जातिय बिखण्डनले संसारमा कुनै पनि देशको भलो भएको छैन । राष्ट्रिय अखण्डतामा उठाइएको प्रश्नले कुनै पनि राष्ट्र बलियो भएको छैन । सिर्जनशिलताविहीन बिकाउ प्रवृति भएका कुपात्रहरुसँग सति जान सकिदैँन । पृथ्वी अन्य ग्रहसँग जोडिइरहेको वर्तमान विश्वमा नेपालकै जात—जातलाई एक आपसमा भिडाएर राजनीति गर्नेहरुलाई के भन्नु ?
समृद्ध नेपाल निर्माण गर्न किन चुक्यौँ ?
राजनीतिक दलहरुले युवा पुस्तालाई दिएको संस्कार गलत छ । जुन संस्कारले अन्तरनिर्भरता आजको समाजको चरित्र हो भन्न सकेन र सिर्जनशिलता भन्दा बढि बिद्रोही मानसिकता दियो । आफनो पार्टीलाइ जिन्दावाद र संसारलाइ मुर्दावाद भन्न सिकायो । विश्व व्यवस्थासँग जोडिएर चिल बनिसक्दा पनि कुखुराकै चल्ला बन्ने दर्शन सिकायो । उड्न होइन खोस्रन मात्र सिकायो । मानिस मंगल ग्रह र चन्द्रमा पुग्दै गर्दा, युरोपियन मुलुकहरु एकल मुद्रा, एकल नागरिकको मान्यतामा काम गर्दैगर्दा नेपालीलाई हजार किलोमिटर भू–भागमा भुरे टाकुरे राज्यका नेता बनाउने कविला इतिहासतर्फ फिर्ता पठाउने कोसिस गर्यो ।
विश्वबाट के लियौँ ?
हामीले विश्वबाट धेरै कुरा लिएका छौ । सूचना प्रविधिको २१ औ शताब्दी हामीले पनि सदुपयोग गर्न पाएका छौ । संयुक्त राष्ट्रसंघमार्फत विश्वलाई विचार दिने ठाउँ पाएका छौ । क्षेत्रिय मञ्चमार्फत क्षेत्रिय राजनीतिमा परिचय स्थापित गर्ने अवसर पाएका छौ । वैदेशिक सम्बन्धको कारणबाट विश्व बन्धुत्वको साइनो गाँस्न पाएका छौँ । खेलकुदको माध्यमबाट विश्व च्याम्पियन बन्ने अवसरको ढोका खुलेको छ । विश्व व्यापार संगठनको माध्यमबाट विश्वभर व्यापार गर्ने अवसर खुलेको छ । नपाएको के नै छ र ? प्रविधि र सूचनाले ढपक्कै ढाकेको संसारमा प्राप्त अवसरको सदुपयोग गर्न सकेका छौं कि छैनौ त्यो भने बेग्लै समीक्षाको विषय हुनसक्छ ।
विश्वलाई के दियौँ ?
हामीले विश्वलाई दिएका सूचकहरु खोज्दै गर्दा लज्जित हुनुपर्ने अबस्थामा आइपुग्छौँ । तथापि गर्वका साथ भनिरहेका छौँ, हामी २१ औ शताब्दीका मानव । हाम्रो व्यवहार २१ औँ शताब्दी सुहाउँदो छ ? विश्व व्यवस्थासँग नजोडिएको भए हामी अहिले पनि ढुंगे युगकै अवस्थामा हुने थियौ ।
भनिन्छ, अवसरहरु बाजा बजाएर आउँदैनन्, इशारा दिएर आउँछन् । यहाँ त अवसर त्रिभुवन विमानस्थलमा जहाज लिएर आएको छ । हात—हातमा मोबाइल लिएर आएको छ । घर घरमा इन्टरनेट लिएर आएको छ । साइकल, गाडी र पुल बनेर आएको छ । प्रश्न बाजा र इशाराको होइन । प्रश्न त हामीले बाजै बजाए पनि सुन्यौ कि सुनेनौँ ? इशारा भए इशारा बुझयौ कि बुझेनौ भन्ने हो ।
हामी परजीवि भएनौ र ?
