म्याग्दी ११ माघ । म्याग्दी जिल्लाका विभिन्न नदीबाट ६३१ मेघावाट क्षमताको २२ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ ।
म्याग्दीमा रहेको कालीगण्डकी, म्याग्दी, राहुघाट, मिस्त्री, निलगिरी, मुदीलगायत नदीमा आयोजना निर्माण र सर्वेक्षणको काम भइरहेको छ । विद्युत् विकास विभागका अनुसार म्याग्दीमा पाँचवटा आयोजनाले निर्माणका लागि अनुमति पाएका छन् ।
थप पाँच आयोजनाले सर्वेक्षणको काम पूरा गरी पूर्वाधार निर्माणका लागि अनुमति मागेका छन् । सातवटा आयोजनालाई सर्वेक्षण अनुमति प्रदान गरिएको र पाँचवटा आयोजना सर्वेक्षणका लागि निवेदन परेको विभागले जनाएको छ । म्याग्दीको नारच्याङमा निजी क्षेत्रको रोवस्ट इनर्जीले ४२ मेघावाट क्षमताको मिरिस्टी र घलेम्दी हाइड्रो लिमिटेडले चार मेघावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु गरिसकेका छन् ।
पिप्ले, झीँ र दग्नाम गाविस क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले ३२ मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणसम्बन्धी काम गरिरहेको छ । म्याग्दी खोलामा २० मेघावाट क्षमताको अपर म्याग्दी र दानामा चार मेघावाटको रुप्से खोला जलविद्युत् आयोजना निर्माणका लागि विभागले अनुमति प्रदान गरे पनि अझै काम सुरु भएको छैन । हाइड्रो इम्पायर कम्पनीले अपर म्याग्दी र रिसर्च एन्ड डेभलपमेन्ट ग्रुपले रुप्सेखोला आयोजना निर्माणको अनुमति पाएका थिए ।
















प्रतिक्रिया