एकीकृत नेकपा माओवादीले इतिहासमै एउटा महाभूल गरेको छ । नेपाली जनताको आशाको केन्द्र संविधानसभामा सोमबार मध्यरातमा एमाओवादीका सभासद्ले गरेका वितण्डाले आज हामी सम्पूर्ण नेपालीको शिर निहुरिएको छ । देश विदेशका संचारमाध्यम र सामाजिक सञ्जालका लागि नेपालको संविधानसभा सनसनीपूर्ण खबर बनेर छाइरहेको छ । जनताको अभिमत कुल्चने र संविधानसभा भवनमा लज्जास्पद कार्य गर्ने यस्ता सभासद् र तिनका नेतृत्वलाई कुरीकुरी भन्ने बाहेक अरु अब केही बाँकी रहेन् । अझ नेपाली राजनीतिको मियोका रुपमा देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, मोरङ क्षेत्र नम्बर १ का सभासद् ऋषि पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र मर्यादापालकहरुमाथि संविधानसभा भवनमै गरिएको आक्रमणको त जति खेद व्यक्त गरे पनि पुग्दैन् ।
पटकपटक छलफलमा जुटेका प्रमुख दल र मधेशी मोर्चाका विषयमा सकारात्मक सन्देश सञ्चार भइरहेको थियो । कमसेकम राजनीतिक दलहरु मिल्छन् र माघ ८ गते नै संविधान नआए पनि केही सातामै संविधान आउँछ भन्ने आशा जनतामा थियो । युद्धबाट विस्तृत शान्ति सम्झौता हुँदै एमाओवादीलाई ठूलो पार्टी बनाउन समेत नेतृत्व लिएका प्रचण्डको पार्टी अहिले जुन हैसियतमा भएपनि उनको हैसियत भने समकालिन नेताहरुको तुलनामा उच्च नै थियो । किनकी प्रचण्डसँग जनताका केही विश्वास कायमै थियो । तर, दिनहरु बित्दै जाँदा प्रचण्ड यतिसम्म गिर्दै गए कि, हुँदाहुँदै प्रतिकारका नाममा संसदमै तोडफोड र कुटपिटको वातावरण सिर्जना गर्न उक्साए ।
केपी ओली भन्दा प्रचण्ड नै बलिया होलान् । प्रतिद्वन्द्वीसँग लड्ने कला पनि प्रचण्डले युद्धका क्रममा सिकेर आएकै होलान् । तर, कपालमा टल्किने ‘जेल’ हाल्दै कोट पाइन्टमा ठाँटिए पनि प्रचण्ड भन्दा पछिल्ला दिनमा त्यही ‘रोगी’ केपी ओलीकै वरिपरि नेपालको राजनीति घुमेको थियो । अर्थात केपी ओली नेपाली राजनीतिको मियो बनेर उभिएका थिए । मानिसले तर्कले नजितेपछि गर्ने त्यही हो, जुन प्रचण्डले गरे । ओलीको तर्क र अडानसँग डराएका प्रचण्डले प्रतिकारका नाममा ओलीमाथि नै आक्रमण गर्दा उनको असली रुप जनताले फेरि एकपटक हेर्ने मौका पाएका छन् । ओलीको राजनीतिक उचाइ, तर्क र अडानका सामु जित्न नसकेपछि प्रचण्डले भौतिक आक्रमण रच्नुले उनको हैसियत प्रष्टै देखिएको छ । किनकी ओलीमाथिको आक्रमण नियोजित थियो भन्ने पुष्टि एमाओवादीको प्रचण्ड गुटकै नेता गोपाल किराँतीले संचारमाध्यममार्फत अभिव्यक्त गरिसकेका छन् ।
हुन त पुष्पकमल दाहालसँगको जनताको विश्वास यसअघि नै स्खलित भएको हो । तर, पछिल्लो समयमा वार्ताका नाममा आएका सकारात्मक सन्देशले जनतामा केही आशा भने पलाएको थियो । त्यो आशा पनि अब मरेको छ । एमाओवादीलाई थाहा थियो, संविधान बन्यो भने उसको समाप्ती नजिकिँदै थियो । किनकी एमाओवादी झन् पछि झन् जनतामा गिरेको थियो, त्यसको प्रमुख कारण एमाओवादीका अध्यक्ष प्रचण्ड नै थिए । दिनमा एउटा कुरा अनि रात बितेपछि अर्को कुरा गर्न खप्पीस प्रचण्डसँग जनता आजित छन् । जात–जातमा विभाजन ल्याउने, ‘एक मधेश प्रदेश’ को नाममा षडयन्त्रको भासमा प्रचण्ड यसरी भासिए कि अब कहिल्यै त्यो खाडलबाट माथि उठ्न नसक्ने गरी दबिए ।
