काठमाडौं, १५ पुस । नेकपा माओवादीले नयाँ संविधान बनाउन नदिन आमहड्ताललगायतका संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रिय भेलाका निर्णय सार्वजनिक गर्न आज पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकारसम्मेलनमा नेकपा–माओवादीले माघ ८ गते सार्वजनिक गर्ने भनिएको नयाँ संविधानविरुद्ध आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गरेको हो ।
‘वर्गसङ्घर्ष, राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष र जनप्रतिरोधमा आधारित सङ्घर्षलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभा–२ द्वारा आगामी माघ ८ सम्म पश्चगामी तथा यथास्थितिवादी संविधान बनाउन खोजिएकामा त्यसप्रकारको संविधानसभाको विघटन र अधिकारसम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको गठनका लागि सङ्घर्षको कार्यक्रम दिइएको छ ।’
संघर्षका कार्यक्रमअनुसार नेकपा–माओवादीले माघ ३ गते पश्चगामी संविधानको खारेजीको माग गरेर आमहड्ताल घोषणाको कार्यक्रम राखेको छ ।
त्यसै गरी पुस २४ सम्म सङ्घर्षको तयारी, बैठक, प्रचारात्मक काम गर्ने जनाएको नेकपा–माओवादीले पुस २५ पूर्वञ्चलमा आम हड्तालको कार्यक्रम राखेको छ । पश्चिमाञ्चलमा पुस २७ गते, पुस २८ गते मध्यपश्चिमाञ्चल र पुस २९ मध्यमाञ्चलमा आमहड्तालको घोषणा गरिएको छ ।
माघ २ गते सबै जिल्ला सदरमुकामहरूमा बेलुकी जुलुस प्रदर्शनको कार्यक्रम रहेको विज्ञप्तमा उल्लेख छ ।
माघ आठ गते संविधान जारी गरिए माघ ९ गते सबै सदरमुकामहरूमा संविधान जलाउने नेकपा–माओवादीले चेतावनी दिएको छ ।
फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेकपा–माओवादीले युवा मार्च पास र काठमाडौंको खुला मञ्चमा जनसभा गर्ने जनाएको छ ।
त्यसै गरी, नेकपा–माओवादीले नेत्रविक्रम चन्द समूहमा विद्यमान विचारधारात्मक तथा राजनीतिक प्रवृत्तिलाई वाम रुपमा अभिव्यक्त दक्षिणपन्थी विचलनको आरोप लगाएको छ ।
दक्षिणपन्थी विचलनको आरोप लगाएको नेकपा–माओवादीले कमी, कमजोरी तथा विचलन सच्याई पुनः एकताबद्ध हुनका लागि ढोका खुलै राखिएको जनाएको छ ।















प्रतिक्रिया