२९ आश्विन २०८३, बिहिबार

वीरगन्जमा पेट्रोलको आपूर्ति सहज हुन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Pump

वीरगन्ज (पर्सा), ९ माघ । केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव भएको वीरगन्जमा आज बिहानदेखि भने आपूर्ति सहज भएको छ ।

सरकारले गत आइतबार डिजेल, मट्टीतेल र पेट्रोलको भाउ घटाएपछि त्यही दिनदेखि वीरगन्जमा खासगरी पेट्रोलको अभाव भएको थियो तर आज बिहानदेखि भने पेट्रोलको आपूर्ति सहज भएको उपभोक्ताले बताएका छन् ।
वीरगन्जका पेट्रोल पम्पले जगेडामा इन्धन राखेको भए पनि भाउ घटेका कारण घाटा लाग्ने भन्दै कृत्रिम अभाव सिर्जना गरेर इन्धन बिक्री नगरेको उपभोक्ताको गुनासो थियो ।

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सुरेन्द्र श्रीवास्तवले भन्नुभयो, “आयल निगमले भाउ घटाए पछि वीरगन्जका पेट्रोलियम व्यवसायीले पेट्रोल मगाउन बन्द गरेका कारण बजारमा केही दिन पेट्रोलको अभाव भएको हो ।”

श्रीवास्तवका अनुसार स्वचालित मूल्य प्रणाली लागू भएपछि आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य घटाउन थालेपछि पेट्रोल पम्पका सञ्चालकले निगमबाट कम मात्रामा इन्धन मगाएका कारण बजारमा केही दिन पेट्रोलियम पदार्थको अभाव भएको हो ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगञ्जका प्रमुख भानुभक्त खनालले भन्नुभयो “बजारमा पेट्रोलको कुनै अभाव नभएको दाबी गर्नुभयो ।” उहाँले नेपाल आयल निगमले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराएको भए पनि पेट्रोल पम्प व्यवसायीले नै कम मात्रामा पेट्रोल मगाएकाले केही दिन समस्या देखिएको बताउनुभयो । रासस