२८ आश्विन २०८३, बुधबार

ओलीलाई आक्रमण गर्दा पनि एमालेले सहनुको कारण…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radha-Krishna-Deuja

संविधान बनाउने आफ्नो एक मात्रै लक्ष्य रहेको झुठ बोल्दै आएको एकीकृत माओवादी अनि उसको नेतृत्वमा रहेका मधेशका सामन्तहरुले खोलेको पार्टीहरु सम्मिलित मोर्चाले संविधानसभाको वैठक कक्षमा देखाएको ‘जङ्गली व्यवहार’ले अहिले हाम्रो परिचय दुनियाका सामु सर्मनाक भैरहेको छ । हाम्रो देशलाई जात जातको आधारमा टुक्राएर, त्यो टुक्रिएर बनेको राज्यको महाराजा बन्ने सपना बोकेकाहरुले मुलुकलाई थरिथरिको राज्यमा विखण्डित गर्न खोजिरहेको भएपनि अहिलेसम्म संसारले हाम्रो मुलुकलाई एउटा देशकै रुपमा बुझ्छ अनि हामी नेपाली सबैलाई एउटा तराजुमा राखेर हेर्छन । त्यसो भएको हुनाले हामी समस्त नेपालीले हिजो माओवादीको नेतृत्वमा संविधानसभामा भएको जङ्गली र बर्बर आक्रमणलाई निन्दा गरेको भएपनि अरुले हेर्दा हामी सबै नेपाली त्यस्तै प्रवृति बोकेको पो छौं कि भन्ने भान परेको छ । केही सीमित अराजक पशु व्यवहारका मानवले गरेको ताण्डवले बाहिरी दुनियाँको अगाडि हाम्रो परिचय धमिलिएको भएपनि संविधानसभामा भएको घटनाले माओवादी र मधेसवादीको असली रुप उदाङ्गो भएको छ भने एमाले र काँग्रेसको जनपक्षधरता अनि लोकतान्त्रिक चरित्र समेत झनै उज्यालो भएको छ । अझै विशेषगरी एमालेको जिम्मेवारीपन अनि अग्रगमनप्रतिको दृढता प्रष्टै भएको छ । नेपाली नेपालीबीचमा भावनात्मक एकता भएको, सबै जनताको निम्ति अधिकार भएको, सबैले अवसर पाउने वैज्ञानिक संघियता भएको मुलुक वनाउने एमाले र काँग्रेसको एजेन्डा नै उपयुक्त रहेको मनन गर्न जनता बाध्य भएका छन् । जनताको पक्षमा संविधान बनाउन बिरामी शरीर लिएर पनि सक्रिय रहने केपी ओली नै संविधान वनाउन नदिन संविधानसभालाई रणमैदान बनाउने पुष्पकमल दाहाल उर्फ प्रचण्डको बीचको भेद प्रष्ट भएको छ ।

