काठमाडौँ, २१ पुस । दलहरुले नै संविधान निर्माणका लागि घोषणा गरेको माघ ८ को मिति नजिक–नजिक आउँदै गर्दा दलहरु आ–आफ्नै तयारीमा जुटेका छन् ।
सहमति खोज्न काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीच भएका बाक्लै छलफलहरुले समेत ठोस निष्कर्ष निकाल्न नसकेपछि ती दल पेल्ने र ठोक्ने मुड देखिएका हुन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति गर्न दिएको समयसीमा समेत त्यत्तिकै गुजार्न लागेका ती दलहरु माघ ८ मा मुठभेड ल्याउने दिशातिर उन्मुख भएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको सोमबार बसेको बैठकले संविधानमा सहमतिको सम्भावना नभएको भन्दै भिड्नका लागि तयारी हालतमा रहनुपर्ने निष्कर्ष निकालेको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ती दलको मोर्चाको बैठकमा प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले अध्यक्ष केपी शर्मा ओली जबर्जस्ती भने पनि संविधानसभाभित्र प्रक्रिया थालेर संविधान जारी गर्ने मनस्थितिमा रहेको सुनाएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले कांग्रेस अझै अन्यौलमा रहे पनि एमाले कुनै पनि हालतमा एक थान संविधान जारी गर्न मुठभेडका लागि तयार भएको संकेत आफूले पाएको बताए ।
बैठकमा उनीहरुले काँग्रेस र एमालेले भित्रभित्रै संविधान बनाइसकेको भन्दै सुवास नेम्वाङ र केपी ओली पेल्ने मूढमा रहेको आशंका व्यक्त गरेका थिए ।
३० दलीय मोर्चाबीच काँग्रेस र एमाले निर्णयमा अडिग रहने र जबर्जस्ती प्रक्रिया शुरु गर्न खोजे भित्रै मुठभेड गर्ने र ठोक्ने सहमति भएको एक नेताले जानकारी दिए ।
यता काँग्रेस र एमालेले भने माघ ८ को डेडलाइनमा केही नहुनु भनेको सभाध्यक्षको असफलता हुने भन्दै नेम्वाङलाई उचालिरहेका छन् । ती दलका सभासदहरुको दबाव नेम्वाङमाथि तीब्र परेपछि उहाँ पनि त्यही प्रक्रियाको तयारीमा लाग्नु भएको बुझिएको छ ।
















प्रतिक्रिया