जनता जागे भने प्रचण्डले नेपाली भूमिमा टेक्ने एक चिम्टी ठाउँ पनि पाउँदैनन् । किनकी नेपाल आमाले उनलाई धिक्कारिरहेकी छिन् । सदियौँदेखि मिलेर बसेका नेपालीलाई जात-जातमा फुटाएर प्रचण्ड नेपाल आमाको काखमा छुरा रोपिरहेका छन् ।
हालै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नवली समिति गठनको घोषणा गरेपछि प्रचण्ड र उनको गठबन्धनले आफूहरु अब जनतामा जाने उद्घोष गर्यो । आन्दोलनका कार्यक्रम पनि धमाधम घोषणा भइरहेको छ । के उनीहरु यतिबेला गर्न लागेको आन्दोलनको पुष्टि गर्न सक्लान ? यो आन्दोलन अग्रगमनको लागि हो ? यो आन्दोलन गणतन्त्र, समाबेशिता ,धर्म निरपेक्षताको जगेर्नाका लागि हो ? कदापी होइन् । यसबेला एमाओवादीको नेतृत्वमा हुन थालेको आन्दोलनले विगतमा प्राप्त उपलब्धिलाई गुमाउने प्रबल सम्भावनाहरु छन्, वर्गीय आन्दोलनको जगमा उत्पीडित समुदायको मुक्ति आन्दोलन हाँक्नु पर्ने युगीन आबश्यकतालाइ बुझ पचाएर तत्काल आफू सत्तामा पुग्ने हतियारको रुपमा जातियताको बिषयलाई कम्युनिष्ट पार्टीले उछाल्नु कति युक्तिसंगत होला ? १२५ भन्दा बढी जात भएको यो मुलुकमा केवल ७ वा ८ जातिलाई मात्र जातीय अग्राधिकार दिंदा अरु जातिको अवस्था कस्तो रहला ? तराईका जमिन्दारलाई सत्ताको मालिक बनाउँदा त्यहाँका गरिब किसान डोम, चामे, मुसहर, चमारको अवस्था कस्तो हुने होला ? बिडम्बना । देशलाई पश्चगामी बाटोमा हिँडाउन खोज्ने नै महान क्रान्तिकारी भन्दै कुर्लेको देख्दा कुरीकुरी भन्ने बाहेक केही जबाफ नै नहुँदो रहेछ ।
हिजो बहुदलीय व्यवस्थाले काम र गति लिन नथाल्दै दरबारिया इशारामा प्रतिस्पर्धात्मक बहुदलीय व्यबस्थाको अन्त्यको लागि कसम खाएर लाग्नेहरु आज नजानिँदो तरिकाले त्यही ठाउँमा आइपुग्दा पनि चेत नखुल्नु अर्को आश्चर्य हो । सात दलको १९ दिने आन्दोलन र माओबादीको १० बर्षे द्वन्द्वका कारण देशमा केही राम्रा काम नभएका होइनन, हिजो माओबादीले चर्काचर्का मागहरु उठाए । जनताले हेरौँ न त भनेर साथ पनि दिए । उनीहरु क्रान्तिकारी पनि हुन् कि भनी जनतामा एक किसिमको भ्रम पनि फैलियो । प्रचण्ड र बाबुरामलाई लागेको हुनसक्छ, हाम्रा मुखारबिन्दु बाट निस्कने बाणी, हामीले गर्ने काम जे जस्तो गरे पनि क्रान्तिकारी हुन्छ । तर वास्तविकता त्यस्तो थिएन, छैन र हुन्न पनि ।
यसो त प्रचण्ड र बाबुरामका धोतीहरु धेरै नै फुस्किसकेका छन् । बाबुराम प्रधानमन्त्री हुँदा गरेको बिप्पा सम्झौता र बिमानस्थलको व्यवस्थापन भारत सरकारलाई दिने राष्ट्रघाती कदम र सेनापति हठात हटाउनु हाम्रो आफ्नै कमजोरी हो भनेर उनीहरुले नै उद्घोष गरिसकेका छन् । त्यति हुँदा पनि किन बारबार त्यही गल्ती दोहोर्याउँदैछन् ? भोलि राजनीतिको कुनामा बसेर संविधान बन्न नदिनु र नबनाउनु हाम्रो त्यस्तै गल्ती थियो भनेर समीक्षा गर्दै पश्चाताप गर्नु शिवाय एमाओवादीसँग केही रहनेवाला छैन ।
जनमत हुने र नहुने सबैखाले राजनीतिक पार्टीहरुले गर्ने आफ्ना स्वार्थपूर्ण कार्यको अनुमोदन जनताको नामलाई जोडेर गरेका देखिन्छन, भलै उनीहरुको काम एक प्रतिशत मानिसहरुले पनि मन पराउँदैनन् । तर पनि उनीहरुको डाँको मात्रैले सर्वसाधारणको सातो पुत्लो उडाइदिन बेर लाग्दैन ।
अब रह्यो जनतामा जाने कुरा । यही प्रयोजनको लागि एक बर्ष अगाडि मात्र जनतामा गएको नै हो ्र । त्यतिबेला नै जनताले एमाओवादी र मधेशवादी दललाई तिमीहरुको एजेन्डा प्रतिगामी छ, बिखन्डनकारी छ, देशलाई द्वन्दमा जबर्जस्ती लैजाने खालको छ भनेर अस्वीकृत गरेका हुन् । मधेश तथा देशभरबाट मधेशवादी तथा माओबादीलाई त्यतिबेलाको उनीहरुको एजेन्डामाथिको अविश्वास नै जनमत हो । त्यो जनमत एमाले र कांग्रेसको पोल्टामा छ । कि भन्नु सक्नुपर्यो हामीलाई भोट दिने जनता मात्र अग्रगामी जनता हुन्, एमाले र कांग्रेसलाई मत दिने पश्चगामी हुन भनर । होइन भने तपाईहरुलाई जनतामा जान कसैले रोकेको छैन्, सडकमा जनता ल्याएर देखाउने हो भने जसका जनता धेरै हुन्छन, उसैले चाहेको संविधान हुने भनेर के फेरि अर्को सम्झौता गर्ने ?
एमाओवादी जनताको बलमा राजनीति गरिरहेको छैन भन्ने संसारलाई प्रष्ट भैसक्यो । अर्काको अवान्छित, कुत्षित मनसायलाई परिपूर्तिको लागि हतियार बनिरहेको छ । यस्तो अबस्थामा नेपालका राजनेता र पार्टीहरुको चाहना र निर्देशनमा मात्र परिस्थिति नरहन सक्छ । हामीले भोट हालेर पठाएका हौँ, जे गर्नुपर्छ नेताले मात्र गरुन भनेर नागरिक उम्किने हो भने देश नरहने नागरिकमाथि ठूलो अन्तरघात हुने निश्चित छ, त्यसको खबरदारीको लागि जनता अब जाग्ने दिन आएको जस्तो छ । तर साँचो यही हो जनता जागे भने प्रचण्डले नेपाली भूमिमा टेक्ने एक चिम्टी ठाउँ पनि पाउँदैनन् । किनकी नेपाल आमाले उनलाई धिक्कारिरहेकी छिन् । सदियौँदेखि मिलेर बसेका नेपालीलाई जात-जातमा फुटाएर प्रचण्ड नेपाल आमाको काखमा छुरा रोपिरहेका छन् । जसले न नेपाली आमाको भलो गर्छ न त पूर्व मेचीदेखि महाकालीसम्म हामी नेपाली सपुतहरुकै भलो गर्छ ।
जय जनता !














प्रतिक्रिया