काठमाडौं, १५ पुस । प्रमुख चार राजनीतिक पक्षले संविधान निर्माणमा पछिल्लो पटक भएका छलफलका बिषयलाई सार्वजनिक नगर्ने सहमति गरेका छन ।
संविधानका मुख्य विवादित बिषय शासकीय स्वरुप र संघियतामा सहमति जुटाउन विकल्पहरुमा छलफल चलिरहेको हुँदा त्यसलाई सार्वजनिक नगर्ने सहमति भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
सार्वजनिक हुनासाथ पार्टीका आरआफ्नो अडान बन्ने र त्यसले समझदारी जुटाउन समस्या पर्ने भन्दै सिटौलाले प्रेसलाई जानकारी नदिने सहमति भएको जानकारी दिएका हुन ।
‘कार्यदलले सामूहिक रुपमा हाम्रो स्तरबाट सहमति जुटाउन सकेनौ भन्यौं, तर कार्यदलका सवै सदस्यले आ-आफ्ना नेतालाई सहमतिका लागि हुनसक्ने मिलनविन्दुको भेन्टीलेशन दिएका छौ । त्यस्तो भेन्टिलेशन के हो भनेर प्रेसलाई नभन्ने सहमति छ’ उनले भने, ‘प्रेसलाई भन्दा सार्वजनिक अडान बन्ने र त्यसले समस्या खडा गर्ने गरेको छ ।’
उनले शीर्ष चार नेताबीचको छलफलको बिषयलाई समेत बाहिर नल्याउन भनिएको जानकारी दिए ।
नेताहरुले बाहिर बोल्दा बैठक सकारात्मक दिशामा अघि नबढेको बताएका छन् ।
सोमबार चार पक्षको बैठकमा पनि निष्कर्ष ननिस्केको भन्दै माघ ८ मा संविधान जारी हुने सभावना टर्दै जान थालेको उनीहरुले बताएका हुन ।
चार पक्षबीच छलफल भएपछि शिर्ष चार नेताहरु करिव दुई घण्टा बार्तामा बसेका थिए ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चाका तर्फबाट विजय गच्छेदार बीच बार्ता भएको हो ।
बार्तापछि एमाओवादी अध्यक्ष दाहालले छलफल सकारात्मक नभएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सवै दल आ-आफ्नै अडानमा रहेको बताए ।
‘कुराकानी टुंगिन्छ, टुंगिदैन म भन्न सक्दिन, सबैले लचकता देखाउने कुरा गरेपनि नेताहरु आ-आफ्नो पोजिशनबाट यता उता भएका छैनन’ ओलीले भने ।
मधेसी मोर्चाबाट सहभागी फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले भने सबै विषयमा खुलेर छलफल भएको बताए । उनले बैठक बुधबार पुनः बस्ने बताए ।
कांग्रेस महामन्त्री सिटौला आगामी बैठकमा नेताहरुले आ-आफ्नो पार्टीको घेराबाट बाहिर निस्कने आँट गरे भने सहमति हुने बताउछन् ।
‘दश मिनेट मै निर्णय हुन्छ’ उनले भने, ‘मैले त्यस्तो संभावना देखेको छु ।’















प्रतिक्रिया