९ कार्तिक २०८३, सोमबार

जिल्ला नेतालाई प्रशिक्षण दिने कांग्रेसको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, १५ माघ । पार्टीको नीति तथा सुधारात्मक बाटोमा लगाउन देशभरीका जिल्ला नेतालाई सत्तारुढ नेपाली कांग्रेसले प्रशिक्षण दिने भएको छ ।

क्षेत्रीयस्तर सम्म पुगी कांग्रेसका केन्द्रीय नेताले जिल्लास्तरका नेतालाई प्रशिक्षण दिने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका सबै जिल्ला समितिका कोषाध्यक्षलाई बजेट निर्माण र व्यवस्थापन विषयमा प्रशिक्षण दिन लागेको हो ।

माघ २७ देखि सुरु हुने प्रशिक्षण कार्यक्रम २९ गतेसम्म चल्नेछ ।

तीनदिने प्रशिक्षणको उद्घाटन केन्द्रीय कार्यालयमा हुने र बन्दसत्र काभ्रेको धुलिखेलमा हुने प्रतिष्ठानका निर्देशक एवम् कांग्रेस नेता मधु आचार्यले जानकारी दिनुभयो ।

प्रतिष्ठानका प्रमुखसमेत रहनुभएका उपसभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकले पार्टीमा महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गजस्ता आरक्षित कोटाबाट चुनिएका महाधिवेशन प्रतिनिधिका लागि पाँच विकास क्षेत्रमा क्षेत्रीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । क्षेत्रीय प्रशिक्षण यही वर्षभित्र हुने बताइएको छ ।

“ संविधान निर्माण, समसामयिक राजनीतिका साथै आत्मनिर्भर र उद्यमशील बन्ने विषयमा प्रशिक्षण दिइनेछ” – नेता आचार्यले भन्नुभयो ।

साथै प्रतिष्ठानले सर्वोच्च नेता गणेशमान सिंहको जन्मशताब्दिका अवसर पारेर फागुन ७ गतेबाट गणेशमान बलिदान अभियानसहितको पदयात्रा कार्यक्रम गर्ने भएको छ । सर्वोच्च नेता सिंहले २००१ साल असार ७ गते भद्रगोल जेल तोडेर भारत प्रवेश गर्नुभएको मार्गमा कार्यक्रम गर्ने पनि नेता आचार्यले जानकारी दिनुभयो ।

सर्वोच्च नेता सिंह हिँडनुभएको काठमाडौँ, धादिङ, नुवाकोट, गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र रुपन्देही लगायतका मार्गमा गोष्ठी, सभासहितका रचनात्मक कार्यक्रम गरेर सो अभियान चलाइनेछ । जनआन्दोलन दिवस चैत २६ मा काठमाडौँमा अभियानको समापन हुनेछ ।

त्यसका लागि सिंह वीरगन्जको ठोरीमा समातिनुभएको ठाउँबाट दोस्रो चरणको कार्यक्रम थालेर भीमफेदी हुँदै काठमाडौँमा समापन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

सङ्गठन सुदृढीकरण एवम् समसामयिक राजनीतिक विषयमा प्रशिक्षण केन्द्रित रहने कांग्रेसले जनाएको छ ।