९ कार्तिक २०८३, सोमबार

मिलेर बसेका नेपालीलाई फुटाउने षड्यन्त्रको पछाडि नलागौँ : उपसभापति पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Chandra-Paudel

कास्की, १५ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मिलेर बसेका नेपालीलाई फुटाउने षडयन्त्रको पछाडि नलाग्न सबैलाई आह्वान गर्नुभएको छ ।

बिहीवार पोखरा–१३ स्थित शीतलादेवी सामुदायिक प्रस्तावित उच्च माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामी विश्व समुदायसँग पनि प्रश्न गर्न सक्छौं, लोकतान्त्रिक प्रक्रिया भनेको के हो ? मिलेर बसेका नेपालीलाई फुटाउने षड्यन्त्रको पछाडि हामी लाग्ने छैनौँ ।”

बहुमतीय प्रणाली विश्व समुदायले नै स्वीकारेको पद्धति भएको उल्लेख गर्दै उहाँले दुई तिहाई बहुमतको सहमति भनेको अधिकतम सहमति भएकाले बहुमत र प्रक्रियाबाटै संविधान जारी गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले एकीकृत नेकपा–माओवादीसहितको विपक्षी मोर्चाले विभिन्न कर्तुत गरेर नेपालको उन्नतिलाई रोक्न र संविधान जारी हुन नदिने षड्यन्त्र गरेको आरोप पनि लगाउनुभयो ।

“सहमति भनेको राम्रो हो तर दुनियामा सर्वसम्मत निर्णय भनेको अधिनायकवादमा मात्र हुन्छ, प्रजातन्त्रमा त ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड वुद्धि’ अर्थात अलग अलग विचार हुन्छ,” उहाँले भन्नुभयो ।

विपक्षीले संविधान बन्न नदिन महाजाल सिर्जना गरेको र सहमतिबाट अलग भएको बताउँदै उहाँले विपक्षी मोर्चासँग कुनै तर्क नभएको आरोप लगाउनुभयो ।