१ कार्तिक २०८३, शनिबार

जुनियर प्रहरीका लागि आवास बन्दै, २ सय ७८ लाई मासिक निवृत्तिभरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077काठमाडौं, ३० पुस। अवकाश पाउन लागेका प्रहरीलाई खुसीको खबर छ ।

अवकाशपछि पनि विभिन्न पेसा र व्यवसायमा आबद्ध हुन सहयोग पुग्ने गरी प्रहरी संगठनले निस्शुल्क तालिम दिने भएको छ ।

अवकाश पाउन लागेका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निस्शुल्क तालिम दिन ‘तालिम तथा सीप विकास’ कार्यक्रम सुरु गर्न लागेको हो ।

प्रहरी कल्याण कोषअन्तर्गतको कल्याणकारी कार्यक्रमअन्तर्गत यस्तो तालिम दिन लागिएको हो ।

तालिम लिन इच्छुक प्रहरीहरूसँग केही दिनअघि प्रहरी मुख्यालयले आवेदन मागेको छ ।

‘०७२ सालमा अवकाश पाउने प्रहरीलाई लक्षित गरी पहिलो चरणको तालिमको कार्यक्रम सुरु गर्न लागिएको छ,’ प्रहरीको कल्याण कोषका प्रमुख एसएसपी लव विष्टले भने, ‘अवकाशपछि पनि विभिन्न पेसा व्यवसायमा आबद्ध होऊन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो ।’ उनका अनुसार प्रहरीको इच्छाअनुसारको तालिम दिइनेछ ।

अनिवार्य अवकाश पाउने तथा पेन्सन अवधि पुगेर स्वेच्छिक अवकाश लिनेहरूले पनि यस्तो तालिम लिन सक्नेछन् ।

प्रहरीले सम्बन्धित क्षेत्रका विज्ञमार्फत प्रहरीलाई तालिम दिनेछ ।

गत मंगलबार तालिम लिन इच्छुकले १५ दिनभित्र निवेदन दिन प्रधान कार्यालयले आग्रह गरेको छ ।

२ सय ७८ लाई मासिक निवृत्तिभरण
नेपाल प्रहरीबाट अवकाश पाएका २ सय ७८ जनाले मासिक निवृत्तिभरण पाउने भएका छन् ।

७० वर्ष उमेर पुगेका अवकाशप्राप्त प्रहरीलाई कल्याण कोषअन्तर्गत यसै वर्षदेखि निवृत्तिभरण दिन थालिएको छ ।

महिलालाई एक हजार तथा पुरुषलाई मासिक सात सयका दरले निवृत्तिभरण दिने निर्णय भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

७० वर्ष उमेर पार गरेका पूर्वप्रहरी २ सय ७८ भेटिएको कल्याण शाखाले जनाएको छ ।

जुनियर प्रहरीका लागि आवास बन्दै

प्रहरीले कल्याण कार्यक्रमअन्तर्गत सिपाही र हवल्दारका लागि आवास निर्माणको प्रक्रिया अघि बढाएको छ ।

सामाखुसीमा २ सय ५० प्रहरीको परिवारलाई पुग्ने गरी आवास निर्माण प्रक्रिया अघि बढाइएको हो ।

जवान र हवल्दारले न्यूनतम भाडा तिरेर आवासमा बस्न सक्नेछन् । सिनियर प्रहरीका लागि पनि योजना बनाइएको छ ।