काठमाडौँ, २१ पुस । नेपाली काँग्रेसको पदाधिकारी बैठकले माघ ८ मा नयाँ संविधान जारी गर्न राजनीतिक दलहरुसँगको संवाद तथा वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले सो मितिमा संविधान जारी गर्नुको अर्काे विकल्प नरहेको ठहर गर्दै यसका लागि दलहरुलाई गम्भीर र जिम्मेवार बन्न आग्रहसमेत गरेको छ ।
नेकाका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले संविधानका विवादित अन्तरवस्तुका बारेमा सहमति जुटाउन सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल, मधेसवादी दल तथा साना दलहरुसँग अधिकतम लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको नेका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेका शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली एवम् राज्यको पुनःसंरचनाका विषयमा लचकता अपनाउन तयार रहेको जानकारी दिनुभयो ।
नेकाका महामन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ मा संविधान जारी गर्न दलहरुले आ–आफ्ना अडान त्याग्नुपर्छ भन्नुभयो ।
बैठकमा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय सिंह र कृष्णप्रसाद सिटौलालगायतको सहभागितो थियो ।















प्रतिक्रिया