सबैभन्दा ठूलो पार्टी र सरकारमा पनि आफ्नो नेतृत्व हुँदाहुँदै पहिलो संविधानसभाको विघटन एमाओवादीले नै गरेको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने हुँकार पनि उसैले गरेको हो । तर, त्यो हुँकारलाई जनताले कुल्चिदिए । अर्थात एमाओवादीको एजेण्डालाई संविधानको दोस्रो चुनावबाट जनताले अस्वीकार गरिदिए । कहिले चुनावमा धाँधलीको नाटक रच्ने त कहिले जनताबाट अस्वीकृत दलहरुसँग घाँटी जोड्ने प्रचण्ड कुनै पनि हालतमा काँग्रेस र एमालेको हालीमुहाली हुँदा संविधान आएको देख्न चाहँदैनथे । दोस्रो संविधानसभामार्फत जनताले एमाओवादीलाई होइन्, काँग्रेस र एमालेलाई संविधान बनाउनका लागि अभिमत दिएका हुन् । अर्थात काँग्रेस र एमालेको एजेण्डालाई जनताले सदर गरिदिएका हुन् । तर, चुनावमा जाँदा दुई तिहाईको नारा लगाउने, चुनावी घोषणापत्रमा त्यही लेख्ने एमाओवादीले संविधानसभाको मतपरिणामपछि धाँधली भयो भन्दै गरेको रुबावासी पनि धेरै दिन टिकेन । केही मधेशी र जनताले नामै नसुनेका दलहरुको मोर्चा बनाएर एमाओवादीले गरेको ‘बाग्रेनिङ’ पनि कसैले सुनिदिनेवाला थिएन । चुनावमा जाने, तर हार नस्वीकार्ने, आफ्नो ‘साइज’ पनि थाहा नपाउने एमाओवादीले सहजै संविधान बन्न नदिने त यसअघिका उसका गतिविधिले नै छर्लङ पारिसकेको थियो ।
हुन त एमाओवादीले यसअघि पनि संसदमै बिफ्रकेस नखोसेको होइन् । युद्धकालमा जनतालाई प्रहरीका बन्दुक खोस्न सिकाउने माओवादीले एमालेका तत्कालिन वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री भएका बेला तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस खोस्दै संसदमै आक्रमण गरेको थियो । त्यतिबेला मन्त्री पाण्डेलाई जोगाउन खोज्दा तत्कालिन मन्त्री प्रकाशशरण महतमाथि समेत आक्रमण भएको थियो । आखिर एमाओवादी यो देशका जनतालाई कस्तो संस्कार सिकाउन चाहन्छ ? यही हो, नेपालबाट अन्य राष्ट्रले सिक्ने ? यही ताण्डवका लागि बलिदानी दिएका थिए ती हजारौं हजारौँ नागरिकले ?
अर्कोतर्फ, जनतालाई अहिले चाहिएको संविधान हो । बस् दलहरु मिलुन अनि संविधान ल्याइदिऊन, जनतालाई यत्ति भए पुग्छ । कस्तो संविधान आउँछ ? त्यसमा के–के शब्द लेखिएलान भन्नेमा अधिकांश जनताको त्यतिधेरै सरोकार छैन् । किनकी संविधान आएको भोलिपल्टै जनताको जीवनमा कायापलट आउने पनि होइन् । संविधान बनोस्, अनि देश एउटा गतिमा अघि बढोस्, अस्थिरता अन्त्य होस् भन्ने मात्र जनचाहना हो । यदि संविधानका विषयवस्तुमा चित्त नबुझे प्रचण्डले नयाँ जनमत लिएर संशोधन पनि गर्न सक्थे । चुनाव एकपटकका लागि मात्रै होइन् । ताजा जनमत लिने छुट त उनलाई जहिल्यै पनि छ । तर, जनचाहनालाई बुझ्ने चेष्टा प्रचण्डले कहिल्यै गरेनन् । परिणामतः नेपालको इतिहासमै एउटा कालरात्री मच्चाए । नेपालको इतिहासमा सोमबारको मध्यरात सँधै कलंक बनेर रहिरनेछ । जसले प्रचण्डलाई सँधै धिक्कारिरहनेछ ।














प्रतिक्रिया