लहान, १४ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा गएराति थप एकजनाको मृत्यु भएको छ ।
पछिल्लोपटक मृत्यु हुनेमा सिरहाको इटहर्वा गाविस–२ निवासी ६० वर्षीय लखन पासवान रहेको इलाका प्रहरी कार्यालय महेशवारीले जनाएको छ । विगत तीन साताको अवधिमा सिरहामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
यसअघि गत बिहीबार साँझ सिरहाको चन्द्रअयोध्यापुर–७ निवासी लालदेव सदाको २० दिनकी छोरी अञ्जुकुमारी सदाको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको थियो ।
यस्तै दुई साताअघि सिरहाको सुखिपुर–८ निवासी ६० वर्षीय बौवा सदा र विद्यानगर दुई निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भएको थियो ।
मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।
सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।















प्रतिक्रिया