसानको पहुँचमा पुर्याउने, पशु हाटबजारको स्थापना गर्न पहल गर्ने, प्रजनन योग्य पोथी पशुको बधलाई नियन्त्रण गर्न व्यवस्था मिलाउने र पशु ढुवानी गर्दा पालना गर्नुपर्ने मापदण्ड कार्यान्वयनमा पहल गर्नेलगायतका योजना पनि सार्वजनिक गरेको छ ।
सङ्घमा पशुपालनसम्बन्धी काम गर्ने करिब दुई दर्जन सङ्घसंस्था आबद्ध रहेका छन् । रासस















प्रतिक्रिया