दुबई, १६ पुस । युएईको बरदुबई र शारजाहमा चर्चित डकुमेन्ट्री ‘बहादुर बहिनी’ प्रदर्शन गरिने भएको छ ।
प्रवासी नेपाली मञ्च यूएईको आयोजनामा बरदुबईको अल फाहिदी मेट्रो स्टेसन नजिकै फर्च्युन ग्राण्ड अपार्टमेन्ट होटेलमा बिहीबार साँझ ५ बजे (जनवरी १ तारिख) बहादुर बहिनी प्रदर्शन गर्न लागिएको मञ्चका महासचिव उत्तम अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी, जनवरी २ तारिख शुक्रबारका दिन यूएईकै शारजाहमा पनि प्रदर्शनको तयारी भइरहेको छ । यसका लागि समय र स्थान तय हुन बाँकी रहेको मञ्चका अध्यक्ष प्रकाश कोइरालाले बताउनुभयो । न्याय प्राप्तिका लागि असिम संघर्षको व्यथा बोकेको जीवन्त अभिनयसहितको मर्मस्पर्शी भएकाले डकुमेन्ट्री हेर्ने मौका नछुटाउन कोइरालाले आग्रह गर्नुभयो ।
यो डकुमेन्ट्री गत साता मात्रै कतारमा पनि प्रदर्शन गरिएको थियो । नेपालसहित अन्य देशमा पनि यो डकुमेन्ट्री प्रदर्शन भैसकेको छ । नेपालका धेरै जिल्लाहरुमा पनि प्रदर्शन भएर जनमानसको मन जितिसकेकाले छ ।
गणेश—उज्जन (भुवन) स्मृति प्रतिष्ठानले निर्माण गरेको यस डकुमेन्ट्रीको निर्देशन पत्रकार गणेश पाण्डेले गरेका हुन् । ४० मिनेटको ‘बहादुर बहिनी’मा अन्तरजातीय विहेकै कारण भाई उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले गरेको संघर्षलाई पर्दामा उतारिएको छ । २०५५ साल असार १० गते अन्तरजातीय विहे गरेकै कारण उज्जनको हत्या भएको थियो । भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका माइला दाइ गणेशकुमार श्रेष्ठलाई पनि २०५९ मंसिर ८ गते छोरी रचनाकै अगाडि गोली हानी मारिए । बाबुको विभत्स हत्याले छोरी रचनाले आफूलाई सम्हाल्न नसकी आत्महत्या गरिन् । एउटा घटनाले परिवारमा तीन जनाको ज्यान गएपछि सावित्री श्रेष्ठले गरेका संघर्ष, मिडिया र अधिकारकर्मीको संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, काठमाडौंको शरणार्थी जीवन, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्की, गल्ती छोप्न माओवादीले गरेको झुट, प्रलोभन, धम्की सनसनीपूर्ण विषयलाई समेटिएको छ ।














प्रतिक्रिया