२८ आश्विन २०८३, बुधबार

अमेरिकाले हामीलाई किन लोभ्याउँछ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-thapa

मानिस स्वभावले लोभी हुन्छ । लोभी हुनु नकारात्मक हैन । लोभ भएन भने मानिसले जीवनमा निक्कै कुराहरु गुमाउन पनि सक्दछ । अमेरिका आउन चाहना राख्नु पनि एक प्रकारको लोभ नै हो । अमेरिका आउन लोभ लाग्छ, अमेरिकाले लोभ्याउँछ र यहाँ आए पछि मानिस लोभिन्छ ।

पर्यायवाची शब्दमा लोभ्याउने भनेको सम्मोहक गर्ने र मोहनी लगाउने भन्ने बुझिन्छ । मानिसलाई धेरै कुरामा लोभ लाग्न सक्दछ । तर देशको चर्चा गर्नु पर्दा विश्वकै शक्तिशाली र धनी राष्ट्र अमेरिकाले सबैलाई मोहनी लगाउँदछ ।

अमेरिकालाई पाताल पनि भन्ने गर्छौ । पृथ्वी गोलो छ यो ध्रुब सत्य हो । र ,यो गोलो पृथ्वीको जुन भागमा हाम्रो मुलुक छ र जहाँ हामी बस्छौँ, त्यसको ठ्याक्कै मुनि अमेरिका पर्छ । दिनको फरकको कारण नेपालमा दिन हुँदा अमेरिकामा रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भन्ने गरिन्छ । र ,यस अर्थमा अमेरिकालाई पाताल नामाकरण गरिएको हुन सक्छ । अमेरिकाको भूमिमा यस्तो चुम्बकीय शक्ति छ, एक पटक त्यो चुम्बकले आफूतिर तानेपछि कोही पनि हत्तपत्त उम्कन सक्दैन ।

नेपाल अब जान्छु, गई हाल्छु, छिट्टै जान्छु, अर्को साल जान्छु, छोराछोरीको पढाई सकेर जान्छु, छोरा र नातिको बिबाहपछि जान्छु भन्ने थेगो धेरै सुनिन्छ । बर्षौ अगाडि नेपाल जान्छु भनेको व्यक्ति खोज्दै जाने हो भने सेरोफेरोमा भेट्न सकिन्छ । नेपालमा असल आयआर्जन भएका र आर्थिक सम्पन्न भएका व्यक्तिहरुको मुखबाट यस्ता शब्द सुनिन्छ । तर बस्दै जाँदा त्यो शब्द हराउँदै जान्छ । कहिले त्यसो नभनेका व्यक्ति अचानक फर्केको आंकडाले देखाउँदछ ।

अमेरिकामा व्यक्तिले सम्झौता गर्दै जान्छन किनभने मानिसले जे पनि प्राप्त गर्न सक्ने वातावरण र अवसर मिल्ने हुन्छ । काम गर्ने व्यक्तिलाई अमेरिकामा नेपाल जस्तो राजनीतिले छुँदैन । काममा राजनीतिको गफ चुट्न पाइदैन । त्यसैले अमेरिका प्रति माया बस्दै जान्छ र क्रमशः स्थायी बसोबास गर्दै जान्छन ।

अमेरिकाले ब्रह्माण्डभर यत्रतत्र छरिएर रहेका सबैलाई आफूतिर तानिरहेको हुन्छ । अमेरिकाको जति नै खोट देखे र नकारात्मक संज्ञा दिए पनि अधिकांशले आफ्नो जीवनचक्र अविरल रुपमा अगाडि बढाइरहेका हुन्छन । अमेरिकाको माया जालमा पर्दछन ।

अमेरिकोको माटो नै यस्तो छ कि मानवको खुट्टा यस धर्तीमा पर्न साथ छोड्नै मन लाग्दैन । बिस्तारै यहीँको माटोमा बस्न रुचाउँछन । एकपटक यहाँको हावापानी लागेपछि यतै बस्न मन लाग्न थाल्छ । अमेरिका आएका सबैमा यो कुरा लागु हुने भन्ने चाँही कदापी हैन ।

अमेरिकाबाट हजारौँ हजार नेपाल फर्केका छन र फर्कि रहन्छन । अमेरिका लोभ्याउने राष्ट्रमा अग्रपंक्तिमा आउँछ । बालकदेखि बृद्धसम्म अधिकांशको अन्तिम इच्छा अमेरिका आउने चाहना हुन्छ । बिद्यार्थीहरुमा अध्ययन गर्ने चाहना राख्ने गन्तब्य मुलुक नै अमेरिका पहिलो राष्ट्र पर्दछ ।

