काठमाडौं, १८ पुस । नेपाल टेलिभिजनको कर्मचारी भर्ना प्रक्रियामा पनि छानविन सुरु भएको छ ।
सरकारी संस्थान सरहको निकायमा अन्तर्वार्ताको भरमा अधिकृतस्तरका कर्मचारी छनौट गर्न थालिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सुशासन तथा राज्य व्यवस्था समितिमा छानविनका लागि उजुरी परेको छ ।
‘उजुरीका आधारमा प्रारम्भिक छानविन शुरु भइसकेको छ’ अख्तियारस्रोतले भन्यो, ‘सेवाकालिन प्रशिक्षणको नाममा कर्मचारी भर्ना गरी ६ महिनापछि करार गर्ने र पछि स्थायी नियुक्ति दिने तयारी रहेको देखिन्छ । टेलिभिजनकै विनियममा व्यवस्था भएको प्रक्रिया पनि अपनाइएको छैन ।’
टेलिभिजन सञ्चालक समिति बैठकको निर्णय नम्बर ४७२५ मा नियुक्ती प्रक्रियावारे असहमत सञ्चालकको राय पनि छानविनका क्रममा अख्तियार पुगेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
टेलिभिजनको सेवा शर्त विनियमावली अनुसार, अधिकृतस्तरका कर्मचारी छनौटका लागि लिखित, अन्तर्वाता र प्रयोगात्मक परिक्षा जरुरी पर्छ ।
तर टेलिभिजन व्यवस्थापनले १० जना संवाददातारप्रस्तोता, ५ जना क्यामेरापर्सन, २ जना ध्वनि नियन्त्रक र ५ जना दृश्य सम्पादकको पदपूर्तिका लागि प्रयोगात्मक परिक्षा र अन्तर्वार्तामात्रै लिने तयारी गरिएको छ ।
६ महिनाको सेवाकालिन प्रशिक्षणपछि छनौटमा परेका कर्मचारीलाई स्वतः स्थायी गर्ने तयारी गरेको सञ्चालक समितीका एक सदस्यले बताए ।
उनका अनुसार, ३५ दिने सूचना हुनुपर्नेमा दुई साताको समयावधि दिइएको थियो ।
‘नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रशारण (पिएसवी) को मोडेलमा लैजाने निर्णय भइसकेको अवस्थामा दीर्घकालिन रुपमा समाचार च्यानल सञ्चालन गर्न लागिएको हो’ ती सदस्यले भने, ‘तर अहिले हतार गरी हचुवाको भरमा छनौट प्रक्रिया अपनाइएको छ ।’
भर्ना प्रक्रियामा गठन भएको पदपूर्ति समितीमा पनि चलखेल भएको स्रोतले बतायो ।
टेलिभिजनको विनियम अनुसार, स्थायी पदपूर्ति समितीमा महाप्रवन्धक संयोजक, लोकसेवा र सञ्चार मन्त्रालयका प्रतिनिधी, टेलिभिजनकै नायव महाप्रवन्धक र प्रशासन महाशाखाको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
यसपटकको भर्ना प्रक्रियामा भने समितीमा कर्मचारी युनियन र पत्रकार महासंघका दुई सदस्य राखिएको छ भने लोकसेवाका प्रतिनिधिलाई आमन्त्रितको रुपमा बोलाउन सकिने निर्णय भएको छ ।
संसदको सुशासन समितीमा समावेशी प्रक्रिया नअपनाइएको अनुकुलतामा कर्मचारी छनौट गर्न मिल्नेगरी सूचना निकालिएको भन्दै उजुरी परेको छ ।
यसवारे प्रतिक्रिया लिन खोज्दा टेलिभिजनका अध्यक्ष नीर शाह सम्पर्कमा आउन चाहेनन् ।















प्रतिक्रिया