मेरो बज्यैले भनेको सम्झन्छु– माघे संक्रान्ति अर्थात माघ १ गते बिहानै नुहाउँदा धर्म हुन्छ । धर्म मात्रै होइन, पहिले नुहाउने मान्छे गाईको दूध जस्तै पवित्र हुन्छ । यस्ता कुरा गाउँका हरेक घरमा हुँदा रहेछन्, त्यसैले बिहानै नुहाउने प्रतिस्पर्धा अघिल्लो दिनदेखि नै हुन्थ्यो ।
मेरो गाउँबस्तीमा माघीको महत्व पुस १५ मा ढकाल्ने रोटी खाएपछि शुरु भैहाल्थ्यो । खास गरेर पुस १६, १७ देखि हामी ५–६ कक्षा पढ्ने केटाहरू जंगलमा गएर चेलत्यारी मुढा बटुल्न थाल्थ्यौ । माघीमा छोरीहरूको खास सम्मान हुन्थ्यो । विवाह गरेर टाढा गइसकेकी छोरीलाई सेलपुरी, अयर्सा, तिलको लड्डु, तरुल लगायतका राम्रा राम्रा पकवान माघ महिनाभरी पुर्याउने चलन छ। त्यसैले पनि चेलीको तिहार भएकोले छोटोमा माघे संक्रान्तिलाई चेलत्यार वा मुढालाई चेलत्यारी मुढा भनिन्छ । म पनि हरेक वर्ष अछामको कालिमाटी रहेकी मेरी कान्छी फुपुलाई माघीको कोसेली लिएर जान पाउँदा निक्कै उत्साहित हुन्थेँ । अरू दुई फुपु तराईतिर बस्ने भएकोले चेल्त्यारी पुगाउने अवसर पाइएन । विवाहित चेलीले कोसेली नपाउनुको अर्थ कि माइतीमा कोही हुन्न थियो, कि कोही कोही मरेर यसवर्ष जठो परेको छ ।
गाउँका पाका तथा अगुवा महिला पुरुषले हामीलाई एक हिसावले गाइड गरेका थिए । ‘मुढा ल्याउने काम तिमीहरूको उमेरका केटाको हो’ भन्थे अनि हामीमा तछाडमछाड चल्थ्यो– गाउँको छेउमा रहेको पँधेरोमा मुढा थुपार्ने । उतिवेला गाउँ छोडेर मलवारा अर्थात कैलाली, कञ्चनपुर छिर्ने लहर चलेको थियो । त्यसैले हामी ४–५ जना भुराले सम्भवतः ३०–४० मुढाको खात पँधेरोमा थुपार्नु पर्दथ्यो । अहिले त झन गाउँ सुनसान छ, त्यसैले मेरो कान्छो काकाले भन्दै थिए– आजकल घरघरबाट मुढा उठाएर बाल्ने गरेका छौ ।
संयोगले हामी माथिल्ला काप्रितोलावासी निक्कै भाग्यमानी छौ, किनकी बजुराको वाह्रबीस गाविसमै हाम्रोमा गाउँ नजिकै पूर्खाले अझ भन्ने हो पदमबहादुर शाह दोकानदारीले जोगाएको राम्रो घना जंगल थियो । त्यसैले मुढाको अभाव कहिल्यै हुँदैन थियो । माघीको मुढा भनेपछि रुख नकाट्न कडीकडाउ गरेको याद छैन । हामी भुराले आफ्नो क्षमताले बोक्नसक्ने मुढा आफै ल्याउथ्यौ, नसक्ने ल्याइदिन उमेरले हामीभन्दा ठूलालाई आग्रह गर्दथ्यौ ।
मुस्किलले बटुलेका मुढा बाल्ने चाङ वनाउन भने अझ पाका लोग्नेमान्छेको सहयोग अनिवार्य जस्तै हुन्थ्यो । पुसको अन्तिम दिन मसान्तीका साँझसम्म हाम्रो सहयोगमा चेल्त्यारी मुढाको चाङ आकाश छुने जस्तै गरेर तयार भैसक्थ्यो । मुढा राम्ररी जल्लान् भनेर हामीले स–साना दाउरा, पराल यस्तै झ्याङको जोहो पनि गर्दथ्यौ । माघमा बज्यैको पहलमा हाम्रो घरमा श्रीस्वस्थानी भन्ने चलन थियो । गाउँका धेरै सुन्न आउथे । कान्छोबुवा नहुँदा त्यो पढेर सुनाउने जिम्मा मेरोमा आइपुग्थ्यो । बज्यैलाई मैले पढेको अझ निको लाग्ने रहेछ क्यारे, त्यसैले अरुभन्दा बढी मैले नै पढ्ने अवसर पाउथे । त्यसैमा कुमारले सुमेरु पर्वत परिक्रमा गरेको गणेशले नसकेको पढिन्थ्यो । मलाई चेल्त्यारी मुढा संकलन गर्न मज्जा र रमाइलो लागे पनि नबाल्दासम्म सुमेरु पर्वत परिक्रमा गर्न नपाएका गणेश भगवानकै जस्तो पीडाबोध भइरहन्थ्यो ।
