काठमाडौं, १५ पुस । कांग्रेस-एमाले सभासदहरु माघ ८ भित्रै नयाँ संविधान ल्याउन दबाबमूलक अभियानमा जुटेका छन् ।
एमाओवादीसहितका विपक्षीहरु संविधानसभाको प्रक्रिया छाडेर आन्दोलनमा उत्रने भएपछि यस्तो अभियान थालिएको हो ।
काग्रेसका केही प्रभावशाली सभासदले सोमबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई भेटी समयमै संविधाननिम्ति भूमिका खेल्न दवाव दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘संविधान निर्माणमा न सहमति न प्रक्रिया अघि बढ्ने अवस्था देखियो । यसले संविधानसभालाई नै बन्धक बनाएकाले सभाध्यक्ष चुप बसेर हुँदैन भनी हामी पुगेका हौं’, कांग्रेसका सभासद चन्द्र भण्डारीले कान्तिपुरसँग भने ।
जीवनबहादुर शाही, अर्जनु जोशी, ध्यानगोविन्द रञ्जित, मदन अमात्य, भरत खड्का, कञ्चनवादे श्रेष्ठ, रामहरि खतिवडालगायत सभासदहरु नेम्बाङकहा पुगेका हुन् ।
दुई दिन अघि एमालेका प्रकाश ज्वाला, डा।राजन भट्टराई, भानुभक्त ढकाल, पार्वत गुरुङ्ग, शेरबहादुर तामाङ्गसहितका सभासदहरुले नेम्वाङ्ग र आफ्नै पार्टी नेतृत्वलाई समेत समान दबाब दिएका थिए ।
केही दिनदेखि संविधानसभा हलमा सहभागी हुने वक्ता कम र बाहिर दवाव दिने सभासदहरुको संख्या बढी देखिन थालेको छ ।
कोही सभाध्यक्ष नेम्वाङ्गको कक्षमा भेटिन्छन् भने कोही आ(आफ्ना पार्टी नेतृत्वसामू गुनासो पोख्न पुगेका हुन्छन् ।
शीर्ष नेताको बैठक संविधानको अन्तर्वस्तुमा मात्र सहमति नभई अल्झेको होइन । दलहरुबीच आपसी अविश्वास र शंका भएकै कारण पनि सहमति हुन नसकेको वार्तामा सहभागीहरुको अनुभव छ ।
प्रमुख विपक्षी एमाओवादीलाई संविधान जारी भएपछिको सत्ता समिकरणमा आफ्नो हैसियत के हुने भन्ने चिन्ता छ ।
यही अवस्थामा एमाओवादीले द्वन्द्वकालका मुद्धा ब्यूंत्याउने हो कि भन्ने आशंका अन्य दलको छ ।
एमाले सभासद एवं पार्टी सचिव गोकर्ण विष्टले कुनै पनि बहानामा यसपटक संविधान बनाउने काममा विलम्व गर्न नहुने बताउँछन् ।
‘सबै दलले कुनै न कुनै कुरामा सम्झौता गरेर निचोडमा पुग्नुपर्छ । अडान नत्याग्ने हो भने संविधान नआउने र त्यसले राजनीतिक उपलब्धि संस्थागत भएको हेर्न नचाहने, अस्थिरता निम्त्याउने शक्तिलाई बल पुग्छ’, विष्टले भने, ‘त्यतिबेला परिस्थिति मूल धारका पार्टीको कमाण्ड भन्दा बाहिर जान पनि सक्छ ।’
दलहरुलाई नजिक्याउन र माघ ८ भित्रै संविधान ल्याउनका लागि चरण(चरणमा दवावमूलक कार्यक्रम गर्न लागिएको सभासद प्रकास ज्वालाले जानकारी दिए ।
कांग्रेस, एमाले, राप्रपासहितका सभासदहरु एकताबद्ध भई संविधान निर्माणको साझा विन्दू खोज्ने, त्यसमा विपक्षीलाई समेत मनाउने प्रयास गरिने उनले बताए ।















प्रतिक्रिया