३० आश्विन २०८३, शुक्रबार

साउदीको जेलबाट नेपाली युवाको चित्कार कस्ले सुनिदेला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail

जनकपुरधाम, ९ माघ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दा गर्दै दुर्घटना प्रकरणमा परी गत १ वर्षदेखि धनुषा जिल्लाका एक युवा जेलमा यातना भोगिरहेका छन् ।

पुष्पवलपुर गाविस–१ रतनपुरका सञ्जीवकुमार यादव साउदी अरेबियाको केन्द्रीय जेल अलहासामा यातना भोगिरहेको बुझिएको छ ।

पीडित यादवका साथी सञ्जयकुमार यादवका अनुसार सञ्जीव कार्यरत कम्पनीले तलबसम्बन्धी विवादलाई लिएर उनलाई पक्राउ गराएको दिनदेखि उनी जेलमा यातना भोगिरहेका छन् ।

नेपालको डायना ओभरसिज मेनपावर कुपनण्डोल ललितपुरबाट तीन वर्षअघि चालकको भिषा लिई अरेबियाको मोहम्मद–हल–मोबारक कम्पनीमा गएका सञ्जीव करिब दुई वर्ष जति काम गर्दा आकस्मिक सवारी दुर्घटनामा पर्दा एकजना भारतीय नागरिकको मृत्युका साथै उनी पनि गम्भीर घाइते भएका थिए ।

उक्त सवारी दुर्घटनामा भारतीय नागरिक शाहिद मोहम्मदीनको गल्तीले दुर्घटनामा परी मृत्यु भएको र उनका परिवारजनले पनि सो कुरालाई बुझदै सञ्जीवलाई कुनै अपराधिक प्रकरणको मुद्दा नलगाएपनि कम्पनीको कारण उनी जेलमा रहेको जनाइएको छ ।

दुर्घटनाका क्रममा सञ्जीव स्वयम् घाइते भइ पाँच महिना अस्पतालमा उपचारपछि कम्पनीमा काम गर्न जाँदा कम्पनीले सबै सुविधा कटौती गरेको र सो सम्बन्धमा सञ्जीवले कम्पनीसँग बुझ्न खोज्दा उनलाई जेल चलान गरिएको उनका साथी सञ्जयले जानकारी दिनुभयो ।

सञ्जीवले साउदी अरेबियास्थित नेपाली राजदूतावास रियादमा आफैले पनि सम्पूर्ण विवरणसहितको निवेदन दिई रिहाइको लागि पहल गरिदिन आग्रह गरेको एक वर्ष भइसक्दा पनि कुनै पहल नभएकाले नेपाल सरकारले आफ्नो परिवारको विपन्नतालाई ध्यानमा राखी छोराको रिहाइका लागि पहल गरिदिन सञ्जीवका बुवा रामकलाई यादवले आग्रह गर्नुभएको छ । रासस