२८ आश्विन २०८३, बुधबार

उत्ताउलो तस्वीर, भ्रामक ढुंगाहरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Dhakal

परम्परागत नेपाली बजारले बुझ्ने गरेको, भन्ने गरेको ‘ग्ल्यामर’को अर्थपूर्ण परिभाषा दुनियाँले कसरी दिन्छ ? इन्टरनेटका पेजहरूमा घोत्लिएँ । नेपाली बजारको परिभाषा भेट्न मुस्किल पर्छ । नेपालीको परिभाषाको तुलनामा अंग्रेजहरूले दिएको उत्तर नै अर्थपूर्ण र आधिकारिक ठान्दछु म, किनभने यो शव्द नै उनीहरूको हो । तर, नेपाली बजारमा ‘युज्ड टु’ भइसक्यो । यसको शाब्दिक अर्थचाँहि आकर्षक नै हुन्छ । यो नाम हो, यसको विशेषता वा विशेषणचाँहि ग्ल्यामरस् ‘आकर्षक छवि’ हुन्छ । यहि शब्दलाई काँचो केराउ केलाएजस्तो ठ्याक्कै बोक्रा र दाना छुट्याउन मुस्किल होला तर यसको भावार्थमा छिरेर नेपाली ग्ल्यामर बजारलाई चाँहि केही भन्न सकिन्छ कि भन्ने साहस भयो । हुनसक्छ– यो दुस्साहस पनि हुनेछ ।

गीतमा शरीर देखाएर, र्‍याम्पमा छाती खुलाएर, फिल्ममा तिघ्रा प्रदर्शन गर्नुलाई ग्ल्यामर बुझ्नेहरूको झुन्डका लागि यो नयाँ जानकारी हो या होइन त्यो थाहा छैन । तर, काठमान्डुले बुझेको ग्ल्यामर र विश्वले निर्णय गरेको ग्ल्यामरको सन्देश, र अर्थको तह विभाजित छ । वैचारिक बुझाई विभक्त छ ।

एउटा उदाहरण यहाँनेर खसाउँछु – ओल्लो टेबुलमा कालो कफी मगाएर बसेका थियौं हामी । हामी अर्थात् एकजना मेरा सहकर्मी, सहयात्री पुरूष मित्र । पल्लो टेबुलमा थिए, एकजना निर्देशक र अभिनेत्री । स्वभाविक प्रतिक्रिया थियो मेरो कि म मित्रसँग गफिँदा ती अभिनेत्रीको ग्ल्यामरर्स कुराकानीमा खिचिएको थिएँ ।

‘तिमी कति ग्ल्यामरर्स छौ ।’ ती भलाद्मीले भने ।

उनको अगाडि रहेकी ती अभिनेत्रीको नजर झुक्यो । र, ‘थ्यांक्यु !’ भनिन् ।

के अर्थमा उनले त्यसको भनेका थिए, उनले के अर्थमा बुझिन् ? अर्थ केलाउँदै गर्दा त्यो भनाई र बुझाइको तारतम्य नै नमिलेको जस्तो ठानें । यद्यपि, हुनसक्छ यो संवादहरूमा प्रयोग हुने शव्दको गलत प्रयोगको सही कम्युनिकेशन थियो । यद्यपि, बुझेर भनेको राम्रो काम हो ।

खासगरी केटीहरू उत्ताउलो फोटो सामाजिक सञ्जाल, च्याउसरीका अनलाइनमा छाप्नासाथ आफूलाई ग्ल्यामर केटी भन्छन् । उनीहरूका नखराको कुनै सीमा हुँदैन । त्यसको बारेमा व्याख्या या बयानबाजी गर्नु अस्वभाविक ठहर्छ । हुँदा हुँदा नेपाली टेलिभिजनकर्मीहरूको पनि यस्तो नखराले सीमा नाघिसकेको देखिन्छ । सवैका लागि बुझ्ने भाषामा भन्छु– ग्ल्यामर्स पक्कै पनि आकर्षण नै हो । तर, त्यो शरिरका अंगप्रत्यंगमा मात्र हुँदैन । बोलीको हाउभाउमा, कामको तिक्ष्णतामा, प्रस्तुतिको शैलीमा र गर्ने व्यवहारमा हुन्छ । तर, यहाँ उन्माद शरीरमा देखाउने कुचेष्टाको व्याख्या ग्ल्यामर हुने गरेको छ ।

