काठमाडौं, १६ पुस । संविधान निर्माणको छलफल छोडेर प्रमुख दलहरू आन्तरिक कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन नसकेका दलका शीर्ष नेता संविधानसभा अध्यक्षले बोलाएको परामर्श बैठकमा समेत सहभागी नहुने भएका छन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विवादित विषयमा छलफल गर्न बुधबारका लागि शीर्ष नेताहरूसहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।
तर, शीर्ष नेताहरूले प्रमुख सचेतक र सचेतकमार्फत बैठकमा सहभागी नहुने खबर पठाएका छन् ।
शीर्ष नेतासँगको बैठकको अघिल्लो दिन मंगलबार नेम्वाङले प्रमुख तीन दलसहितका ६ दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए ।
सोही क्रममा उनीहरूले शीर्ष नेता बैठकमा सहभागी नहुने सभाध्यक्षलाई जानकारी गराएका हुन् ।
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला बुधबार बिपी चिन्तन प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने भएकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
एमाले अध्यक्ष केपी ओली मेची अञ्चलका कार्यक्रममा सहभागी हुन काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसक्ने एमाले सचेतक राजन भट्टराईले सभाध्यक्षलाई बताएका थिए ।















प्रतिक्रिया