सन्तानको उज्जवल भबिष्य तथा आफू स्वयमको लागि पनि भबिष्यको खातिर अमेरिका छनौटमा पर्दछ । मानिस आर्थिक सम्पन्नता हुने चाहना राख्दछ । जहाँ भबिष्य देख्दछ त्यहाँ पलायन हुन्छ । र ,यसको लागि अमेरिका नै सबैभन्दा उत्तम मुलुक बन्न पुगेको छ ।

अमेरिका अवसरहरुको भुमि हो । र, इच्छा गरे सपना साकार हुन्छ । काम पुजा हो भन्ने सिद्धान्तमा चलेको हुन्छ । जो मेहनत गर्छ उसको भविष्य सुनिश्चित हुन्छ ।

मानिस राष्ट्रभक्त र देशभक्त प्रति मरिमेट्ने भएतापनि अब मानिस अवसरको लागि ज्यादा राष्ट्रभक्तमा मात्र अल्मलिन चाहँदैन । बिश्वब्यापीरुपमा आएको बसाईसराईको बाढीले नेपालीहरुको मानसिकतामा ठूलो परिवर्तन ल्याएको छ । पहिलो पुस्ताका अमेरिका छिरेकालाई देशको मायाले भतभत पोल्छ किनभने जीवनको स्वर्णिम कालखण्ड आफ्नो देशमा बिताएका हुन्छन तर दोश्रो पुस्तालाई यस्ता कुराले छुँदैन ।

अमेरिकाको नीति र पद्धतिले गर्दा परिवारलाई समेत संगै बस्ने कानुन निर्माण गरि दिएकोले यो लोभले गर्दा पनि अमेरिका प्रिय देश बन्न पुगेको छ ।

अमेरिकाका विभिन्न शहर, टोल, छर छिमेकीहरुमा नेपाली समुदायको जनघनत्व वृद्धिको कारण नेपालको टोल जस्तो हुन् थालेकोले मानिस रमाउन थाल्नको कारण अमेरिका भए पनि स्वदेश जस्तै वातावरण हुन् थालेकोले यहाँ बस्न मन लाग्न थालेको छ ।

कमाई चखाईले गर्दा कुनै पनि उमेरका पुरुष या महिलाको मृगतृष्णा मेटाई दिन्छ । जुन सम्भव अन्य देशमा विरलै हुन्छ । तर यहाँ अवसर पाइने सम्भावना हुन्छ । जीवनभर काम नगरेको व्यक्ति यहाँ आर्थिक सम्पन्न हुँदै जाँदा मन अडिन सुरु भैसकेको छ । र, यही कारणले मानिस यहाँ लोभिन्छ ।

अध्ययनपछि अमेरिका छोडी नेपाल फर्कनेको संख्या पनि निक्कै छ । तर अमेरिकामा पद्धति ,अवसर, वातावरण, सुबिधा र सुरक्षा रामो भएकोले मानिसलाई पूर्ण मोहनी लगाई दिन्छ । र, ,उज्जवलमय भबिष्य हुने अवस्था रहेकोले अधिकांशले अमेरिका छोडी मातृभूमि चट्ट फर्कन कोशिस गर्दैनन । र अवकाश जीवन पछिको क्षण यहाँ सुरक्षित लाग्दछ अनि यसरी नै यो देशप्रति श्रद्धा बढ्दै जान्छ । जन्मथलो नभए पनि कर्मथलो भनी स्वीकार गर्दै जाँदा मोह बढ्दै जाँदा अमेरिका असल लाग्दै जान्छ ।

दुई दशक अगाडिको जस्तो अमेरिका छैन । कुनै कुनै ठाउँमा नेपाली बस्ती बाक्लो हुँदा सानो नेपाल जस्तो पनि घरिघरि लाग्छ । यसले पनि नेपाली समुदायलाई लोभ्याउँदछ ।

कुन देश र कहाँ जन्मेको भन्ने कुरा अमेरिकामा गौण हुन्छ । सबैले समान अवसर पाउँछ्न । सरल जीवन पाउने भैसकेका छन् । अमेरिकाले प्रदान गरेको अवसर र मौका दिएको कारण अमेरिकाको चुम्बकीय शक्तिले नेपालीलाई पनि तानेको तानै गर्छ ।

उम्किन खोज्दा पनि अमेरिकाले मोहनी लगाएको लगाएकै गर्छ । र मातृभूमि फर्कन खोज्दा पनि सबैलाई लोभ्याएको लोभ्यायै गर्छ ।

अमेरिकाको भौतिक सुखसुबिधाले आकर्षित गरेको गरेकै हुन्छ । मातृभूमि जाउँ भन्दा पनि आखिर अमेरिकामा भासिएको भासियै हुन्छ । तर जे भएता पनि “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !”

लेखक अमेरिकामा कार्यरत नेपाली पत्रकार हुन् ।