संविधानसभामा माओवादी र मधेसवादीको आक्रमणमा परेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बिद्या भण्डारी घाइते भएको खवर आयो । राजनीतिक प्रस्तुतिमा जस्तै दृढ भएपनि पनि शारीरिक रुपमा ओली अनि भण्डारी त्यति धेरै तन्दुरुस्त छैनन् भन्ने सबैलाई थाहा छ । राजनीतिक अवस्था अहिलेको जस्तो प्रतिकुल अनि चुनौतिपूर्ण नभएको भए उनीहरु अहिलेजस्तै सक्रिय नदेखिन पनि सक्थे होलान तर देशले भुमिका खोजेको बेलामा उनीहरुले शारीरिक आराम खोजेका छैनन् । अनि त्यस्तो नेताहरुलाई आक्रमण गर्नु कतिसम्म खेदजनक छ ? त्यस आक्रमणले एमालेका कार्यकर्तालाई कति आक्रोशित बनायो होला ? अहिले एमाले सिङ्गो देशको नेतृत्व गरिरहेको छ, राष्ट्रियता र जनअधिकारको साँचो अर्थमा रखवाली गरिरहेको छ, एमाले अहिले भावनात्मक रुपमा विभाजित हैन एकीकृत छ । अनि यस्तो अवस्थामा आफ्ना नेताहरुमाथि भएको आक्रमणको प्रतिकार गर्न एमालेका कार्यकर्ता कति जोसिएका थिए होलान ? हिजोको आक्रमणको बारेमा देख्ने, सुन्ने अनि पढ्ने सबैलाई लागेको थियो होलाकी कि एमालेले अब माओवादी अनि कथित मधेशवादीहरुलाई जस्ताको तस्तै जवाफ दिनेछ । एमालेका कतिपय कार्यकर्ताहरुले पनि सोचेका थिए होलान कि अब पार्टीले जस्तालाई त्यस्तै ढंगले प्रतिकार गर्ने उर्दी जारी गर्छ भनेर । तर एमालेले त्यसो गरेन । एमालेले सदाझैं जिम्मेवारीपूर्ण व्यवहार गर्यो, संविधानसभामा आफूमाथिनै आक्रमण भएको अवस्थामा पनि एमाले अध्यक्ष केपी ओलीले अत्यन्त शालीन प्रतिक्रिया दिए । एमालेका अन्य नेताहरुले पनि कुनै प्रकारको भड्काउ अभिव्यक्ति दिएनन, समयमा लोकतान्त्रिक संविधान बनाउन सकेसम्म सहमति कायम गरेरै अगाडि बढ्ने आफ्नो चाहना प्रष्ट पारिदिए । कतिपयलाई लाग्यो होला कि एमालेले नसकेर माओवादीको प्रतिकार गरेन, अनि कतिपयलाई लाग्यो होला कि यत्रो जनसमर्थन भएको अवस्थामा पनि माओवादीको आक्रमणको मुतोड़ जवाफ नदिएर एमालेले गल्ति गर्यो । यद्यपि ती दुवै बुझाईहरु सत्य हैनन् किनकी नेकपा एमालेको समर्थक, शुभचिन्तक अनि सदस्यहरुको संख्या यति व्यापक छ कि एमालेले चाहने हो भने नेपालको कुनै पनि शक्तिसँग सजिलै मुकाविला गर्न सक्छ । तर एमाले त्यस्तो गर्दैन किनकी एमाले हिंसा र आतंकमा विश्वास गर्दैन, एमाले आराजक ढंगले प्रस्ट हुने कुरालाई आफ्नो शक्ति हैन कमजोरीको रुपमा वुझ्छ । यद्यपि त्यसो भन्नुको मतलव एमाले जसले जे गरे पनि सहेर बस्छ भन्ने चाहिं हैन ।