हामीले प्राप्त अवसरको सदुपयोग गर्न सकेका छैनौ । सिर्जनशिलताको प्रयोग गर्न सकेका छैनौ । हामी परजीवि भएका छौं । हाम्रा इन्द्रिय कामै नलाग्ने भएका छन् । हामी भन्छौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद ।
हामीले कहिल्यै सोचेनौँ, किन ती देशले नेपालकै हितको लागि काम गर्नुपर्छ । हामीले मुर्दावादको राजनीति गर्दै गर्दा विश्व व्यवस्थाले मानव इतिहासमै कहिल्यै प्राप्त नभएको अवसरको ढोका खोलेको छ भने जिन्दावादको राजनीति किन गर्न सकेनौ ? हाम्रा इन्द्रियहरु निर्जीव भएका छन् । आँखाले देखे पनि के हो ? को हो ? नचिन्ने, कानले सुने पनि कस्को आवाज हो नछुट्याउने । छालाले स्पर्श गरे पनि के को स्पर्श हो थाहा नपाउने, जिब्रोले खाने तर स्वाद थाहा नपाउने । यस्ता निर्जीव इन्द्रियहरुको रथ बोकेर नेपाली युवाहरु सडकमा मुर्दावादको नारा लगाउन ब्यस्त छन् । रोजगार दिन नसक्नेहरु रोजीरोटी खोस्न ब्यस्त छन् । भएका सीमित उद्योग पनि बन्द गराएर युवाहरु पलाएन बनाएका छन् । विदेशी इशारामा साम्प्रदायिकता भड्काउदै छन् । मुर्दावाद छ युवा तिमीलाई, आफनै इन्द्रियको प्रयोग गर्न सकेनौ । दृष्टि भएर पनि चिन्न सकेनौ । मुर्दावाद छ युवा तिमलाई, भाइ फुटाल्ने नारा लगाउँदा पनि तिमीले विश्वमा भएको भाइ–भाइको फुटको रोदन सुन्न सकेनौ । तिम्रा सम्पूर्ण इन्द्रियलाई मुर्दावाद छ युवा, किनकी ती सबै निर्जीव भइसके । तिमी क्यारेम बोर्डको गोटी बन्यौ । स्टाइकरले हान्नै पर्ने । त्यो स्टाइकरलाई पनि फेरि कुनै रिमोटले चलाउनै पर्ने ।
मानवशास्त्रले भन्छ, धर्म र संस्कृति नै आजको समयको सबैभन्दा ठूलो आणविक बम हो । जस्ले लाखौ बर्ष लगाएर उद्विकास हुँदै आएको मानवीय सभ्यताको विनाश एकै मिनेटमा गर्न सक्छ । सबल राष्ट्रलाई क्षतविक्षत बनाउन सक्छ । शक्ति राष्ट्रहरु कोही धर्मको नाममा पसेका छन्, कोही जातको नाममा बुझनु पर्ने त हामीले हो । २००७ सालपछि पनि नेपाली युवाहरुले निरन्तर गुञ्जयमान बनाएको आवाज हो मुर्दावाद । राणा, राजा, काँग्रेस, एमाले, माओवादी, भारत र अमेरिका सबै मुर्दावादको सिकार भएकै छन् । मुर्दावादले बदलिँदो विश्व व्यवस्थाको ढोका खोल्न सक्छ ? सक्दैन भने युवाहरुको भूमिका के होला ? छिमेकी राष्ट्रहरु चन्द्रमा र मंगल ग्रहमा पुग्दा हामी अझै मुर्दावादको नारा लगाउँदै विरोधी मानसिकता बोकेर आफनो सिर्जनशील दायित्वबाट पछाडि हट्न मिल्छ ?
राजनीतिज्ञहरुले आफूसँग भएको उत्तम विचार दिने हुन । विदेशीबाट चन्दा लिएर पार्टी चलाउनेहरुले विदेशीकै गुणगान गाउन सिकाउँछन् । आफूसँग नभएको नेपालीपन कसरी दिऊन ? विपक्षीलाई मुर्दावाद र प्रधानशत्रु तोक्ने खेलाडीहरुले खेलको नियम जोगाउन सक्दैनन् । हामी तिनै नेताका पछाडि लागेर विश्व व्यवस्थाले खोलेको अवसरका ढोका बन्द गराउन सक्दैनौँ । युवाहरुले आफना इन्द्रियहरुका ढोका खोलौँ । जातिय बिखण्डनले संसारमा कुनै पनि देशको भलो भएको छैन । राष्ट्रिय अखण्डतामा उठाइएको प्रश्नले कुनै पनि राष्ट्र बलियो भएको छैन । सिर्जनशिलताविहीन बिकाउ प्रवृति भएका कुपात्रहरुसँग सति जान सकिदैँन ।
ढुंगे युगको साँचोले वर्तमान युगको ताल्चा खोल्न सकिदैन । विज्ञान र प्रविधिले संसार जोडिरहेको समयमा नेपालकै हिमाल, पहाड र तराई जोड्न नसक्ने राजनीति गर्नेहरुलाई के भन्नु ? पृथ्वी अन्य ग्रहसँग जोडिइरहेको वर्तमान विश्वमा नेपालकै जात—जातलाई एक आपसमा भिडाएर राजनीति गर्नेहरुलाई के भन्नु ? दलाल राजनीतिज्ञहरुको स्वार्थका लागि रगत पसिना बगाइरहेका युवा तिमीलाई के भन्नु ?
विज्ञान र प्रविधिले कसैलाई भेदभाव गर्दैन । हामीले त अब विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुछ । जिन्दावादको संस्कार शुरुवात गर्नुछ । निर्जीव इन्द्रियमा प्राण भरौ, विश्वलाई हरौ, सुनौ, स्पर्श गरौँ र सिर्जनशिलताको प्रयोग गरौ । देशलाई बन्द हड्ताल र एक आपसको फुटाइले होइन विज्ञान, प्रविधि र अवसरले जोडौँ । विश्व व्यवस्थासँग हातेमालो गर्दै जिन्दावादको संस्कार शुरु गरौ । फेरि पनि मुर्दावादमै अल्मलियौ भने अरुलाई दोष लगाउनुको कुनै अर्थ हुने छैन । जिन्दावाद भन्न थालौं ।
लेखक अधिबक्ता हुन्














प्रतिक्रिया