चेल्त्यारी मुढाको चाङ तयार भएपछि हामी सवै प्रायः एउटै घरमा सुत्दथ्यौँ । ताकि बिहानै उठेर अरु गाउँभन्दा चाँडो चेल्त्यारी मुढा बाल्न सकौ । हाम्रो सल्लाह १ वजे उठेर नै मुढा बाल्ने हुन्थ्यो । त्यसो हुँदा वल्लोपल्लो गाउँको भन्दा चाँडो होस । तर सँधै हामीभन्दा चाँडो हाम्रो गाउँबाट पूर्वमा रहेका वुढीगंगा नदी पारीका पुर्भुता, पन्धारा, छतारामा मुढा बलेको देखिन्थ्यो । मेरो सम्झनामा हामी कहिल्यै पहिले मुढा वाल्ने सूचीमा दर्ज हुन सकेनौ । तर आफ्नै वरीपरीका गाउँ तल्ला काप्रीतोला, डुंग्रीतोला भन्दा भने धेरै पटक अघि भएका थियौँ ।
मुढा बाल्न शुरु गरेपछि जोरजोरले कराउने हुन्छ । कुनै कुनै वर्ष भने हामी तल्ला काप्रीतोला, डुंग्रीतोलाकाले मुढा वालेर कराएर सुनेपछि अर्थात् उनीहरूले जीत हासिल गरिसकेपछि मात्र उठेर मुढा बाल्न जान्थ्यौँ । त्यस्तो वर्ष हामी हार भएको अनुभव भएर उत्साह कम हुन्थ्यो । धेरै पटक अर्काको गाउँमा गएर उनीहरू उठ्नु अघि नै उनीहरूका मुढा जलाइ दिने योजना बनाउँथ्यौ, तर कहिल्यै सफल भएनौ । अर्काका मुढा बाल्नु बहादुरी मात्र होइन जायज पनि मानिथ्यो ।
अरु गाउँको तुलनमा मुढा बाल्नेमा बज्यैले भन्ने शव्द फस्ट हुन नसके पनि नुहाउनमा भने म धेरै पटक फस्ट भएको छु । पहिला नुहाएर म दूध भए, दोस्रोमा नुहाउने दही, त्यसपछि मही, अनि पानी भए भन्दै पँधेरोको अलि पर माथि रहेको चेल्त्यारी मुढा जलाउँथ्यौ । हामीले नुहाइ सकेपछि गाउँका महिला र पाका पुरुषहरू नुहाएर आगो ताप्ने गर्दथ्ये । माघलाई निक्कै धर्म कर्मको महिना हो भन्ने हामीलाई वुझाइएको थियो, साउनमा जन्मनु र माघमा मर्न अघिल्लो ‘जुनीमा धर्म कमाउको हुनुपर्छ’ भन्ने थियो त्यसैले माघभर माछा, मासु, अण्डा खानु बर्जित हुन्थ्यो तर धनगढी आएपछि भने थारु संस्कार अनुसार थारु पत्रकारहरुसंगको संगतले माघको पहिलो दिन अथवा संक्रान्तीमै मासु त्यही पनि पाएपछि वंगुरको खान थालेको छु । पँधेरोमा हामीले बालेको चेल्त्यारी मुढाको आगो ३–४ दिनसम्म रहन्थ्यो । चेल्त्यारी मुढा बाल्न शुरु गरेपछि हाम्रो फुर्ति निक्कै रवाफिलो हुन्थ्यो । अनि हामी अघिल्लो दिन पकाइएका पकवानहरू माग्न घरघर टहल्दथ्यौ त्यो दिन सवै घरबाट खुसी राजीले हामीलाई विभिन्न पकवान दिन्थे । सायद यी मूल्याहरूले चेल्त्यारी मुढा खेडेर ल्याए बाले, हामीले पनि नुहाइधुवाइ गरेर आगो ताप्न पायौँ, पापी भएनौ भनेर मन खोलेर खाने कुरा दिएका होलान कि । चेल्त्यारी मुढा खोज्ने, बाल्ने मेरो उपक्रम ०५३ सालमा एसएलसीको परिक्षा टुंगिएको जस्तै भएको छ । त्यसपछि त्यस्तो अवसर जुरेको छैन तर सम्झना सँधै आँखामा झलझल्ली हुन्छ ।
लेखकः नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हुन ।














प्रतिक्रिया