२९ आश्विन २०८३, बिहिबार

भ्यालेन्टाइन डेको प्रभाव: रातो गुलाबको माग बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Red-Rose-Gulab-Gulaf

ललितपुर, १३ माघ । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) नजिकिँदै जाँदा रातो गुलाबको माग पनि बढेको छ ।

पछिल्लो समयमा नेपालमा पनि भ्यालेन्टाइन डेलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष भ्यालेन्टाइन डे मनाउने मानिसको संख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ ।

फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष कुमार कसजुका अनुसार, गत वर्ष भ्यालेन्टाइन डेका लागि स्वदेशको उत्पादन र विदेशबाट आयात गरेको गरी दुई लाखवटा रातो गुलाब खपत भएको थियो । खपत भएकामध्ये एक लाखवटा स्वदेशको उत्पादन हो भने अरु बाहिरबाट ल्याइएका हुन् । यस वर्ष १५ प्रतिशतले माग बढेकाले एक लाख ५० हजारवटा बाहिरबाट ल्याउने तयारी रहेको छ । यस वर्षका लागि स्वदेशबाट पनि एक लाखभन्दा बढी सङ्ख्यामा गुलावको फूलको कारोबार गरिनेछ ।

प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलाबको फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र तराईका केही जिल्लामा व्यावसायिक रुपमा खेती हुँदै आएको छ । एसोसिएसनका अनुसार गत वर्ष प्रतिगोटा फूल ५० देखि ६० मा बिक्री गरिएको थियो । यस वर्ष पनि त्यही अनुपातमा नै कारोबार हुनेछ ।

केही समयअघि सहरी क्षेत्रमा मात्र मनाइने भ्यालेन्टाइन डे अहिले ग्रामीण भेगका मानिसले पनि महत्वका साथ लिने गरेका छन् । भ्यालेन्टाइन डे हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने गरिन्छ ।