काठमाडौँ, १९ पुस । प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच नयाँ ढङ्गले छलफलको सुरुवात भएको बताउनु भएको छ ।
प्रधानन्यायाधीश रामकुमार साहलाई सम्मान गर्न शनिबार महोत्तरी परिवारले आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
‘सभामुखले दलहरुले सहमति नगर्ने हो भने आफूले निकास निकाल्ने भनेपछि हामीहरुका बीचमा नयाँ ढङ्गले छलफल सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘छलफलबाटै विवादित विषयका बारेमा टुङ्गो लाग्छ, कथंकदाचित निस्केन भने पनि माघ ८ मा नयाँ संविधान जारी हुन्छ ।’
उहाँले नयाँ संविधान जारी भएपछि आफू प्रधानमन्त्रीको पदमा नबस्ने समेत जानकारी दिनुभयो ।
‘म व्यक्तिगत रुपमा प्रधानमन्त्रीको आकाङ्क्षी थिइनँ तर समय, परिस्थिति र जनताको चाहनाले मात्र प्रधानमन्त्री भएको हुँ,’ उहाँले भन्नुभयो, ‘मेरो चाहना भनेको निर्धारित मितिमा संविधान जारी गर्नु, विकासको मुहान फुटाउनु र देशलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनु हो, यस कार्यमा म दिनरात खटिरहेको छु ।’















प्रतिक्रिया