काठमाडौ, २१ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले माघ ८ मै संविधान जारी हुने दाबी गर्नुभएको छ ।
उहाँले रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सहमतिका लागि अधिकतम प्रयास गर्ने नभए प्रक्रियामै गएर संविधान जारी गर्ने चेतावनी दिनुभयो ।
‘माघ ८ गते सहमति सहित संविधान जारी गर्ने पक्षमा हामी छौं,’ उहाँले भन्नुभयो, ‘तर सहमति भएन भने प्रक्रियाबाट संविधान जारी गरिन्छ त्यसमा दुई मत छैन ।’
उहाँले सभामुख सुवास नेम्वाङको प्रस्तावलाई गलत रुपमा नबुझ्न समेत आग्रह गर्नुभयो । ‘फास्टट्रयाक’ बाट संविधान ल्याउन सभामुखले गरेको प्रस्ताव मुलुकलाई संविधान दिने असल नियतले आएको दाबी पनि उहाँले गर्नुभयो ।
‘सहमति नभए संविधानसभा अध्यक्ष नेम्वाङले ल्याउने मस्यौदामा एमालेको समर्थन हुन्छ,’ उहाँले भन्नुभयो ।’
त्यसैगरी उहाँले माघ ८ गते पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने ठोकुवा गर्दै मार्सल, कफ्र्यु लगाएर संविधान जारी गर्ने भन्ने आरोप झुठको खेती भएको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने भन्दै मस्यौदा जारी गरेर जेठ १५ गते संविधान जारी गर्नु पर्ने बताउनुभयो ।
उहाँले माघ ८ गते संविधान जारी भए पूर्व सहमति अनुसार काँग्रेसले एमालेलाई सरकारको नेतृत्व छाड्ने स्पष्ट पार्दै संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने पनि उनले ठोकुवा गर्नुभयो ।















प्रतिक्रिया