काठमाडौं, १६ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्न नमान्दा नमान्दै पनि शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा पुगेका प्रधानमन्त्री सुशील कोइराला निराश हुँदै फर्किएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा व्यस्त रहेकाले समय दिन नसक्ने बताउँदा बताउँदै पनि प्रधानमन्त्री कोइराला शुक्रबार बिहान प्रचण्डलाई भेट्न पुगेका थिए । सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटार फर्कने क्रममा बिनाजानकारी प्रचण्ड निवास पुगेका हुन् । अध्यक्ष प्रचण्ड नेता डा बाबुराम भट्टराई र सचिव वर्षमान पुनलगायतका नेताहरूसँग पार्टीको आन्तरिक बैठकको तयारीमा थिए । एक्कासी प्रधानमन्त्री प्रवेश गरेपछि उनीहरु अलमलमा परे ।
चारपटकसम्म टेलिफोन गरेर समय माग्दा समेत प्रचण्डले केन्द्रीय समिति बैठकको तयारीमा रहेको भन्दै प्रधानमन्त्रीसँग भेट्न मानेका थिएनन् ।
‘प्रधानमन्त्रीले चारपटकसम्म फोन गरेर भेट्नलाई समय दिनुपर्यो भन्नुभएको थियो, प्रचण्डले केन्द्रीय समिति बैठकको तयारीमा व्यस्त छु भन्दाभन्दै उहाँ आफै निवासमै आउनुभएछ ।’, प्रचण्डको निजी सचिवालयले भन्यो, ‘यो वार्ता होइन, उहाँ आफै आउनुभयो ।’
कस्तो रह्यो भेटवार्ता ?
झण्डै आधा घण्टा बसाईंका क्रममा प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच संविधान निर्माणमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । तर, कुनै निष्कर्ष निस्कन सकेन । प्रधानमन्त्रीले वार्तामा बस्न आग्रह गरे पनि प्रचण्डले अस्वीकार गरेका थिए । स्रोतका अनुसार, घाँटीमा तरबार राखेर वार्तामा नबस्ने प्रचण्डको जबाफ थियो । ‘हामीले होइन्, वार्ताको ढोका तपाईंहरुले बन्द गरेको हो, घाँटीमा तरबार झुण्ड्याएर तपाईंहरुसँग वार्तामा बस्न सक्दैनौँ ।’- प्रचण्डको जबाफ थियो ।
वार्ताका लागि शर्तहरु राख्दै प्रचण्डले प्रश्नावली प्रस्ताव समिति विघटन गर्नुपर्ने र राज्य पुनसंरचना लगायतका विषयमा काँग्रेस र एमालेले रोडम्याप जनतासमक्ष सार्वजनिक माग गरेका थिए ।
भेटबारे जानकारी दिँदै एमाओवादी सचिव वर्षमान पुनले भने, ‘प्रधानमन्त्री कोइरालाले सहमतिकै आधारमा संविधान निर्माण गरौँ, तपाइँ हामी शान्ति सम्झौताका पक्षधर नै मिलेर संविधान बनाउनुपर्छ भन्नुभयो ।’
प्रचण्डसँगको छलफल पछि निराश बनेका प्रधानमन्त्री कोइराला भने सत्ता साझेदार अन्य दलसँग पनि छलफल गरी खबर गर्ने भनी निस्केका थिए ।
माघ ५ गते संविधानसभामा एमाओवादी र मोर्चा सम्वद्ध सभासद्को तोडफोडपछि र माघ ११ गते सभाध्यक्ष नेम्वाङले विपक्षी सभासद्को विरोधका बाबजूद प्रस्ताव समिति गठन गर्ने निर्णय गरेपछि सत्तापक्ष र प्रतिपक्ष दलहरू दुई ध्रुवमा विभाजित भएका छन् । त्यसयता प्रमुख दलहरूबीच मनमुटाव बढ्नुका साथै संविधान निर्माणका सम्बन्धमा कुनै पनि कार्य हुन सकेको छैन ।
















प्रतिक्रिया