काठमाडौं, २ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा मधेशका ठेकेदार नबन्न मधेशी दलहरुलाई चुनौती दिनुभएको छ ।
भक्तपुरस्थित आफ्नै निवासमा रिपोर्टर्स क्लव नेपालको ज्ञापनपत्र बुझ्दै एमाले अध्यक्ष ओलीले आफू पनि मधेशकै प्रतिनिधि भएको बताउनुभयो ।
‘मेरो निर्वाचन क्षेत्र पनि मधेसकै हो, मैले पहाडबाट प्रतिनिधित्व गरेको छैन । माधव नेपालले तराईबाट जित्नुभएको छ । तराईमा मेरो पार्टीले ३६–३७ सिट जितेको छ । तराईका सबै पार्टीको जोड्दा भन्दा तीन गुणा हाम्रो मत छ ।’, एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अनि मान्छेहरू मधेस विरोधी भनेर नगरा पट्छन् । को हो मधेसको ठेकेदार ?
मधेसका केही जमिन्दारहरुले तीतो पोखेको भन्दै उहाँले संविधानसभा निर्वाचनमा तराईका जनताले एमालेलाई नै भोट दिएको बताउनुभयो । राज्यबाट नभई त्यहीँका ठूला एवं सामन्तले मधेशमा शोषण र विभेद गरेको ओलीको तर्क छ ।
अध्यक्ष ओलीले पहाड र तराईलाई छुट्याउने र जातीय आधारमा संघीयता कुनै पनि हालतमा नमान्ने बताउनुभयो । ‘एक मधेस एक प्रदेश’ पनि कुनै हालतमा स्वीकार्न नसकिने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले सहमतिका लागि एमाले हरेक विकल्पमा छलफल गर्न एमाले तयार रहेको बताउनुभयो । ुअहिलेको संविधानबाट ‘अन्तरिम’ शब्द हटाएर त्यसैलाई जारी गर्न सकिने काँग्रेस नेता शेरबहादुर देउवाको प्रस्तावमा पनि छलफल गर्न सकिने उहाँको कथन थियो ।
दलहरुबीच सहमति नभए माघ ८ मा संविधान जारी गर्न केही कठिन रहेको भन्दै उहाँले संविधान जारी गर्ने दिन केही पर सर्न सक्ने बताउनुभयो ।

एमाओवादीप्रति कठोर प्रहार गर्दै अध्यक्ष ओलीले एमाओवादीको मोर्चामा १०५ दल भए पनि कार्यकर्ता भने ११० रहेको टिप्पणी गर्नुभयो । एमाओवादीकै दोहोरो चरित्रका कारण संविधान आउन नसकेको उहाँको कथन थियो ।
उहाँले भन्नुभयो– ‘८० प्रतिशतको कुरा नमान्ने २० प्रतिशतको कुरामात्रै मान्ने काम हुन सक्दैन । संविधान जारी गर्न सहमति गर्नुपर्ने बेलामा १०५ दलको मोर्चा किन बनाउनु पर्यो ? एमाओवादीले १ वर्षभित्र संविधान दिन्छु भनेर गरेको भिष्म प्रतिज्ञा कता हरायो ?’
उहाँले एमाओवादीको नियत पहिलादेखि नै माघ ८ मा संविधान जारी गर्न नदिने रहेको ठोकुवा गर्दै एमाओवादी नेताकै नेतृत्वमा रहेको राजनीतिक संबाद समितिले सहमतिको नाममा समय घर्काएको आरोप लगाउनुभयो । ओलीले भन्नुभयो– ‘यस्तो तालले सहमतिको कुरा गरिरहने हो भने १०० वर्षसम्मपनि संविधानजारी हुँदैन ।’
ओलीले विधि प्रक्रियाबाट गरौँ भन्दा रगतको खोला बगाउँछौ भन्नेहरु कुनै पनि हालतमा संविधान आउन नदिने पक्षमा रहेको दावी गर्नुभयो ।
ओलीले भन्नु्भयो– विवादमा रहेका सुनसरी, मोरङ्ग, झापा, कैलाली र कञ्चनपुरलाई थाँती राखेर, अन्य सहमति हुन नसकेका विषयलाई पनि थाँती राखेर संविधान जारी गर्न हामी तयार छौ । यदि अन्तरिम संविधानकै हानिकारक विषयहरु हटाएर जनताको मौलिक हक सुनिश्चित हुने गरी संविधान जारी गर्ने हो भने पनि हामी त्यसमा तयार छौ ।’ ओलीले विवादित पाँचवाट जिल्लालाई भने कुनैपनि हालतमा मधेश र पहाडवीच सम्बन्ध विच्छेद नहुने गरी यथावत राखेर पनि एमाले संविधान जारी गर्नका लागि तयार रहेको बताउनुभयो ।















प्रतिक्रिया