वीरगन्ज, १५ पुस । सहरी विकास मन्त्री डा नारायण खड्काले दलहरुबीच सहमति भएर माघ ८ गते नै लोकतान्त्रिक संविधान जारी हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
संविधानसभाको निर्वाचनताका माघ ८ भित्र नयाँ संविधानको मस्यौदा ल्याउने सबै राजनीतिक दलको प्रतिबद्धता हो, नेपाल प्रेस युनियन पर्साले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा भन्नुभयो– दलहरुले जनतासामु गरेको प्रतिबद्धतालाई व्यवहारमा लागू गर्ने हो भने समयमै सहमतिसहितको संविधान ल्याउन सकिन्छ ।
मन्त्री डा खड्काले यदि माघ ८ गतेको निर्धारित समयमा संविधान जारी हुन नसके मुलुकमा अनिश्चितता, अराजकता, द्वन्द र निरासाको उत्पत्ति हुने बताउनुभयो । ‘यसले मुलुकमा ठूलो खतरा र दुर्घटनाको विजारोपण गर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले सकभर सहमतिमै, नभए प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी गर्नुपर्छ ।’
सबै दलको चुनावी घोषणापत्र र संविधानसभाको कार्यप्रक्रियामा पनि सकभर सहमतिमा जाने, नभए प्रक्रियामा गएर भए पनि निर्धारित समयमै संविधान जारी गर्ने उल्लेख गरेको स्मरण गराउँदै उहाँले सबैभन्दा उत्तम विकल्प सहमति र त्यो नभए प्रक्रिया वा जनमत सङ्ग्रहमा जान सकिने बताउनुभयो ।















प्रतिक्रिया