झापा, २८ पुस । झापा चन्द्रगढीका व्यापारीहरुले बन्दको प्रतिकार गरेका छन् । प्रतिकारका क्रममा झडप हुँदा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ ।
‘गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे’ जस्ता व्यानर बोकेर व्यापारीहरु बन्दको विरोधमा सडकमा उत्रिएका थिए । झडपमा अन्य दुईजना घाइते भएका छन् ।
झडपपछि अहिले चन्द्रगढी भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । तीस दलीय गठबन्धनले गरेको मधेस बन्दले पूर्वाञ्चलको तराई क्षेत्रमा बिहानैदेखि व्यापक रूपमा असर गरेको थियो ।
झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि यात्रुवाहक बसलगायत निजी सवारी पनि ठप्प भएका छन् । बन्दको प्रभाव विद्यालय र उद्योगमा पनि परेको छ ।
एमाओवादी मधेसी मोर्चालगायत ३० दलीय गठबन्धनले पहिचानसहितको सङ्घीयताको माग गर्दै आज मधेस बन्दको आह्वान गरेको हो ।















प्रतिक्रिया