राधाकृष्ण देउजा / समाचार टिप्पणी
भनिन्छ, बेलामा सही निर्णय लिन नसक्दा थुप्रैले आफ्नो भविष्यलाई अन्धकारतर्फ धकेल्छन् । नेपालको वर्तमान राजनीतिलाइ नियाल्ने हो भने विभाजित भएपनि एकीकृत भनिने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यही गर्दैछन, जानेर वा नजानेर काकताली परेर भएपनि नेपालको राजनीतिमा सृजित आफ्नो स्थान झन झन गुमाउंदै छन् । माओवादीहरुको शव्दमा जनयुद्ध भनिएपनि २०५२ साल देखि ६२–६३ सालसम्म चलेको माओवादीको हिंसा नेपाली राजनीतिको एउटा विडम्वनापूर्ण कालखण्ड थियो । उक्त कथित जनयुद्धले नेपाली जनतालाई पीडा सिवाय केही दिएन, समग्र नेपालको विकासक्रमलाइ पचासौं वर्ष पछाडि धकेली दियो, २०४६ सालको जनान्दोलनले दरबारको चार घेरामा सीमित गरेको राजतन्त्रलाई जनताको अधिकारमा गिद्धेदृष्टि लगाउने शक्ति दियो । कसैले माने पनि नमाने पनि प्रजातन्त्र संस्थागत हुन नपाउंदै सुरु भएको माओवादीको कथित युद्धले राजनीतिलाई स्वाभाविक मार्गमा अगाडि बढन दिएन, फलस्वरूप राजनीतिमा उर्जावान जनताको पंक्ति आउने अवस्था बन्नै पाएन अनि भएकाहरु पनि माओवादीको बढ्दो हिंसा र दरबारको चढ़दो शक्तिको भोकको सामु निस्तेज हुँदै गए । माओवादीको हिंशात्मक गतिविधि अनि सत्तामा रहेकाहरुमा देखिएको भ्रष्ट प्रवृतिले जनतामा असन्तोष र वितृष्णा सृजना गरायो, जसको बलमा दरवार एक पछि अर्को षडयन्त्रमा लाग्दै गयो, परिणामतः हामीले असोज १८, माघ १९ जस्ता प्रतिगामी कदमहरुको सिकार बन्न पर्यो । यस्तो सबै नकारात्मक परिणामका कारक माओवादी भएपनि जनताको ऐतिहासिक जनआन्दोलन ६२–६३ संगै माओवादीको निम्ति खुल्ला राजनीतिको ढोका खुलेको थियो । जनताको शान्तिप्रतिको चाहना अनि तत्कालिन अवस्थामा माओवादीलाई बलियो वनाउन सक्दा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने कांग्रेस नेतृत्वको हचुवा रणनीतिले माओवादीलाई आफ्ना कथित लडाकुहरुलाई आफ्नै पकडमा राखेर, हतियार आफ्नो कब्जामा राखेर चुनावमा जाने अवसर मिलेको थियो । माओवादी हार्दा देशमा रक्तपात हुने धम्की सम्पूर्ण जनतालाई दिइयो, ठाउँ–ठाउँमा अन्य पार्टीका कार्यकर्ता अनि उम्मेदवारहरुलाई धम्क्याउने काम गरियो, जसको परिणाम पहिलो संविधानसभामा माओवादी ठूलो दल बन्न पुग्यो । त्यसको नेता हुनुको नाताले पुष्पकमल दाहाल उर्फ प्रचण्ड मुलुकको शक्तिसम्पन्न नेता भए । संयोगमै भएपनि उनको सामु मुलुक बनाउने अवसर आएको थियो, तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन् वा जानेनन् र परिणामतः अहिले उनीसँग दुइटा विकल्प छन् : पहिलो आफ्नो गलत निर्णय र व्यवहारलाइ सच्याउने र भविष्य उज्यालो बनाउनेतर्फ लाग्ने र दोश्रो गलत नै भएपनि आफ्नो निर्णयमा अडिग हुने र राजनीतिक रुपमा समाप्त हुने ।
