८ कार्तिक २०८३, आइतबार

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-flagकाठमाडौं, १६ पुस । राष्ट्रियता, प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली कांग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले आज देशभर विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छ ।

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले आफ्ना नेताहरु विक्रम संवत २०३३ मा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्किएको दिन पुस १६ गतेको स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायतका नेताहरू स्वदेश फर्किएका थिए ।

देशभित्रका समस्याको समाधान सार्वभौम जनताबाट नै गरिनुपर्दछ र त्यसका लागि उनीहरूलाई सचेत र जागरुक बनाउनुपर्दछ भन्ने उद्देश्यका साथ नेताहरू आफ्नो ज्यानको बाजी लगाएर स्वदेश फर्किएका हुन् ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आजकै दिन आफू माथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्कनुभएका बिपीले मुलकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

राजा महेन्द्रले विक्रम संवत २०१७ मा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेताहरुलाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

नेपालमा केही समय जेल जीवन बिताइ सकेपछि विक्रम संवत २०२५ मा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठवर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए ।

भारतको तत्कालीन विस्तारवादी नीतिबाट नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका बिपीलगायत नेताहरुलाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

प्रजातन्त्रको स्थापना र जनअधिकारका सन्दर्भमा राजा र काँग्रेस पार्टीका बीचमा द्वन्द भए पनि मुलुकको राष्ट्रियताका सवालमा राजतन्त्र र कांग्रेस एक हुनुपर्छ भन्ने मान्यतामा स्वदेश फर्किएका महामानव बिपी कोइरालालाई राजा महेन्द्रले भने अपराधीको झँै व्यवहार गरेर बन्दी बनाएका थिए ।

मुलुक र जनअधिकारको रक्षाका लागि कांग्रेसका नेताहरु ज्यानको बाजी लगाएर तथा मेलमिलापको नीतिका साथ स्वदेश फकिएको दिन हरेक वर्ष पुस १६ गते कांग्रेसले देशव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यसै सन्दर्भमा आज पुस १६ गते बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा र जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा समेत ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका बिपी कोइराला कुनै दल विशेषको मात्र नभई सम्पूर्ण मुलुककै राजनेताका रुपमा चिनिन्छन् ।

बिपीको राष्ट्रिय मेलमिलाप र एकताको सन्देश तत्कालीन राजनीतिक परिवेशमा मात्र नभई आज दलहरुको बीच देखिएको आपसी अविश्वास र असमझदारी हटाई निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माणका लागि पनि झन सान्दर्भिक देखिएको छ ।

राजनीति मात्र हैन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुराएको छ ।

नेपालमा बिपीले राजनीतिक अधिकारका रूपमा प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यापी जीवन्त र आवश्यक छ ।

लोकतान्त्रिक संविधान निर्माणका लागि दोस्रो संविधानसभाको निर्वाचन समेत भइसकेको अवस्थामा गणतन्त्र, शान्ति, सङ्घीयता र लोकतन्त्रको संस्थागत विकासका लागि सहमतिका साथ निर्धारित समयमै संविधान निर्माण गर्न यतिखेर सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वसमेत सम्हालेका कारण कांग्रेसकै काँधमा ठूलो जिम्मेवारी देखिएको छ ।