काठमाडौं, माघ १३ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनले देशमा संविधान जारी गरी लगानीको वातावरण सिर्जना गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनले दलहरुको बीचमा देखिएको तिक्तताको तत्काल अन्त्य गरी छिटोभन्दा छिटो संविधान जारी गर्ने वातावरण निर्माण हुने विश्वास गरेको हो ।
‘संविधान देश निर्माणको पहिलो र अत्यावश्यक खुट्किलो भएकाले संविधानसभाबाट संविधान निर्माण हुनु सिंगो देश र जनताको लागि गर्वको कुरा हो ।’ विज्ञप्तीमा भनिएको छ ।
एनआरएनका अध्यक्ष शेष घलेद्धारा हस्ताक्षरित विज्ञप्तीमा दलहरुको प्रतिबद्धता अनुसार माघ ८ मा संविधान जारी नहुदा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको आशा र विश्वास हराएकाले उक्त आशा र भरोसालाई कायम राख्न दलहरुले चाँडो संविधान दिनुपर्ने उल्लेख छ ।
‘दलहरुले प्रतिबद्धता अनुसार माघ ८ भित्रमा संविधान जारी गर्न नसक्दा एकपटक फेरि बिश्वभर रहेका गैरआवासीय नेपालीहरुको मन अमिलो भएको छ । अन्तिम समयसम्म पनि संविधान जारी हुन्छ भन्ने विश्वासमा रहेका जनतालाई संविधानसभाभित्र भएका कतिपय अमर्यादित गतिविधिले थप दुःखी र निराश बनाएको छ । ’
‘विश्वभर रहेका हामी नेपालीहरु स्वदेशमा लगानी गरी समृद्धिको बाटोमा हिंडाउने उत्कट चाहना बोकेर बसिरहेका छौं । जसको लागि संविधान जारी भएर राजनीतिक स्थायित्वको जग बस्नेछ भन्ने अपेक्षा र विश्वास हामीमा थियो र छ ।
दलहरुको बीचमा देखिएको तिक्तताको तत्काल अन्त्य भई छिटोभन्दा छिटो संविधान जारी गर्ने वातावरण निर्माण हुनेमा गैरआवासीय नेपाली संघ बिश्वास छ ।’ संविधान निर्माण भएमा विकास निर्माण गति तिव्र रुपमा अघि बढ्ने र लगानीकर्ता थपिने एनआरएनले जनाएको छ ।














प्रतिक्रिया