काठमाडौँ, १२ पुस । शुक्रबारदेखि राजधानीमा जारी मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको प्रथम राष्ट्रिय भेलामा नेत्र बिक्रम चन्दको नयाँ पार्टीविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा गहन छलफल भइरहेको छ ।
भेलाको बन्दसत्रमा शनिबार अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्तावमाथि समूहगत छलफल भएको छ । भेलामा सहभागीलाई १८ समूहमा विभाजन गरी छुट्टाछुट्टै रुपमा अध्यक्ष वैद्यको प्रस्तावमाथि छलफल भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । समूहमा भएको छलफलको निष्कर्ष १८ वटै समूहका टोली नेताले आइतबारको भेलामा प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
छलफलमा सहभागी अधिकांशले अध्यक्षको प्रस्ताव सकारात्मक भएको बताउँदै ‘जनयुद्धको जगमा जनविद्रोहको’ तत्कालीन कार्यनीतिलाई थप प्रष्ट पार्नुपर्ने र यसलाई सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । नेत्रविक्रम चन्द पक्ष पार्टीबाट अलग्गिएर छुट्टै नयाँ पार्टी गठन गरेपछिको अवस्थामा पार्टीको आगामी कार्यनीति तय गर्न माओवादीले भेलाको आयोजना गरेको हो ।
भेलामा अध्यक्ष मोहन वैद्यले २४ पृष्ठको समसामयिक राजनीतिक प्रस्ताव र दुई पेजको आर्थिक प्रस्ताव पेस गर्नुभएको थियो । पुस १४ गतेसम्म चल्ने भेलामा ८०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता छ ।
















प्रतिक्रिया