संविधानसभामा आफ्नो पार्टीको अध्यक्षमाथि आक्रमण हुँदा पनि शालीन रहेको एमालेलाई जस्तोसुकै अवस्थामा पनि चुप लागेर बस्छ भन्ने कसैले ठानेको छ भने त्यो गलत हुनेछ । एमाले जनताको पार्टी हो त्यसैले यदि जनताको पङ्क्तिमाथि धाबा वोलियो भने एमालेले सशक्त प्रतिकार गर्नेछ । सबैले वुझ्नुपर्छ विगतदेखि अहिलेसम्म एमालेले सहँदा जनताको हित हुन्छ भन्ने ठानेको अवस्थामा सहेको छ र प्रतिरोध र प्रतिकार गर्नुपर्छ तब मात्रै जनताको हित हुन्छ भन्ने ठानेको अवस्थामा त्यसो पनि गरेको छ । हिजो माओवादीको ज्यादती गाउँगाउँमा चलेको वेला यदि कुनै पार्टी गाउँगाउँमा जनताको दुखसुखमा साथ दिएर वसेको थियो भने त्यो एमाले नै थियो । हिजो निरङ्कुश राजतन्त्रले असोज १८ अनि माघ १९ जस्ता कदमका आडमा जनताको अधिकारमाथि धावा वोल्दा यदि कुनै पार्टीले हिम्मतका साथ सुरुबाटै त्यसको प्रतिवाद गरेको थियो भने त्यो एमाले थियो । एमाले आफू जलेर पनि जनतालाई उज्यालो दिंदै आएको पार्टी हो । पहिलो संविधानसभामा तत्कालिन माओवादीले हिंसा र आतंकको बलमा चुनाव जितेको थियो, जनताको समर्थन हुँदाहुँदै पनि एमालेले चुनाबमा जनताको समर्थनको रक्षा गर्न पाएको, सकेको थिएन । स्वयं पार्टी महासचिव माधव नेपालले चुनाव हार्नु परेको थियो । चाहेको भए एमालेले निर्वाचनमा माओवादीले मच्चाएका वितण्डाको फेहरिस्ता सार्वजनिक गर्दै निर्वाचनको परिणाम अस्विकार गर्न सक्थ्यो, हामी जस्ता सर्वसाधारण त भन्छौं त्यस्तो गर्नुपर्थ्यो । तर एमालेले त्यसो गरेन किनकी एमालेले जनताको शान्तिको चाहना बुझेको थियो, अनि माओवादीको फरेवी जितलाई दुत्कार्दा हैन त्यसलाई मुटु माथि ढुङ्गा राखेर भएपनि स्वीकार्दानै शान्ति हुने बुझेको थियो । आखिर एमालेले बुझेको सत्य ठहर भयो, एमालेले आफूलाई बलिदान गरेर पनि मुलुकलाई माओवादीको सेना र हतियारको चंगुलबाट मुक्त गरायो । सायद त्यसैले पनि होला अहिले एमाले यति धेरै लोकप्रिय भएको अनि यसका नेता यति धेरै सम्मानित भएका ।

भनिन्छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । संविधानसभामा भएको आक्रमण पनि नेपालको राजनीतिमा देखिएको कालो बादलनै थियो अनि त्यस कालो बादलको किनारामा देखिएको चाँदीको घेरा चाहिं माओवादी र मधेशवादी मोर्चाको अराजकताले आक्रोशित र उत्तेजित पार्न नसकेको एमाले र कांग्रेसको नेतृत्वको जिम्मेवार व्यवहार । उक्त आक्रमणको विरुद्धमा सिङ्गो मुलुक एकजुट हुनुले के देखाउंदैछ भने अब मुलुकमा अतिवादको वास्तविक समाप्ति हुनेछ, अब नेपालमा कुनै प्रकारको हिंसा र आतंकको गुन्जायस छैन । त्यस्तो देखिनुको पछाडिको कारण के भने अहिले हिंसा र आतंकको बलमा राजनीतिलाई बन्धक वनाउन तम्सिएका माओवादी अनि कथित मधेशवादीलाई जनताको खासै समर्थन छैन अनि एमाले र काँग्रेस जसलाई जनतको समर्थन छ उनीहरुमा हिंशा र आतंकले देशको परिवर्तन हुन्छ भन्ने पटक्कै विश्वास छैन् । हिन्दीमा एउटा भनाइ छ- ‘देर से आए दुरुस्त आए (ढिलै भएपनि राम्रो होस्), अहिले नेपालको राजनीतिक परिदृश्यमा कमजोर हुँदै गएको माओवादी अनि परास्त हुँदै गएको उसको हिंसात्मक सोच देख्दा लाग्छ हाम्रो मुलुकमा पनि त्यही हिन्दी भनाइ सत्य भैरहेको छ । आशा गरौँ, आगामी दिनमा माओवादी अनि उसका आसेपासेहरुको वाँकी रहेको ढोंगको पनि पट्टाक्षेप हुँदै जाओस, अरु पार्टीहरुको सकारात्मक सोच र व्यवहारहरु धेरै भन्दा धेरै जनताले महसुस गर्न पाउन ।