२९ आश्विन २०८३, बिहिबार

क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Caan-Info-Tech-8काठमाडौँ, १४ माघ । सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले बर्सेनि आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ बुधवारदेखि सुरु भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको क्यान इन्फोटेकको २१ औँ संस्करणको ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल÷इन्टेल बाई नियोटेरिक नेपाल’ नाम रहेको सम्मेलन यही माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा मुख्य प्रदर्शनी हलभित्र ४९ र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् भने ट्रसमा १४४, ओप स्पेस १४ र फुट कक्ष नौ गरी जम्मा २१९ वटा व्यवसायिक स्टल राखिएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सूचना प्रविधिको माध्यमबाट मुलुकको विकासका लागि महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

उहाँले सूचना प्रविधिको क्षेत्रमा आएको नयाँ क्रान्तिले एउटा क्लिकका भरमा आफूले चाहेअनुसारको विश्वको गतिविधि र सूचना लिन सफल भएको भन्दै सूचना प्रविधिको प्रवद्र्धनमा क्यानले खेलिरहेको भूमिकालाई अझ व्यापक बनाउन जरुरी छ भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले संविधानसभाभित्र प्रश्नावली प्रस्ताव समिति गठन गरिएपनि त्यसले तुरुन्तै संविधान जारी गर्ने नभई प्रक्रिया अघि बढाउने मात्र भएकाले सहमतिको बाटो खुल्लै रहने र संविधानका अन्तरवस्तुलाई सहमति गर्न सकिने भनदै बन्द र हड्तालजस्ता जनतालाई दुखः दिने काम छाडेर सहमतिमा संविधान निर्माणमा सहभागी हुन विपक्षीदललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले सूचना प्रविधिको लागि ठूलो धनराशि र जनशक्ति विदेश पलायन भइरहेको यथार्थलाई ध्यान दिई यस क्षेत्रको विकास विस्तार गर्न सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले सूचना प्रविधिको विकासका लागि सरकारले उचित नीति ल्याउन जरुरी भएको खाँचो औँल्याउनुभयो ।

क्यान महासङ्घका अध्यक्ष इ विनोद ढकालले सूचना र प्रविधिको क्षेत्रमा विश्वभर वर्षभर भएका नयाँ संस्करणलाई एकै थलोबाट सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले सूचना प्रविधि सम्मेलनको अवलोकनसमेत गर्नुभएको थियो ।
सम्मेलन अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १५० र विद्यार्थीलाई रु ७५ तोकिएको आयोजकले जनाएको छ । रासस