– रामसुन्दर आचार्य
काभ्रे, १४ माघ । तोकिएकै समयमा संविधान निर्माण नहुँदा आम नेपालीमा निराशा छाएको छ । अझ शहिद परिवारहरुलाई त झन पीडा माथि पीडा थपिदिएको छ । जनआन्दोलन २०६२/६३ मा घाइते भएर जीवन मरणको संघारमा रहेका बनेपाका जिउँदा शहिद मुकेश कायस्थको परिवारमा दलका नेताहरुले नै प्रतिबद्धता जनाएर माघ ८ मा संविधान निर्माण गर्छौ भनेको बाचा पूरा नहुँदा र नेताहरुले कुर्सी हानाहान गर्दा यति बेला रुवावासी चलेको छ ।
कायस्थ जनआन्दोलन २०६२/६३ सालको जनआन्दोलनमा सहभागी हुँदा बनेपामा गोली लागेर गम्भीर घाइते भएका थिए । कायस्थ घाइते भएदेखि नै आफ्नो शरिरलाई चल्मलाउन सक्दैनन् । उनी अहिले पनि अर्धचेत अवस्थामा छन् । राज्यले जिउदो शहिदको सूचीमा राखेको छ । केही सेवा सुविधा पनि उपलब्ध गराएको छ । कुनै भौतिक सुविधा भन्दा पनि मुकेशका परिवारले देशमा दिगो शान्ति र संविधान चाहेका छन् । तर यतिबेला उनको स्याहारमा दश बर्षदेखि खटिँदै आएकी आमा मिरा कायस्थको आँखामा आँशु मात्र भरिन थालेको छ । कारण हो, गत माघ ५ गते आफ्ना सन्तानले ज्यानलाई बन्दुकको धारमा राखेर पठाएका नेताहरुले गरेको चरित्र ।
नेताहरुले कुर्सी हानाहान गरे, दोस्रोपटक पनि संविधान दिन सकेनन्, यिनीहरुले शहिदको अपमान गरे भन्दै ५ गते देखि आमा मिरा कायस्थले गहभरि आँशु पार्दै भनिन् “धेरैलाई अपाङ र शहिद बनाएको कुर्सी हान्न र संविधान नबनाउन हो ? भन्दै आफैलाई प्रश्न गर्छु ।’
मिराले रुँदै भनिन्, “नेताहरुले गरेको चरित्रले अब त सहिद परिवार भन्न पनि लाज लाग्छ, देशको परिर्वतनका लागि आफ्नो ज्यानलाई बाजी राखेर आन्दोलनमा होमिएर शहिद बनेकाहरुको आत्माको शान्तिका लागि राज्यले संविधान दिनुको सट्टा जनताले प्रतिनिधि बनाएर पठाएका प्रतिनिधिहरुले आफ्ना स्वार्थमा लाग्दा शहिद परिवारको अपमान भएको र नेपालीमा परिवर्तनका लागि होमिएकाहरुको आशामा तुुषारापात भयो ।” मुकेशको परिवार त एउटा प्रतिनिधि पात्र मात्र हुन् ।
शहिद परिवारको सम्मानका लागि र शहिदहरुको आत्माको चिर शान्तिका लागि भौतिक सुविधा मात्र होइन दिगो शान्ति र संविधान अहिलेको खाँचो हो ।
















प्रतिक्रिया