अमेरिकाको एउटा ग्ल्यामर भन्ने अखबारले पाकिस्तानी बालिका शिक्षाकी अभियन्ता मलाला युसुफ जाईलाई ग्ल्यामर केटीको अवार्ड दियो । के मलालाले अंगप्रदर्शन गरिन् ? के उनले सेक्सुअल अपिल हुने शारिरीक प्रदर्शन गरिन् ? किन पाइन् त्यो अवार्ड ? उनको आकर्षण के थियो ? नोबेल विजेता तथा बालबालिकाको शिक्षाकी अभियन्ता मलाला ग्ल्यामर किशोरी कसरी भइन ? किन भनियो उनलाई ? र, यो उपाधि किन दिइयो ? पक्कैपनि उनीप्रति दुनियाँ उनको अभियानमा आकर्षित थियो र छ पनि । एक पाकिस्तानी सामाजिक काममा लागेकी युवतीबारे चिन्तन गरौं न ।

हिलारी क्लिन्टन ग्ल्यामर महिला हुन् र ? किन उनलाई यसको उपाधि हात लाग्यो ? आखिर कसरी भइन् उनी ग्ल्यामर ? यसको जवाफ नेपाली ग्ल्यामर फिल्डमा उत्रिएका मोडेलहरू दिन सक्छन् ?

पाकिस्तानकी पहिलो विदेशमन्त्री हिना रव्वानी खार, क्यानडाकी तामिल संसद सदस्य राथिका सिटसाविसीयन, युक्रेनकी संसद सदस्य युलिया टिमोसेन्को, अमेरिकाका लागि उपराष्ट्रपति उम्मेदवार सराह पालिन, भारतीय राजनीतिज्ञहरू सोनियाँ र प्रियंका गान्धी, पाकिस्तानी कानुनविद् कस्मला तारिक, जोर्डनकी रानी रानियाँ ग्ल्यामर महिलाहरूमा दर्जिए । के यिनीहरू गीतमा नाचेका थिए वा अंग्रप्रदर्शनमा उत्रिएका थिए र ? हैन, यिनीहरू आफ्नो कामको आधारमा, कर्मको योगले ग्ल्यामर महिलाहरू मानिएका थिए ।

‘अभिनय ग्ल्यामर हो, लेख्ने काम कठिन कार्य । त्यसैले म अभिनेत्री बन्न रूचाउँछु ।’ कसैले भन्यो । त्यहाँ शरिर देखाउँछु भन्ने भ्रामक दुस्प्रचार छैन ।

हल्लाहरूको राजधानीमा कसले कस्का बारेमा के भनिरहेको छ भन्ने कुराको अर्थ हुँदैन । यो एउटा तल्लोस्तरको ‘गसिप’ हुन्छ, जसमा एक तिहाई सत्य र बाँकी सवै झूठको खेती भइरहेको हुन्छ । अझ यो नेपाली सहर र समाजको एउटा कठोर सत्यका रूपमा देखिएको र प्रमाणित भएकै विषय हो । मान्छेका निजी जीवनका विषयमा अड्कलबाजीमा गरिने कुराहरूमा त्यति सत्य हुँदैन, जबसम्म सम्बन्धित व्यक्ति वा पात्रले त्यस कुराको पुष्टि नगरोस् । राजनीति, कलाकारिता, पत्रकारिता सवैतिर मौलाएको यो तथ्यलाई बंग्याएर बुझ्नु गलत हुनेछ ।

