दीपक घिमिरे
लुम्बिनी (रूपन्देही), २२ पुस । शान्तिको मुहान लुम्बिनीलाई विश्वमाझ चिनाउन सहयोग पुर्याउने उद्देश्यले विश्वका विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरूले लुम्बिनीको भ्रमण गरेका छन् ।
लुम्बिनी विकास कोषले सन् २०१४ लाई लुम्बिनी प्रवद्र्धन वर्षका रूपमा मनाएका बेला बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा राष्ट्र प्रमुखदेखि बलिउडका चचित अभिनेतासम्मले लुम्बिनीको भ्रमण गरेका छन् ।
विश्वमाझ लुम्बिनीको महत्व दिनप्रतिदिन बढ्दै गएकाले विश्वका शक्तिशाली व्यक्तिले लुम्बिनीको भ्रमण गर्ने गरेको कोषको ठम्याइ छ । लुम्बिनी भ्रमणका लागि आएका अधिकांशले लुम्बिनीबाट विश्व शान्तिको कामना गरेर फर्कने गरेका छन् ।
लुम्बिनीमा अति विशिष्ट व्यक्तिको आगमनका कारण विश्वमाझ लुम्बिनीको प्रचारप्रसार र प्रवद्र्धनमा ठूलो टेवा पुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।
आफ्नो मुलुकमा बसेर पनि लुम्बिनीलाई नजिकबाट नियाल्दै सहयोग पुर्याउँदै आउनुभएका श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षले गत वर्ष नोभेम्बर २५ मा लुम्बिनीको अवलोकन भ्रमण गर्नुभयो ।
सार्क सम्मेलनका लागि नेपाल आउनुभएका राष्ट्रपति राजापाक्ष त्रिभुवन विमानस्थलबाट सिधै हेलिकप्टरबाट लुम्बिनी आउनुभएको थियो । राष्ट्रपति राजापाक्षले लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै लुम्बिनीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो । साथै उहाँले श्रीलङ्काली सरकारले पुनःनिर्माण गरेको धर्मशाला र पुलको शिलान्यास पनि गर्नुभएको थियो ।
सरकार प्रमुख भएपछि दुई पटकसम्म लुम्बिनी आउनुभएका राजापाक्षले लुम्बिनीको विकासका लागि श्रीलङ्काली सरकारले आवश्यक सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभएको थियो ।
त्यसैगरी, डिसेम्बर १० मा नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले लुम्बिनीको भ्रमण गर्नुभयो । लुम्बिनी आउनुभएका राजदूत रेले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीस्थित मायादेवी मन्दिरको १०० मिटर उत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोप्ने भनिएको बोधिवृक्ष रोप्नुका साथै मायादेवी मन्दिर र तिलौराकोटकोसमेत अवलोकन गरेर फर्कनुभएको थियो ।
राजदूत रेले रोप्नुभएको बोधिवृक्ष अति जोखिमयुक्त क्षेत्रमा रोपेर गएको भन्दै उहाँको आलोचनासमेत भएको छ ।
त्यसैगरी, अक्टोबर २९ मा चीनको स्वशासित क्षेत्र तिब्बतका जनसरकार प्रमुख लाउसाङ जियनकनले पनि लुम्बिनीको अवलोकन गर्नुभएको थियो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोकस्तम्भ, अखण्ड शान्ति दीपको अवलोकन गर्नुका साथै समग्र लुम्बिनीबारे समेत जानकारी लिएर जानुभएको थियो ।
त्यसैगरी, युनिसेफले बालबालिकासम्बन्धी आयोजना गरेको कार्यक्रममा भाग लिन नेपाल आउनुभएका बलिउडका चर्चित अभिनेता अमिर खानलाई पनि लुम्बिनी नआई फर्कंन मन लागेन । बालबालिकाको पोषणसम्बन्धी कामका लागि कपिलवस्तु आउनुभएका सुपरस्टार खानले आफूमा बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने इच्छा जागेर लुम्बिनी आएको बताउनुभएको थियो ।
कार्यक्रमको सिलसिलामा लुम्बिनीको छोटो भ्रमण गर्नुभएका खानले अर्कोपटक परिवारै लिएर लुम्बिनी घुम्न आउने बताउनुभएको थियो ।
यसैवर्ष लामो समय प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर जेल जीवन बिताउनुभएकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीले पनि लुम्बिनीको भ्रमण गर्नुभयो ।
लुम्बिनी भ्रमणका लागि काठमाडाँैबाट हेलिकप्टर चढेर लुम्बिनी आउनुभएको प्रजातन्त्रवादी नेत्री सु कीले मायादेवी मन्दिरमा विशेष रूपमा पूजाआजा गर्नुका साथै लुम्बिनी गुरुयोजनाबारे विस्तृत जानकारीसमेत लिनुभएको थियो ।
त्यसैगरी, कम्बोडियाका शिक्षा मन्त्री, श्रीलङ्काका गृहमन्त्री तथा चीनका उच्च पदस्थ व्यक्तिले पनि लुम्बिनीको भ्रमण गरेको कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अतिरिक्त विश्वका थुप्रै मुलुकका विशिष्ट पाहुना, बौद्ध विद्वान र भिक्षुहरूले लुम्बिनीको भ्रमण गरेका थिए ।
नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमारको सितगु इन्टरनेशनल बुद्धिस्ट एकेडेमीको संयुक्त आयोजनामा नोभेम्बर १५–१७ सम्म लुम्बिनीमा भव्य रूपमा ‘बौद्ध सम्पदा र संस्कृतिको सुरक्षा, संरक्षण र सम्बद्र्धन’ विषयको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भयो । यो सम्मेलनमा सहभागी ३० देशका ४ सयभन्दा बढी बौद्ध भिÔु र विद्वानहरूबाट लुम्बिनीको महत्व र गरिमालाई अन्तर्राष्ट्रिय रूपमै उजिल्याउने कामसमेत भयो । रासस
















प्रतिक्रिया