२९ आश्विन २०८३, बिहिबार

वीरगन्जको राजस्वमा २३ प्रतिशतले वृद्धि, साढे दुई अर्ब पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-money-tax
वीरगन्ज, ११ माघ । आन्तरिक राजस्व कार्यालय वीरगन्जले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु दुई अर्ब ३९ करोड ५० लाख ५९ हजार राजस्व असुली गरेको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै २३ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्ष ०७०÷०७१ को पहिलो छ महिनामा सो कार्यालयले रु एक अर्ब ९६ करोड राजस्व असुली गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु एक अर्ब ७५ करोड ७४ लाख पाँच हजार राजस्व असुली गरेको हो ।

कार्यालयले उक्त अवधिमा मूल्य अभिवृद्धि करतर्फ रु २७ करोड १२ लाख नौ हजार, आन्तरिक आयतर्फ रु ३१ करोड ८६ लाख ९३ हजार, घर बहाल करतर्फ रु दुई करोड ५७ लाख ७१ हजार तथा शिक्षा करतर्फ रु सात करोड ३२ लाख पाँच हजार राजस्व असुली गर्न सफल भएको प्रमुख कर अधिकृत भट्टराईले बताउनुभयो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले बा“की बक्यौताबाट रु चार करोड ५० लाख राजस्व असुली गरेको छ ।

धेरै रकम बक्यौता राख्ने करदाताविरुद्ध विशेष अभियान सञ्चालन गरेका कारण नै झन्डै रु चार करोड ५० लाख रकम असुली भएको हो, प्रमुख कर अधिकृत भट्टराईले भन्नुभयो, “यो अभियानलाई अगामी दिनमा पनि अझ घनीभूत रुपमा अगाडि बढाउने योजना छ ।”

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बा“की बक्यौता रहेको रकममध्ये आयकरतर्फ रु एक करोड तथा मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ५० लाख रकम असुली गरेको आन्तरिक राजस्व कार्यालय वीरगन्जले जनाएको छ ।

कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत भट्टराईका अनुसार कार्यालयले अझै पनि बा“की बक्यौताबाट रु २५ करोड सात लाख छ हजार राजस्व असुली गर्न बाँकी रहेको छ । तीमध्ये आयकरतर्फ रु १२ करोड ३४ लाख चार हजार र मूल्य अभिवृद्धि करतर्फ रु १२ करोड ७२ लाख ९८ हजार रहेको छ ।

सबैभन्दा बढी सिद्धि विनायक, मोहिनी इन्टरप्राइजेज र गैरी निर्माण सेवालगायतका करदाताबाट सबैभन्दा बढी बाँकी बक्यौता असुली गर्न बाँकी रहेको सो कार्यालयले जनाएको छ । रासस