फेसन भनेको ग्ल्यामर हो । तर, ग्ल्यामर त्यतिमात्र हो र ? फेसनमा लागेका मानिसहरूको तिक्ष्णता अरू जत्तिको मजबुद हुनु पर्दैन र ? सगरमाथाको उचाईको उत्तर दिन नसक्नेहरूले ग्ल्यामरको उत्तर कसरी दिन सक्छन् । ग्ल्यामर भनेको एउटा प्यासन हो । त्यो प्यासनमा छिर्ने हर कोही सैद्धान्तिक र व्यवाहारिक रूपमा आफ्नो रोजाइको क्षेत्रमा उत्तिकै अब्बल हुनुपर्छ, त्यसअघि उसको बौद्धिकता हर क्षेत्रसँग सामिप्य पनि । सवैले बुझ्नै पर्ने हुन्छ ।

अनुभवको आधारमा राम्रो निर्णायकी भूमिका निर्वाह हुन्छ तर गलत निर्णयका आधारमा नै अनुभव हासिल हुन्छ भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्दछ । रंगमञ्चमा कसले कस्ता अनुभवहरू हासिल गरे उनीहरू नै जानुन् । तर, विश्वबजारमा ग्ल्यामरर्स भन्ने दुनियाँ नै गलत निर्णयहरूको अनुभव हुन्छ । जहाँ मान्छेहरू अवसरका लागि यस्ता निर्णयमा विलीन हुन्छन् र समय आएपछि कुरालाई खुलेआम राख्छन् । ती आकर्षक हैन, फोहोरी देखिन्छन् । तर, विडम्बना उनीहरू नै नेपाली अर्थका ‘ग्ल्यामरस् लेडी’हरू हुन् । दुनियाँलाई सुनाउन लाज लाग्ने तथ्य हो ।

एउटा शर्म नभएको मानिसलाई रक्षा गर्नुभन्दा वास्तै नहुने मान्छेको कुरा काट्नु विवेकी काम हुन्छ । त्यसकारण मैले वास्ता नगरेका केही सेलिब्रिटीहरूको सन्दर्भलाई यहाँनेर जोडिरहेको छु । किनभने नेपालीहरू सेलिब्रिटी बन्न रूचाउँछन्, त्यसको ओजको भारी थाम्न सक्तैनन् । कुरा गरेको मन पर्दैन, झुठो प्रशंसा गरेको प्रचारबाजी हुन्छ । ग्ल्यामर फिल्डमा एउटा कुरालाई सबैले ध्यानमा राख्नु आवश्यक हुन्छ ।

उनले धेरै कुरा पाउन सक्छिन्, धेरै कुरा दिन सक्छिन् तर उनी आफ्नो जीवनका सवै कुराहरू जो कसैलाई सुनाउन सक्तिनन् । किनभने उनी सुन्दर र एकदमै सेक्सी हिराजस्तो छिन् महँगो मूल्यको ट्याग लगाएजस्तो । तर, यथार्थ के हुन्छ भने उनी अहिले पनि एउटा ढुंगा हुन्, अरू केही होइनन् तर सोचहरूको भ्रममा उभिएको ढुंगा । र, आफूमा भएको क्षमता नै शरीर भनी ठान्ने मूर्खहरू केवल त्यस्तै ढुंगामात्र हुन् ।

अन्त्यमा, कुनै पनि क्षेत्रमा उभिनुको अर्थ हुन्छ त्यो क्षेत्रप्रतिको मोह । प्रेम, जानकारी र विज्ञता । तर, नेपालमा हर क्षेत्रहरू सतही जानकारीबाट प्रवेश गर्ने र सतही भएरै बाहिर निस्कने परम्परा विद्यमान छ । यो ठूलो र भयानक समस्या हो । फोटो छापियो, भिडियो आयो, बजार ततायो । यत्तिमा सीमित हुन्छ । तर, यो सीमितता सम्बन्धित महिला हुन् या पुरूष सवैका लागि दुखद भविष्य बन्न सक्छ । त्यसकारण फेरि भन्दछु– ग्ल्यामर क्षेत्रमा लाग्नेहरू, केवल उत्ताउलो तस्बिर देखाएर भ्रामक ढुंगा होइन, यथार्थ चरित्र निर्वाह गरेर बहुमुल्य हिरा बन्ने कोसिस गर्नुस् । बाँकी तपाईँहरूको मर्जी ।