राजनीतिमा सदैब सफल हुन सकिन्न, सदैब वाह–वाह पनि पाइदैन । सदैव जनताको पक्षमा इमान्दारितासाथ काम गर्दा त थरीथरीका आरोप खेप्नुपर्छ । तर, जनतालाई आतंकित गर्ने, जनताको इच्छा चाहनालाई आफू अनकुल व्याख्या गर्ने गरेर राजनीतिमा प्रभुत्व जमाई राख्ने सपना देख्नु मुर्खता शिवाय केही हैन । अहिले प्रचण्ड त्यही मुर्खता गरिरहेका छन् । कथित जनयुद्धको थालनीदेखि त्यसको अन्त्यसम्म माओवादी जहाँ–जहाँ पुग्यो, त्यहाँ–त्यहाँ राज्यको घोषणा गर्दै हिड्थ्यो । कोचिला राज्य, थरुहट, ताम्सालिङ , लिम्बुवान, नेवा लगायत सम्झनानै गर्न नसकिने राज्यहरुको घोषणा गरेको थियो माओवादीले । तर अहिलेसम्म आइपुग्दा माओवादीले थुप्रै हण्डर ठक्कर खाइसकेको छ, त्यसका नेताहरु सत्ता र शक्तिविनाको जीवनको कल्पना गर्न छोडेका छन् । त्यसैले अहिले पुष्पकमल दाहालले आफूलार्इ मधेशको मसिहा ठान्ने केही मधेशवादी दल भनिने सामन्तीहरुसँग मोर्चा बनाएका छन् अनि अहिले उनलाई तरार्इमा भूगोलको आधारमा अनि पहाडमा जातको आधारमा राज्य चाहिएको छ । बाइसे–चौबिसे राज्य राख्नु गलत भयो भनेर सबै मिलेर बस्ने एउटा सिंगो बलियो राज्य बनाउनुपर्छ भन्ने चिन्तन भएका नेपाली जनताले माओवादीले वकालत गरेको जस्तो राज्य न हिजो चाहेका थियो न आज चाहेका छन् । उनीहरुले चाहेको त कसैलाई भेदभाव नहुने, सबैले अवसर पाउने नेपाल हो जहाँ जनताले राज्यको उपस्थिति खोज्न तीन दिनको यात्रा गर्न नपरोस् । जनताले चाहेको त त्यस्तो नेपाल हो जहाँ नेपाली जनताले नागरिकता बनाउन घुस खुवाउनु नपरोस, जहाँ नागरिकता लिन हप्तौं कुर्न नपरोस् । जनताले चाहेको नेपाल भनेको त सबैका छोराछोरीले राम्रो विद्यालय र कलेज पढ्न पाउने कुराको ग्यारेन्टी भएको नेपाल हो । तर। पुष्पकमल दाहाल अनि उनको मोर्चालाई जनताको चाहनाको के मतलब हुनु ? उनीहरुलाई त केवल भएको शितल निवासदेखि संघीय राज्यमा बन्ने कैयौं निवासहरुमा आफू र आफ्नालार्इ पुर्याउने चिन्ता छ । यद्यपि जनताको इच्छा चाहनाको खिलाफ हुँदाहुँदै पनि राजनीतिको केन्द्रिय शक्ति बन्ने चाहना अब पुरा हुनेवाला छैन । यो सत्य माओवादी अध्यक्ष पुष्पकमलले जति छिटो महसुस गर्छन् उनलाई त्यतिनै फाइदा छ । उनले बुझ्नुपर्छ कि नेपाली जनता हिंसा चाँहदैनन, जनता विभाजन हैन् एकता चाहन्छन्, त्यसैलेनै हो, जनताले दोश्रो संविधानसभामा माओवादी अनि कथित मधेशवादी दलहरुलाई भन्दा ज्यादा एमाले र कांग्रेसलार्इ विश्वास गरेको । जनतालाई थरिथरिको नामको राज्य हैन्, शिक्षा, स्वास्थ अनि रोजगारीको ग्यारेन्टी चाहिएको छ, जुन कथित मोर्चाले भनेको जस्तो संविधान बनाउँदा सम्भव छैन् । जनता वैज्ञानिक संघियताको पक्षमा छन्, त्यस्तो संघियता जसले राज्यको अर्थतन्त्रलाई कमजोर हैन बलियो बनाओस । त्यसैले पुष्पकमल दाहाल प्रचण्डले जान्ने हो भने अहिलेको कथित मोर्चा भङ्ग गर्ने हिम्मत गर्नुपर्छ र जनताको चाहना बमोजिम समयमा लोकतान्त्रिक संविधान जारी गराउन भूमिका खेल्नुपर्छ ।
