काठमाडौँ, १० माघ । नेपाली काँग्रेसका सभासद् एवं युवा नेता रामहरि खतिवडाले संविधानसभामा बम बोकेर आउन एमाओवादीलाई चुनौती दिनुभएको छ ।
गणेश–उज्जन स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै खतिवडाले एमाओवादीको प्रतिवाद गर्न तयार रहेको बताउनुभयो । ‘माओवादी मित्रहरु, हिजो तपाईंहरुले जनताले बोली बोल्दा गोली दिनुहुन्थ्यो, तर आज जनता शिक्षित भइसकेका छन्, तपाईंहरुको बोलीको विरुद्ध जनता बोली दिन तयार छन्,’ खतिवडाले भन्नुभयो, ‘आँट छ भने संविधानसभामा खुर्सानीको धुलो होइन्, बम लिएर आउनुस्, त्यसको प्रतिकार गर्न हामी तयार छौँ, हामी जीवन त्यागेर भएपनि जनतालाई संविधान दिन चाहन्छौँ ।’
एमाओवादीले युद्धसँग साइनो नै नभएका उज्जनकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठको हत्या गरेकोप्रति आक्रोश व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘हिजो तपाईंहरुले उज्जनकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठको जसरी हत्या गर्नुभयो, त्यसरी नै आज संविधानसभाको कुर्सी फालेर संविधानसभाको हत्या गर्दै हुनुहुहुन्छ,’ खतिवडाले भन्नुभयो, ‘खबरदार हामी त्यो गर्न दिँदैनौँ ।’ एमाओवादीले युद्धकालमा जघन्य रुपमा हत्या गरेका गणेश र उज्जनकुमारसँगै ओखलढुंगाका शिक्षक गुरु लुईँटेल, लमजुङका शिक्षक मुक्ति अधिकारीका हत्यारालाई संविधान बनेपछि कानुनको दायरामा ल्याउने उहाँले बताउनुभयो ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले करोडौँ अकुत रुपैंया कमाएको आरोप लगाउँदै खतिवडाले त्यही पैसा जोगाउन प्रचण्डले संविधान निर्माणमा अबरोध खडा गरेको दाबी गर्नुभयो । ‘अकुत पैसा जोगाउन, सन्तान जोगाउन प्रचण्डले अवरोध खडा गरेका छन्, हामी दुई तिहाई भएर पनि चुप लागेर बसेका छौँ, अब चुप लागेर बस्दैनौँ ।’ उहाँले भन्नुभयो ।
















प्रतिक्रिया