काठमाडौं, २ माघ । प्रक्रियामा जानुपर्ने सत्तापक्षको दबाब र प्रक्रियामा जानै नदिने सत्ताबाहिरका दलको तयारीका कारण संविधानसभा बैठक तनावपूर्ण हुने देखिएको छ।
सहमति जुट्न नसकेपछि सत्तासीन कांग्रेस, एमालेलगायत दलले संविधानका विवादित विषय मतदानबाट टुंग्याउने प्रक्रिया सुरु गर्न सभाध्यक्ष सुवास नेम्बाङलाई दबाब दिएका छन् भने एमाओवादीसहित सत्ताबाहिरका दलले प्रक्रिया अघि बढ्नै नदिने निर्णय गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
संविधान, नियम र स्थापित अभ्यासअनुसार अघि बढ्ने धारणा राख्दै आएका सभाध्यक्ष नेम्बाङ विवादित विषयको टुंगो लगाउन प्रश्नावली समिति बनाउने तयारीमा जुटेका छन्।
कांग्रेस९एमालेका सभासद्ले प्रक्रिया सुरु गर्न भन्दै शुक्रबार बैठक बस्नुअघि दुई तिहाइ बढी सभासद्को हस्ताक्षर बुझाउने एमाले सभासद् प्रकाश ज्वालाले जानकारी दिए ।
शुक्रबार बैठकमा तनाव हुन सक्ने भन्दै संविधानसभाले सतर्कता अपनाएको छ।
संवाद समितिको प्रतिवेदनमाथि सामान्य छलफल गराएर समिति गठन गर्न सचिवालय अघि बढेको स्रोतले बतायो।
एमाओवादी प्रमुख सचेतक गरिराजमणि पोखरेलले सहमति नहुने प्रकियामा आफूहरुको समर्थन नरहने बताए।















प्रतिक्रिया