राजनीतिमा लाग्ने भनेको जनताको सेवामा समर्पित हुने हो, त्यसैले आफूलाई राजनीतिकर्मी भन्नेले आफ्नो हैन देशको फाइदामा आफ्नो फाइदा देख्न सक्नुपर्छ । हाम्रो मुलुकमा पनि त्यस्ता नेताहरु छन् जसले देशको फाइदाको निम्ति आफु घाटा व्यहोर्न तयार भए, अपमान सहन तयार भए अनि आफूले दुख पाएर, अपमान सहेर भएपनि देशलाई राहत दिलाए । आफूले जस्तोसुकै कष्ट सहनु पर्दा पनि देश र जनताको पक्षमा उभिएर राजनीतिक सफलता अनि असफलता दुबै देखेका एउटा पात्रको उदाहरण लिनुपर्दा पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काफी हुन्छन् । माओवादीको हिंसा र आतंक छायाँमा सम्पन्न अघिल्लोपटकको संविधानसभाको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी बन्यो, स्वयं माधव नेपालले पराजय भोग्नुपर्यो तर पनि उनी बिचलित भएनन् । तत्कालिन अवस्थामा सेनापति रहेका रुक्मांगत कटवालले भनेका छन् कि माओवादीले फैलाएको आतंकले गर्दा उनीहरु चुनाव जित्दैछन् भनेर उनले तत्कालिन सरकारलाई अवगत गराएका थिए, गिरिजाप्रसाद कोइरालालाई भेटेर निर्वाचन सार्न वा स्थगित अनुरोध गरेका थिए । स्वाभाविक छ कि तत्कालिन अवस्थामा सरकारमा रहेको पार्टीको नेता हुनुको नेताले माधवकुमार नेपाललाई माओवादी रवैया र त्यसको परिणाम थाहा थियो तर पनि उनले उत्तेजित भएर संविधानसभाको निर्वाचन स्थगित गर्न भनेनन् । त्यति मात्रै हैन, निर्वाचनको परिणाम अप्रियनै भएपनि स्वीकार गरेर लोकतन्त्रप्रतिको आफ्नो सम्मान प्रकट गरे । चाहेको भए वा गैरजिम्मेवार भएको भए उनी अनि उनको पार्टी पनि निर्वाचनको दौरान भए गरेका ज्यादतीको पर्दाफास गर्दै परिणामनै नस्विकार्ने तहमा जान सक्थ्यो तर त्यस्तो गरिएन किनकी माधव नेपाल अनि उनले नेतृत्व गरेको पार्टीलाइ थाहा थियो कि जनता शान्ति चाहन्छन र जनताको त्यो चाहना पूरा गराउन आफू बलिदान हुन पछाडि हटनु हुँदैन । आखिर एमाले–काँग्रेसले देखाएको सहनले काम गर्यो, मुलुक शान्त भयो । निर्वाचनमा पराजय व्यहोरेकै भएपनि मुलुकको आवश्यकताले त्यही संयोजनकारी नेता माधव नेपाललाई शान्ति प्रक्रिया टुंगाउने समयको प्रधानमन्त्री हुने अवसर दियो, उनले आफ्नो भूमिका बखुबी निभाए । जब मुलुकको राजनीतिमा फेरी अन्योलको अवस्था देखियो तव माधव नेपालले वहुमतको साथ रहेको अवस्थामै पनि सरकारको प्रधानमन्त्री पदबाट राजीनामा गरिदिएर मुलुकको राजनीतिक समस्या समाधानको निम्ति मार्ग प्रसस्त गरिदिए । जनताको केवल जनताको बारेमा चिन्ता गर्ने माधव नेपाल प्रधानमन्त्री पदबाट राजीनामा गर्दा पनि शक्तिहीन भएनन बरु अझै लोकप्रिय भए, जनताको बीचमा । परिणाम पहिलो संविधानसभामा पराजित भएको भनेर अनेकन अपमानजनक पदवी पाएका माधव नेपाल दोश्रो संविधानसभामा दुइटा निर्वाचन क्षेत्रबाट निर्वाचित भए । यहाँ माधव नेपाललाई हैन जनतालाई नै आफ्नो शक्ति मान्ने एउटा पात्रको चर्चा गरिएको हो, त्यस्तो पात्रको जसले कुनै शक्ति केन्द्रको आशिर्वाद विनानै, कुनै प्रकारको तस्करको सहायता विनानै, कुनै प्रकारको मिडियावाजी विनानै राजनीतिको केन्द्रमा आफूलाई उभ्याउन सफल भैरहेको छ । पुष्पकमल दाहाल कहिले माधव नेपालसँग फिल्म हेर्न गएको खवर आउँछ त कहिले आफ्नो पार्टी छोडेर गएको नेता (मोहन वैद्य) लाई भेट्न पनि माधव नेपाललाई लिएर गएको खवर आउँछ , राजनीतिको उल्टो यात्रा गरिरहेका दाहालले नेता नेपाललाइ लिएर हिँडने मात्रै हैन् उनीसंग सिक्नुपर्छ । राजनीतिमा लाग्नेलाई जनताले नियालिरहेका हुन्छन, जनताको आँखामा उत्कृष्ट गर्नेलाई जनताले सडकबाट सत्तामा पुर्याउन सक्छन् भने रछ्यानमा पनि पुर्याउन सक्छन् । यो सत्य प्रचण्डले जति छिटो बुझ्छन त्यतिनै उनलाई फाइदा हुन्छ ।
सिक्नको निम्ति राम्रै मात्रै कुरा हुँदैनन्, सिक्नेले नराम्रो पनि सिक्न सक्छ । त्यो कुरा प्रचण्डलाई पनि लागू हुन्छ उनले पनि राजनीतिमा नकारात्मक प्रवृति र पात्रबाट शिक्षा लिएको पनि हुनसक्छन् । पृथ्वीनारायण शाहले बिभाजित अवस्थामा रहेको हाम्रो मुलुकलाई एक बनाएको हुनाले हाम्रो मुलुकले उनका नाति–पनातिहरुलाई राजा–महाराजा हुने मौका दिएको थियो । हामी जनताले पनि राजा–महाराजाहरुलाई एक हदसम्म मानेकै थियौं । अधिकार बाँडफाँडको विषयमा समय समयमा संघर्ष भएको भएपनि जनताले करिब २४०वर्षसम्म राजतन्त्रको उन्मुलन हुनुपर्छ भन्ने कुरा गरेका थिएनन् । निरङ्कुश हुँदै संवैधानिक भएर भएपनि राजतन्त्र गतिशील थियो तर शक्तिको भोकमा अन्धो भएका काकताली राजा ज्ञानेन्द्रले माओवादीको आतंक र दलहरुमा देखिएको भ्रष्ट प्रवृतिको अन्त्यको सपना देखाउंदै जनताको अधिकार खोसेपछि राजा र जनता आमनेसामने हुने स्थिति बनेको थियो । तत्कालिन अवस्थामा राजतन्त्रको हित चाहने केही सीमित मान्छेहरुले हिम्मत गरेर तत्कालिन राजालाई जनताको अधिकारमा आँखा नलगाउन सल्लाह दिएका थिए तर शक्तिको आडमा अन्धो राजाले उनीहरुको सल्लाहलाई राजतन्त्रप्रतिको अनादरको रुपमा व्याख्या गरे । राजा तीव्र वेगमा जनताको अधिकार खोस्दै गए, परिणाम के भयो ? लेखिरहनै परेन । अहिले देशलाई एकताबद्ध हैन् विभाजित गर्न, देशलाई अग्रगमनतर्फ हैन पश्चगमनतर्फ डोहोर्याउन उद्दत पुष्पकमल दाहाललाई पनि उनका हितैसीहरुले भनेको हुनुपर्छ देश र जनताको हितमा लाग्न । अहिलेसम्मको उनको गतिविधि हेर्दा लाग्छ ज्ञानेन्द्रले जस्तै उनि पनि दीर्घकालसम्म उनको भलो हुने सल्लाहलाई नजरअन्दाज गर्दैछन् वा गलत ढंगले वुझ्ने गल्ती गर्दैछन् । तर उनी र उनलाई गलत मार्गमा हिँड्न प्रेरित गर्नले बुझ्नुपर्छ गलत कर्मको फल गलतनै हुन्छ ।
भनिन्छ, समय आउँछ पर्खिदैन । अहिले संविधान निर्माणको पक्षमा पूरै देश गोलबन्द हुँदै गएको अवस्था हो । समयमा संविधान निर्माणका पक्षधरहरुको कार्यक्रमहरुमा देखिने जनताको लहर अनि समयमा संविधान आउन नदिनेहरुले आयोजना गरेको कार्यक्रमको बेहाल अनि बन्दको उल्लङ्घनले जनताको चाहना के हो भन्ने प्रष्ट पारेको छ । तसर्थ अब प्रचण्डले रोज्नुपर्छ उनी जनताको पक्षमा उभिने र आफ़ूलाई फेरी राजनीतिको केन्द्रमा ल्याउन निरन्तर जनताको सेवा गर्ने माधव नेपालको जस्तो जनपक्षीय राजनीतिज्ञ हुने कि गलतनै भएपनि आफ्नै राग अलाप्ने ज्ञानेन्द्र जस्तो बादशाह बन्ने र छिट्टै सक्किने ?
















प्रतिक्रिया