३० आश्विन २०८३, शुक्रबार

यूएईका शहर–शहरमा रुवाउँदै ‘बहादुर बहिनी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SONY DSC

उत्तम अधिकारी

दुबई, २० पुस । ‘जिन्दगीमा म कहिल्यै रोएको थिइन्, थाहा पाउने भएपछि पहिलोपटक रोएँ ।,’ दुबईमा डकुमेन्ट्री हेरिसकेपछि प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष प्रकाश कोइराला भन्दै थिए, ‘म आफूलाई कठोर सम्झिन्थें, तर बहादुर बहिनी हेरेपछि आफूलाई नियन्त्रण गर्नै सकिन् । मुटु नै भक्कानियो, डकुमेन्ट्री साँच्चै उत्कृष्ट रहेछ ।’

Documentary-show-UAE

कोइराला जस्तै बहादुर बहिनी हेर्न दुबईको एक होटलको हलमा अधिकांश भाबुक थिए । अझ यूएईकै सारजाहमा गरिएको कार्यक्रममा डकुमेन्ट्रीकी मुख्य पात्र सावित्री श्रेष्ठको संघर्षबाट दर्शकहरुले गहभरि आँशुमात्रै बनाएनन्, नेपालको दण्डहिनताप्रति गहिरो खेद समेत व्यक्त गरे । सारजाहमा डकुमेन्ट्री हेरिसकेपछि भावुक बनेका लमजुङका बाबुराम सापकोटाले आफू पनि माओवादीको तत्कालिन द्वन्द्वकै कारण विदेशिनु परेकाले डकुमेन्ट्री हेर्दा आफ्नो विगत सम्झेर रोएको बताए ।

Documentary_The Brave Sister

गणेश–उज्जन स्मृति प्रतिष्ठानले निर्माण गरेको ४० मिनेटको बहादुर बहिनीको निर्देशन पत्रकार गणेश पाण्डेले गरेका हुन् । २०५५ सालमा ओखलढुंगामा अन्तरजातीय बिहेकै कारण उज्जनकुमार श्रेष्ठको हत्या भएको थियो । भाइको हत्यामा संलग्नलाई कारबाहीका लागि प्रहरीमा जाहेरी दिँदा उज्जनका दाजु गणेशकुमार श्रेष्ठको २०५९ सालमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न अन्य दोषीलाई कारबाही भइसक्दा पनि एमाओवादीका नेता एवं पूर्वसभासद् बालकृष्ण ढुंगेललाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । खासगरि, यही घटनामा केन्द्रीत रहेको बहादुर बहिनीमा उज्जनकुमारलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको विभत्स हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, संसद र प्रधानमन्त्री निवास अगाडि भएको हंगामा, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।

अमेरिका, कतार लगायत विभिन्न देशमा देखाइएको यो डकमेन्ट्री अन्य देशबाट पनि प्रदर्शनका लागि माग भइरहेको निर्देशक पाण्डेले बताए ।